Tuesday, December 29, 2009

मैना, सुन्तली र महिला मुक्ति



मैना सुनार र सुन्तली धामी नेपाली माटामा महिलाको स्थितिका प्रतीक हुन् । नेपाली भूमिमा यस्तै उत्पीडन खेपेका सयौँ महिलामध्येका यी एकाध उदाहरण मात्रै हुन् । विदेशी भूमिमा कैयौँ नेपाली महिलाले दिनहुँ उत्पीडन खेपेका सत्यकथा पढ्न पाइन्छन् । विदेश हाम्रो बुताको बात होइन । यसर्थ, त्यहाँका घटना हाम्रा लागि पीडादायी दुर्घटना मात्र हुन्छन् । तर, आफ्नै देशमा न्याय नपाएका मैना सुनार र सुन्तली धामीका कथा सुन्न पनि हामी विवश भइरहेका छौँ । यसले हाम्रो देशको यथार्थ हेरेर लज्जाबोध गर्न हामी बाध्य भइरहेका छौँ ।


मैना सुनारको घटनालाई 'डलरको खेती' भनेर भ्रम छर्ने एकसेएक प्रयास भइरहेका छन् । के यथार्थमा तिनीहरू 'रगतको खेती' गरेकामा गौरव गरिरहेका हुन् त ? हो, रगतको खेती गरेर तिनले घिनलाग्दो गौरव गरिरहेका छन् । डलरकै खेती गरेर भए पनि मैना सुनार वा सुन्तली धामीहरूलाई न्याय दिन सके भने तिनका आत्माले शान्ति पाउने थिए । र, परिवारलाई समवेदना पुग्ने थियो । देशको कानुन व्यवस्थाले मैना सुनार र सुन्तली धामीका अपराधीलाई केही गर्न नसकेका वेला डलर वा भारु या युवानकै खेती गरेर भए पनि कठघरामा अपराधीलाई उभ्याइन्छ भने त्यसलाई अन्यथा भन्न मिल्दैन । बरु नेरु खर्चेर र कमजोर कानुन व्यवस्थाका आडमा मैना वा सुन्तलीका अपराधीलाई बचाउने ठूलो अपराधी हो ।

नेपालमा महिला मुक्तिको उद्देश्यले गठित अनेकन राजनीतिक र भगिनी संगठन छन् । महिलाले नै खोलेको पार्टी पनि छ । तर, ती सबै संगठन मैना सुनार र सुन्तली धामीका निम्ति होइन रहेछन् । ती त पीडकका लागि खोलिएका संगठनजस्तै भए । यी दुई चेलीका लागि कुन-कुन महिला संगठनले के गरे, यो पंक्तिकारलाई थाहा छैन । यो पंक्तिकारलाई थाहा नहुनु भनेको नै तिनको भूमिका पीडकका लागि गएकामा अन्यथा लिनु नपर्ला ।

पद्मकन्या क्याम्पसका चेलीले सुन्तलीलाई न्याय दिलाउन स्वस्फूर्त प्रदर्शन गरिरहेका वेला महिला मुक्तिको डिङ हाँक्ने संगठनलाई जिस्क्याइरहेको भान हुन्थ्यो । प्रहरी अधिकृत पार्वती थापाले सुन्तली धामीका पक्षमा अडान लिइरहँदा महिला मुक्ति संगठनहरू पर्यवेक्षकजस्तै रमिता हेरेर बसिरहेका थिए । तिनले महिला मुक्तिको उद्घोष गर्नु '....लाई भन्दा देख्नेलाई लाज' भएको छ ।

महिलाको प्रतिनिधित्व गर्दै नेपालका दुई 'वीरांगना' वरिष्ठ मन्त्री भएका छन् । एउटी लोकतन्त्रकी हिमायती, महान् नेताकी पुत्री उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला छिन् । अर्की जननेता स्व. मदन भण्डारीकी अर्धांगिनी हुन् । जनताको बहुदलीय जनवादका उनी एकमात्र प्राधिकार हुन् । उनी अर्थात् विद्या भण्डारी अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन् । उनी देश र जनताको रक्षा गर्ने रक्षा मन्त्रालय सम्हालिरहेकी वरिष्ठ मन्त्री पनि हुन् ।

यी दुई महिला मन्त्रीका आँखाअगाडि मैना सुनार र सुन्तली धामीको कथावाचन भइरहेको छ । तर, यी दुवै 'विषकन्या' हरू लावण्य देशका गोमा ब्राह्मणीझैँ निस्पिक्री छन् । आफ्नै कार्यकालमा दुइटी चेलीको अन्यायको पीडाले यिनलाई छोएको कतै देखिन्न । भालुलाई पुराण सुनायो भने कतै सुन्ने पनि थियो होला, तर यिनीहरू उठाउन नसकिने गरी सुतेको भान गरिरहेका छन् ।

'मेजर बस्नेतलाई कारबाही हुन दिन्नँ' भनेर रक्षामन्त्री विद्या भण्डारीले भनेको कुराले यिनी महिला मात्र हुन् भन्ने विश्वास गर्न सकिन्न । महिलाको पीडामा सामान्य औपचारिकतासम्म ख्याल नगर्ने वास्तवमै यिनी मानसिक बिरामी हुनुपर्छ । अन्यथा, मानवीय संवेदनाको हदम्याद नाघेर कसैले पनि यस्तो कुरा बोल्दैन ।

मैना सुनारको हत्याका आरोपी मेजर निरञ्जन बस्नेत उनको नाता-सम्बन्ध नै पर्ने भए पनि उनले अपराधीलाई बचाउन हदम्याद नै नाघेर बोल्नु तिनका लागि पनि शोभा दिँदैनथ्यो । तर, यिनका मुखारविन्दबाट फुस्केको वचन सुन्दा एमाले समर्थित महिला संगठनले महिला मुक्तिको फुर्ती गर्नु बेकार भएको छ । रक्षामन्त्री विद्या भण्डारीकै 'आदर्श'मा एमालेको अखिल नेपाल महिला संघ हिँड्ने हो भने तिनको मुक्ति संगठनको पनि यहीँनेर आएर सर्वस्व होस् । होइन भने एमालेमा लागेका महिला पनि के मुख देखाउँछन् ? तिनलाई मैना सुनारको आत्मा र सुन्तली धामीको पीडाले नेपालका नदीनाला तर्न दिनेछैन ।

मन्त्रीका चर्तिकला हेर्दा एउटी महिलाले अर्की महिलाको पीडा बुझ्न यति धेरै बारबन्देज हुँदो रहेछ भन्ने पनि देखियो । एउटा समाचारपत्रमा एक महिलाले विद्या भण्डारी नारी हुन् कि होइनन् भनेर सोधेकी रहिछिन् । कमसेकम देशभरिमा एउटी महिलाले मैना सुनारको घटनामा चिन्ता जताइन् । तिनले सोधेको प्रश्न भने अनुत्तरित नहोस् भन्नका लागि यति नै जवाफ काफी हुन्छ भन्ने लागेको छ । जसको उत्तर यस्तो छ— 'विद्या नारी रहिनन्, उनी बस्नेतकी फगत कारबारी हुन् ।'

०६० साल फागुन ५ गते काभ्रे खरेलथोककी १५ वष्ीया मैना सुनारलाई पक्राउ गरी पाँचखाल ब्यारेकमा हत्या गरिएको शतप्रतिशत साँचो हो । ब्यारेकभित्र हत्या गरिएकी मैना सुनारका हत्यारा ६ वर्ष बित्न लाग्दा पनि पत्ता लाग्दैन भने यो मुलुकमा भएको अरू अपराधको अनुसन्धान कसरी हुन्छ ? किटानी जाहेरी गरिएका हत्याराहरू पनि सहजै उम्कन सक्ने नेपालमा यो कस्तो विधिको शासन हो ? ब्यारेकभित्र मारिएकी मैना सुनारको हत्यारा बाहिर खोजेर भेटिन्छ ?

अब मैना सुनारको हत्यारा खोजेर कारबाही गर्ने जिम्मा विद्या भण्डारीहरूकै हो । देशको रक्षा मन्त्रालयको जिम्मा पाएकी विद्या भण्डारीले यति गर्न सक्नुपर्छ । तर, गायक प्रवीण गुरुङको हत्यामा कुनै अमूक भुजेललाई बली दिएझैँ गर्न तिनले मिल्दैन । पापको गाग्रो बोकेर अमृत बोकेको छु भनेर कसैले धेरै दिन झुक्याउन आजको समयमा सक्तैन । हत्याराको संरक्षण गर्नेका दुर्दिन सुरु हुन् केहीबेर लाग्दैन ।

साभार: नयाँ पत्रिका
लेखक: भवानी बराल


No comments:

Post a Comment

Thank you very much for your valuable Comments !