Tuesday, December 15, 2009

दलित दम्पती न्याय माग्दै प्रशासनमा



दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन गर्न सरकारले विभिन्न कार्यक्रम ल्याए पनि राजधानीसँगै जोडिएको जिल्लामा गाउँबाट विस्थापित हुनुपरेको जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष सरोज परियारले बताए । भक्तपुर, २०६६ पुस १ - सरकारले दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ सहयोग गर्ने यसै वर्षको बजेटमार्फत घोषणा गरे पनि भक्तपुरमा एक जोडी विस्थापित भएका छन् ।
चार वर्षदेखि प्रेम गरिरहेका चित्तपोल ९ घर्तीगाउँका सागर परियार र संगीता थापा क्षेत्रीले गत भदौमा आफूखुसी विवाह गरेका थिए । दलितसँग विवाह गरेको भन्दै केटी परिवारले मार्ने धम्की दिएपछि गाउँमा जान नसकेको परियारले बताए । 'जहाँ भेट्यो त्यहीं मार्छु भनेर उनका (संगीतालाई देखाउँदै)आफन्तले खोजिरहेका छन्,' जिल्ला प्रशासन कार्यालयमा पुगेका ती जोडीले सीडीओ दीपकराज नेपाललाई भने, 'हामीलाई गाउँमा गएर बस्ने वातावरण मिलाइदिनुपर्‍यो ।
भदौ १५ मा विवाह भएको उनीहरूको जोडी गाउँमा बस्न सक्ने वातावरण नभएपछि काठमाडौंस्थित भोटेबहालमा कोठा भाडामा लिएर बस्ने गरेको उनले सुनाए ।
दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन गर्न सरकारले विभिन्न कार्यक्रम ल्याए पनि राजधानीसँगै जोडिएको जिल्लामा गाउँबाट विस्थापित हुनुपरेको जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष सरोज परियारले बताए ।
राजधानीसँगैको जिल्लामा पनि दलित र अन्य जातिबीच छुवाछुत र विभेद यथावत रहेको उनले बताए । 'विवाह गरेकै निहुँमा राजधानीसँगै जोडिएको जिल्लाको गाउँबाट विस्थापित हुनुपरेको छ,' उनले भने, 'अन्यत्र कस्तो समस्या भोग्नुपर्ला ।' केटी पक्षले अझै केटालाई स्वीकार गरेको छैन् । विवाह भएको पाँच महिना भइसक्दा पनि मार्ने धम्की आएपछि मेलमिलाप गरी सुरक्षा व्यवस्था गरिदिन उक्त जोडी मंगलबार जिल्ला प्रशासन पुगेको थियो ।
सीडीओ नेपालले दुवै जनाको नागरिकता नभएकाले नागरिकता बनाएर विवाहदर्ताको प्रक्रियामा लाग्न सुझाव दिएका छन् । दुवैका परिवारबीच मेलमिलाप गराई गाउँमा बस्ने वातावरण बनाउन सहयोग गर्ने नेपालले बताए ।
From:
Kantipur National Daily

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !