Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts

Tuesday, September 8, 2020

भोक र राष्ट्रवाद

आँखामा पट्टि बाँधेको तिम्रो राष्ट्रवाद

पेटमा भर्भराइरहेको भोकको ज्वाला बोकेर
रोगले त खै के गर्ला भोक ले चै मार्नी भो भन्दै
दक्षिणतिर लम्किरहेछ ।

तिम्रो गरिवमुखि राज्यसत्ता
हातमा नाम्लो सहित कामको खोजिमा भौतारिदा भौतारिदै
सडक पेटीमा चीर निन्द्रामा लीन भैसको     
मजदुरको निश्वाश अनुहारमा चम्किरहेछ ।


तिम्ले चुनाबी मन्चमा फलाक्ने गरेको
"सुखि नेपाली, समृद्द नेपाल" को नारा
हिजो आज खुल्ला मन्चमा
कसैले एक गास खान देलाकी भनेर लाम लागेका
ति असंख्य नर नारीको मनमा घन्किरहेछ ।

इतिहासमा कसैले भनेथ्यो सायद
भोकले २ वटा बाटो समाउछ- मृत्यु वा मुक्ती
के तिमिलाइ थाह छ हे सत्ताधिशहरु हो !
भोकाहरुको यो मौनता आँधि आउनु अघिको सन्नाटा पनि हुन सक्छ ।

हुन सक्छ तिनका मुटुहरु भित्र भित्रै
सबैलाई, सधैलाई भोकबाट मुक्ती दिलाउने
एउटा अर्को आँधीको बाटो समाउने
अपरिहार्यताको ज्वालामुखि दन्किरहेछ ।

Friday, April 17, 2020

अनागरिकको लङ्ग मार्च

तस्बिर: अनलाइन खबर 
गाममा काम भएन
बिनान बेलुका चुल्हो बलेन
पल्लो घरको धनिरामले भन्यो
शहर जाम
उतै पाइन्छ काम

गाडिभाडाका लागि साहुकोमा धाएर
धनीरामकै पछि लाएर
शहर झरेँ
पाउनुपर्ने भन्दा निक्कै कम तलबमा
मजदुरी गरेँ

बिच्चैमा आयो यो महामारी

सरकारले भन्यो
जहाँ छौ त्यहिँ बस
काम दिने ठेकेदारले भन्यो
अब एक दिन पनि यहाँ नबस

संचय गरेको जम्मा २ किलो चामल थियो
त्यहि पनि ४ छाकमा सकियो
राहत बाँडेका समाचार सुन्दै
२ दिन त  भोक भोकै बसियो

न त राहतले मलाइ सम्झियो
न त साहुले मैले पाउने बाँकि पैसा नै दियो
न त सरकारले घर फिर्तीका लागि कुनै ब्यबस्था गरिदियो
मर्नु भन्दा बहुलाउन निको नि हैन?
त्यसैले हिडेरै घर जान गुण्टा कसियो ।

सयौं किलोमिटर पैतालाले नाप्न शुरु गर्ने बेला सम्झेँ
हिजो क्रान्तिकारी कमरेडले
गाँउको ’भुमिगत’ सभामा मुठ्ठि कसेर
“हामी मजदुर, किसान र सर्वहाराको सत्ता ल्याउछौं“ भनेको
र ती भाषणहरुको बिच्च बिच्चमा
कलाकारहरुले गाएको गीत
“हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ“


तुना चुँडिएको चप्पलमा
सिमेण्टीको बोराको तुना हालेर
म पनि निस्केँ ति एक एक पाइला अगाडि बढाउँदै ।
मजदुर, किसानको सत्ताले देख्ला र
थाकेको ज्यानलाई उठबस गराउदै दुइ चार भाटा हान्ला भन्ने डरले
खेतका आलि र मसीना गल्ली छिचोल्दै
र यो सत्ताको आँखा छल्दै
पार गरें नागढुँगा भन्ने गौंडो ।

हातमा सुको पैसो थिएन
साथमा खानाको मेसो थिएन
पसीना र आत्मग्लानीको घोल पिएर
जसरी पनि ज्युदै ’घर’ पुग्ने अठोट लिएर
लखर लखर रित्तो सडकमा भौँतारीदै,
कहिले शान्त हुँदै, कहिले भोकले आत्तीदैँ
मेरो ’लङ मार्च’ अगाडि बढिरह्यो, बढिरह्यो ।

तिर्खा लाग्दा सम्झेँ
घरको छेवैमा पोहोर साल बनाएको कल धारो
भोक लाग्दा सम्झेँ
सानोमा आमाले कर गर्दै खुँवाउदा पनि फालेका भातका हरेक सीता
थकाइ लाग्दा सम्झे
साहुकोमा कमलरी र कमैया बसेका
र थाकेँ पनि भन्न नपाइ रातोदिन काम गरेका माता पिता ।

हिजो अन्यायमा पर्यौं भनेर युद्द लड्न आए तिनलाई सघायौँ
’सामन्तबाद’ ढाल्न
र मजदुर किसानको ’नयाँ ब्यबस्था’ ल्याउने भनियो  तिनलाई पत्यायौं ।
खै सामन्तबाद त ढल्यो कि ढलेन ? थाह छैन ।
आज पनि मेरा बा आमा साहुको खेत अधियाँ कमाउछन ।
नयाँ ब्यबस्था आयो कि आएन त्यो पनि थाह छैन
भुमी पुत्र भनिएका हाम्रो गाँस बास कपासको आजसम्म ठेगान छैन ।

केही मनकारीले बाटामा दिएको खाना
अर्का थरी परोकारीले बाटोमा रखिदिएका
जडौरी जुत्ता घिसार्दै घर पुगेँ

घर पुगेर सुस्ताउँदै आफ्नो गुन्टा खोल्दै गर्दा
झल्याँस्स सम्झें
हिड्ने बेलामा सामान पोको पार्दै गर्दा
मलाइ सरकारले दिएको नागरिकता हाल्नै बिर्सेछु ।
फेरि सोचेँ
त्यो कागजको टुक्रो बोक्नु र नबोक्नुले फरक के पार्दो रहेछ र?
भोक लाग्दा त्यसले खान दिने रहेनछ
प्यास लाग्दा पानी दिने रहेनछ
हामी गरी खानेका लागि
नागरिकता हुनु र नहुनुमा केही अन्तर न हुने रहेछ ।
किन कि नागरिकता बोके पनि नबोके पनि
हामी त दोश्रो दर्जाका नागरिक रहेछौं ।
ए हैन हैन हामी त अनागरिक रहेछौं .

२०७० बैसाख (लकडाउन)

Sunday, April 5, 2020

मजदुरको कुनै देश छैन



लाग्थ्यो संकटमा मलाई देशले सम्झिने छ
तर हजुर मत
महाकाली पारी भोक भोकै रहें
’कम्युनिस्ट’हरुले सत्ता चलाइरहेको बेला
तर मजदुर मत
आफ्नै देश छिर्न अयोग्य भएँ।

देश ठूलो कि भोक ठूलो?
यहि सबाल दोहो¥याइरहेछु
पारी मेरो भनिएको देश छ
वारि भोक भोकै कराइरहेछु ।

पहुंच हुनेले सरकार हल्लाए,
सरकारी खर्चमै जहाज चढेर आए
म चै महाकालीमा हेलिएर मरुँकी
अरु केही छ उपाए?

बिदेशिनु कुनै रहर थिएन
सबाल थ्यो पापी पेटको
महाकाली एउटा नदि हैन
पर्खाल रैछ बर्ग बिभेदको

तिनले फलाक्ने राष्ट्रबाद त
फगत एउटा लाज रहेछ,
जसलाइ छोप्ने कुनै भेष छैन
आज आएर बल्ल बुझ्दै छु हजुर
मजदुरको कुनै देश छैन ।

२०७६ चैत्र महिना कोरोना भाइरसका बेला देश लकडाउन भएको बेला ।


Wednesday, July 12, 2017

(मेरा शब्दमा भानुको कान्तिपुरी नगरी)

सब जन लोभी लाल्ची धनको
छन सेता लुगा कालो मनको
रोकिन्न ठगी यहाँ कसैगरी
अमरावती कान्तिपुरी नगरी

दलाल यहिँ दीलदार यहिँ
गरीब यहिँ मालदार यहिँ
चिम्लिन्छ आँखा नदेखे झैँ गरी
अमरावती कान्तिपुरी नगरी

हिलो छ यहिँ धुलो छ यहिँ
जो भ्रष्ट उही ठुलो छ यहिँ
फटाहा जाली छन् वरीपरी
अमरावती कान्तिपुरी नगरी

मिलाउछ काम जो दाम फाल्छ
बिलाउछ यतै जो हाम फाल्छ
बाँचेको टिल्ल शराबी जसरी
अलकापुरी कान्तिपुरी नगरी

Wednesday, April 26, 2017

मेरी आमा


फुटेका खुट्टा फाटेका चप्पल कलेठी ओठमा 
तिन्बिसे उमेर थाप्लामा नाम्लो भैसीको गोठमा
गोड्नुछ मकै रोप्नुछ कोदो गहुँनि काट्नुछ 
ल्याउनुछ घास चिटिक्क घर आगन राख्नुछ 

धानको बिऊ राख्नुछ आजै हलगोरु खोजेर 
बकेर्नो भैसी झार्नुछ दुध अन्नपात् पोसेर 
कर्करी खान्छ हात र गोडा दुखाइ ढाडको 
नातिनी छोरा जाउत भेट्न बाटोछ टाढाको 

फोनको घन्टी बझ्छकी भन्दै राखेर गोजीमा 
सन्तानले फोन गर्छनकि भन्दै आमाको खोजीमा 
बझ्दैन फोन अत्यास लाग्दा बेचैनी बढ्दछ 
एक्लीन्छु जब रगतको चाप एक्कासी घट्दछ 

पैताला फुटे हत्केला फुटे निदरी लाग्दैन 
पाक्दछ खाना सेलाउछ त्यसै खानामन् लाग्दैन 
पतिका पाला भएन सुख्ख अहिले उस्तैछ   
छोराका पाला एक्लिएँ झनै कलेजी दुख्दैछ 

२०७३ बैशाख १३ (माता औशी- आमाको मुख हेर्ने दिन)

Tuesday, March 7, 2017

के म बिर्सन सकुँला?

हुन्छ तिमीले भने जस्तै म बिगतका सबै कुरा बिर्सुला 
तर,
खेतमा हलो जोत्दै गरेको उसलाई उनीहरुले किन पक्रेर लगे?
किन त्यो दिनसम्म 'भोट हाल्नुपर्छ' बाहेक राजनीतिको क, ख रा समेत नजानेको 
उसलाई आतंककारिको बिल्ला भिराएर झुठा 'मुठभेड' मा मारियो 
त्यसको जवाफ पहिला देउ 

हुन्छ तिमिले भनेको जस्तै म पनि अगाडी बढुला 
शान्त र समुन्नत देशको निर्माण गर्न 
तर,
जनताको लागि भन्दै 
गाउँमा ज्ञानको ज्योति छर्दै गरेको उसलाई 
'जासुस' को आरोप लगाई किन रुखमा झुड्यायौ 
उनको छातीमा छुरा रोप्ने र घटीमा रसी कस्ने को थिए 
अनि त्यसो गर्न लगाउने को थिए 
त्यसको जवाफ देउ पहिला 

हुन्छ तिमीले भनेको जस्तै बिगत कोट्याएर तिम्रो 'शान्ति' भंग नगरुला म
तर,
सरकारी कार्यालयमा तारेख धाउन गएको उसलाई पक्रेर बेपत्ता पार्ने 'राज्य'हरुलाई  
मेरो सामु ल्याएर किन त्यस्तो गर्यो भन्ने कुराको चित्त बुझ्दो जवाफ दिन लगाउ 
अनि मलाइ चित्त नबुझे उसलाई कारवाही गर्छु
भन्ने विश्वास दिलाउ पहिला 

हुन्छ तिमीले भनेको जस्तो आर्थिक क्रान्तिमा म पनि सामेल होउला 
तर
राजनीतिक क्रान्तिको नाममा साधारण यात्रामा रहेका उनीहरुलाई 
किन महान यात्रामा सामेल हुन् बाध्य बनायौ बसमा बिस्फोट गराएर ?
त्यसको उपादयता पुष्टि गर पहिला 

यो पनि हुन्छ कि तिमीले भनेको जस्तो 
म पनि मेलमिलाप गरेर गरेर बसौला समाजमा 

तर,
त्यो भन्दा पहिला 
उनीहरुलाई खाना र बस्न नदिएको निहुमा मेरो बुबाको खुट्टा भाच्नेलाई मेरो सामु घुडा टेक्न लगाउ 
उनीहरुलाई बास र खाना दिएको निहुमा आगनमा निकालेर तातो गोलि खुवाउनेलाई कारबाही गर 
जो आज मेरै समाजमा हाम्रै अगाडी छाती फुलाएर हिडेका छन् 
हाम्रो छाती चिरिन्छ हजुर तिनको चुरीफुरी देख्दा

छ हिम्मत र चाहना यत्ति गर्न?
यदि छैन भने
तिम्रो मेलमिलापको बेसुरा आलापले सुनको जलप लगाएर फलामलाई सुन हो भन्नु बाहेक केहि गर्दैन 
सक्छौ मल्हम लगाउ, सक्दैनौ घाउ नकोट्याउ 
तिम्रा हिजोका आश्वासान र आजको बेवास्ताले
तिमि प्रतिको विश्वास ढलेको छ
त्यसैले
कृपा गरेर अब मलाइ नसोध कि म के चाहन्छु
अब त मेरो घाउ मेरो छोरा छोरीलाई दुख्दै छ
ए हजुर !
म त जेनतेन आफ्नै आशु पिएर बाचे
तर मेरा छोराछोरी आफ्नो आशु हैन
तिनका खुन पिउने बन्न नसक्लान भन्न म सक्दिन
तिम्रा बन्द दिमाग र आखा खोल बेलैमा

नत्र तिमि निन्द्राबाट ब्युझदा स्थिति अर्कै हुन सक्छ !

Tuesday, June 28, 2016

अबहेलित किसान

बाझो छ खेत बाझो छ बारी उजाड बस्ति छ 
युवा छ अरब बुढो छ नेता उसैको मस्ती छ 
सुन् फल्ने खेतमा घर फल्न थाले बारीमा बन्मारा 
व्यवस्था भयो दलालको गुलाम किसानको ज्यानमारा

दुखले बाली लगायो उसले बगायो पसिना 

भित्र्याउने बेला प्रकृति ठग्छ बर्सिन्छ असिना 
खडेरी कहिले कहिले बाढी कहिले छैन मल 
पहिरोले खेत लान्छ्की भनि चिन्ताछ हरेक पल 

उब्जाउछ अन्न तरकारी फल बेच्नलाई ठाउ छैन 

लागेको खर्च उठाउन पनि बजार भाउ छैन 
दलाल खान्छ कसेर नाफा किसान मर्दैछ 
धान दिवस भन्दै सरकार भने प्रहशन गर्दैछ 

पसिना उसको पाखुरी उसको उब्जाउछ उसैले 

दमित उही गरिब उही हेर्दैन कसैले 
किसान जब बन्दैन यहाँ सम्मानको भागिदार 
देशको डुंगा गरिबी बाट लाग्दैन कसै पार 






Saturday, January 30, 2016

सहिद

उ चुपचाप हेरिरहेछ
देश चुस्ने जुकाहरुले आफ्नो प्रतिमामा माला चढाईरहेको 

उ बिबश भएर सुनिरहेछ 
आफ्नो प्रतिमाको 'बेस'मा उभिएर
हिजो हाम्रो राष्ट्रियता छिमेकीको पाउमा चढाएका 
तर 
हालसालै महान राष्ट्रबादी कहलाएकाहरुले 
लोकका अगाडी 
आफ्नो सपना पुरा गर्न लागिपरेको 
भनि बोलिरहेको सफेद झुठ 

मन गाठो पारेर उ महशुस गरिरहेछ मुखमा राष्ट्रभक्तिका अपार सब्द हुनेहरुको 
मनभरी बजिरहेको भ्रस्टचारको धुन..


उ हिजो पनि चुप रह्यो 
जतिबेला उसकै प्रतिमा बनाउदा 
पैसाको चलखेल भएको थियो 

उ आजपनि चुप छ 
जहाँ उसकै आँखा अगाडी 
उसको बलिदानीको  
किनबेच भैरहेछ  
खुलेआम 
दिनको उज्यालोमा 
बीच सडकमा 
उसले देखेका सपनाहरुको
बलात्कार भैरहेछ 

यो सब देखेर, सुनेर र महसुश गरेर पनि उ चुपचाप छ 
सडकको बिचमा एउटा पत्थर बनेर मात्र उभिएको छ

भित्र भित्र छटपटीन्छ 
तर उ बोल्न सक्दैन 
हो उ बोल्न सक्दैन
किनकि उ सहिद हो



Tuesday, January 19, 2016

छोरीको नाममा

 
तिमीले जब मुस्कान छर्दै हेर्दिन्छ्यौ हाँसेर
लाग्दछ यस्तो तिम्लाई हेरौ युगौयुग बाँचेर
कोमल हात उठाई भन्छौ मलाई समात
लाग्दछ यस्तो संसार हेर्न चाहन्छ्यौ मबाट

सम्बाद गर्छ्यौ नबोली सब्द सरल भाषामा
बुझ्दछ बाबा आउछ जवाफ भनेझै आशामा
चल्दछ ओठ निस्कन्छ गुनगुन संगीत बनेर
भन्छुझैँ गर्छ्यौ बुझिने गरी ओबाबा भनेर


हातक औंला समात्छ्यौ च्याप्प छोड्दिन भनेझै
छोडेर जान्छ बाबाले भनी बुझकी बनेझै
मसिनो स्वर निकाली रुन्छ्यौ भनेको नहुदा
रुँदानी राम्री देखिन्छ्यौ छोरी झन् राम्री नरुदा

दुनिया भन्छ चाहिन्छ छोरा बैतर्नी तर्नुछ
अन्त्य हो मृत्यु एउतै चोला संदेश छर्नुछ
बाआमा ज्युदो भएको बेला रुवाउछ्न छोराले
स्राद्दको ढोंग मरेसी खिर खुवाउछन छोराले




छोरीको माया निरन्तर उस्तै कमबेसी नहुने
छोरोको भने बाआमा भेट्न फुर्सदै नहुने
बाआमा भन्दा ठुलोछ तिनलाई नोकरी व्यापार
तैपनि भन्छ समाज हाम्रो छोरा नै अपार

देखाउ छोरी तिमीले अब प्रतिक बनेर
छोरानै ठुलो सोचाई राख्नु गल्तिहो भनेर
यी तिम्रा सकल हातले सेवा गर्नुछ दुखीको
तनमा शक्ति मनमा हाँसो छर्नुछ दुखीको





Friday, March 7, 2014

तिमी र म (एउटा नर्सको जीवन)

तिमी
बिस्तारमा पल्टेर टिभिका च्यानल फेर्दै हुन्छौ 

म 
मेरो बिरामीको 'बेड शीट' फेर्दै गरेकी हुन्छु 

तिमि 
उता 'इएर फोन' लगाएर 'आइ पड' मा आफुलाई मन पर्ने गीत सुन्दै गर्दा 
म 
यता प्यारालाइसिस भएकी मेरी सानी बिरामीको धड्कन 'स्थेचेकोप' मा सुनिरहेकी हुन्छु
तिमि
महंगा रेस्टुरेन्टमा बसेर 'स्ट्र' फेर्दै 'कोल्ड ड्रिंक्स' पिउदै गर्दा 
'ब्रेन हेमोरेज' भएर १ महिना देखि बेडमा चालहिन भएर सुतेको 
'बुढ्यौली' लागेको मेरो बिरामीको स्लाइन को बोतल फेर्दै गरेकी हुन्छु 

तिमि
साथीहरुसंग  'मल्टी फ्लेक्स' सिनेमा घर मा 'ब्लक बस्टर' सिनेमा हेरिरहदा 
म 
आइ सी यु मा बिरामीको मुटुको चाल देखाइरहेको 'मोनिटर' हेरिरहेकी हुन्छु 

तिमी 
आफ्ना आफन्तको जन्मदिनको उत्सव मनाइरहेको बेला 
म 
मेरो बिरामि, जो २ हप्ता अगाडी मेरो लागि अन्जान थियो र 
२ हप्तामा मेरो परिवारको सदस्य जस्तै नजिक भयो, 
उसको  मृत्युको शोकमा डुबीरहेकी हुन्छु 

तिमी 
आफ्ना मनपरेकाहरुको हात समाएर पार्कतिर सयर गरिरहेको बेला 
म,
मेरा हरेक बिरामीहरुको नाडी छाम्दै 'पल्स' नापिरहेकी हुन्छु 

तिमी 
आफ्नो बार्षिक परिक्षाको 'रुटिन' बिर्सेर फोनमा मलाइ सोधिरहेको बेला 
म 
मेरो वार्डका ३५ वटा बेडमा रहेका प्रत्यक बिरामीको औषधिको तालिका याद गरिराखेकी हुन्छु 

तिमि 
हिन्दि सिरियलको कुनै पात्रको मृत्युमा दुख मनाउ गरिरहेको बेला 
म 
मेरो बिरामी तन्दुरुस्त भएर 'डिस्चार्ज' हुन लागेको खुशीमा मग्न हुन्छु 

तै पनि तिमि मलाइ भन्छौ कि म देखावटी व्यस्तता प्रदर्शन गरिरहेकी छु 
तिम्रो खुशीमा खुशी अनि दुखमा समाहित हुन् जान्दिन 
तिमीलाई समय दिन मान्दिन 

हो म तिम्रो खुशीमा खिशी अनि दुखमा दुखि हुन सक्दिन 
किनकि 
तिम्रो र मेरो खुशी अनि दुखि हुने बहाना अलग छन् 
तिम्रा र मेरा जीवनका चाहना अलग छन् 

मलाइ माफ गर तिमीलाई दिनका लागि म संग समय हुदैन 
तुक्ष कुरामा तिम्रो घुर्क्याइले मेरो मन पनि छुदैन 

तिमि व्यक्तिगत जीवन लाइ सर्वोपरी ठान्छौ र त्यसैमा रमाउछौ  
मैले सार्वजनिक जीवन र समग्र मनावीयतालाइ आफ्नो जीवन बनाउछु 

त्यसैले तिम्ले र मैले हिड्ने बाटो अलग छ 
 तिम्रो र मेरो जीवन दर्शनको पाटो अलग छ 

Monday, April 15, 2013

कविताः सपना ब्यापार



ए हजुर ! सुन्नुभएन?
म यता सपनाको थुप्रोबाट बोल्दै छु ।
म माथि जिन्दगीभरी सबैले सपना मात्र थुपारे

सम्झन्छु, म सानै छदाँ, जव क,ख,ग सिक्दै थिएँ
बिद्यालय अनि घरकाले डाक्टर, इन्जीजिनियर बन्नुपर्ने सजना भिराए
क, ख,ग सिकेर नाम लेख्न सक्ने भैसक्दा देशमा
प्रजातन्त्र आउनुपर्ने अनिवार्य भएको सपनाको सिजन आयो ।
झुट र छलको आँचल ओडेर तिनिहरुका लागि प्रजातन्त्र आयो
तर,
मेरो घर पल्तिरका माने ठुले अनि कान्छाहरुकोमा
प्रजातन्त्रले एक पटक चियाउने चेष्टा पनि गरेन

म केहि बुझ्ने भएपछि
सपनाको महासागर बोकेर एउटा आँधि आयो
उसले भन्यो सपनाको संसार भन्दै प्रजातन्त्रको रसातलमा हामीलाई मिल्काइयो
हाम्रो सपनाको संसार त गणतन्त्र पो हो !
धेरैले कल्पना गरे भन्दा पनि तिव्र गतिमा
त्यो आँधिले देशभरका रंगबिहिन आँखाहरुमा सपनाको चित्रलहर खडा गरिदियो
तिनै बाँडिएका सपनाहरु आँखाभरी लिएर
सदियौ देखि मुख थुनिएका, आँखामा पट्टी लगाइएका अनि
प्रगतिमा काँडेतार बेरिएका आवाजबिहिनहरु सपनाको नयाँ संसार खाज्ने यात्रामा होमीए
त्यहि सपनाको संसारका खातिर धेरैका प्रियजनहरु यो संसारवाट बिलाए

सपना बोकेको आँधि बिशाल पहाडसंग पौठेजोरी खेल्दै गर्दा
बिचमा फेरी सपनाहरु गाँउका कुना कन्दरा, भिर पाखा अनि बन जंगलमा हैन
सहर तिर छन् रे भनेर खबर आयो
र भनियो गाँउका सपना र सहरका सपनाको एकिकरण गरेर
फेरी नयाँ सपनाको निर्माण गर्ने रे
देशभर चलेको आँधि रोक्ने घोषणा गरियो र गाउँका सपनाहरुलाई शहर पठाईयो
दुबैतिरका सपनाहरु एकपटक हावा नै राकिने गरी सडकभरी बिछ्याइए
एउटा सपना....
अर्को सपना......
अनि अर्को, अर्को र अर्को सपना......
दशौं लाख सपनाहरुले शहरी सडकहरु कब्जा गरेपछि
बिपनाका दरवार अनि खाइपाइ आएका घरवारका
जगहरु हल्लिए, र कतिका ढले पनि

तर,
उता सडकका सपना आफ्नो चुलोसम्म आईपुग्ने आशामा
करोडौं कठिन बिपनाहरु बाटोभरी आँखा बिछ्याएर प्रतिक्षा गरिरहे झुपडीहरुमा

फेरी सपनादाताहरुले भन्न थाले
सडक अनि त्यो आँधिले देखेका सपनाहरुलाई अव कागजमा संग्रहित गर्नुपर्छ
होला तनि भन्ठानेर,
त्यो संग्रह तयार गर्नभनी एउटा कागजी चिर्पटमा मैले पनि ‘स्वस्तिक’ ठोकेर
स्वप्न ब्यापारीलाई काठमाण्डौसम्म पुग्ने भ¥याङ्ख बनाइदिएँ
२ बर्षभित्रै सपनाहरुको दस्ताबेज लिएर मेरोमा आउने बाचा गरेका उनिहरु
४ बर्षपछि खालीहात फर्किए
मैले सोधेँ– खै मेरो सपनाको संग्रह?
केहि सपनाहरु घरभित्रकै स्वप्न बिरोधिहरुले रोके रे
केहि सपना छिमेकीले खोसे रे
अनि केहि सपना आफ्नै कमजारीले पोखीए रे

‘प्रजातन्त्र’का सपनाको भारी बोकाउने स्वप्न ब्यापारीलाई राम्ररी चिनेर
दुत्कार्न थालेको म र मेरो विश्वासको पर्दा,
आशा गरेको पछिल्लो स्वप्न बाहकबाट पनि उठ्न थालेको थियो ।
र मलाई डर थियो कतै
 मरो चेतना सपना नै देख्न नसक्ने गरी अन्धो हुदै त छैन?

उसो त ति मैले आफै देखेका सपना कहाँ थिए र ?
ति त म माथि कसैले थोपरेका रंगिन सपनाहरु थिए
आजसम्म मलाई कसैले सपना देख्न सिकाएन,
जो आए सबैले सपनाहरु बाँडेर मात्र गए
मलाई बैंकको क्यासिएर बनाएर गए
दिनभर कराडौं पैसामा खेल्ने तर अर्काको
म पनि दिनरात सपना खेलाईरहेको हुन्थैँ जो मेरा आफ्ना थिएनन

आजकल मेरो मष्तिष्कमा धेरै सपनाको बास छैन
र भएका सपना पनि प्राप्त गर्ने ठूलो आश पनि छैन
केहि समयदेखि शान्त मनको तलाउमा फेरी छाल उठाउन खोजिएका छन् ।
अब,
फेरी उहि कागजको चिर्पटमा ‘स्वस्तिक’ ठोक्न लगाउने रे मृत सपनाको संग्रह गर्न
फेरी एक पटक देशमा स्वप्न ब्यापार उत्सव गर्ने रे !
फेरी एकपटक सपनाका होलसेल व्यापारीहरु टनका टन सपनाहरु दिएर
आफ्ना खुद्रा व्यापारीलाई ढोका ढोकामा पु¥याउदै छन् रे ।
एकपटक फेरी बिहान बेलुका चुलो नबल्ने झुप्राहरुले
आफ्नोमा अटाउनै नसक्ने सपनाहरुको खात पाउदै छन् ।
यो स्वप्न महोत्सवमा फेरी एकपटक ‘स्वस्तिक’ र सपनाको ‘मेगा एक्सचेन्ज’ हुदैछ ।
सुन्दै छु यसपटक ‘स्वस्तिक’ को भाउ आकासिएको छ रे ।
सपनाका ब्यापारीका नयाँ ‘स्किम’हरु पनि नाकाम हुने स्थिति छ रे ।
तर,
मलाई के कुरामा बिश्वास छ भने, सपनाजिवि हामीलाई ‘कन्भिन्स’ गर्न
स्वप्न व्यापारीलाई समय लाग्ने छैन ।

मलाई थाहा छ, एउटा ‘स्वस्तिक’ मसंग पनि भएकोले
सपनाका सेल्सम्यानहरु मेरोपनि ढोका ढक्ढक्याउन आउने छन् ।
म बिनम्रताका साथ तिनलाई भन्ने छु,
तिमिहरुले हिजोदेखि बोकाएका सपनाको भारीले किचिएर म निस्सासीसकेँ
बरु ति सपना फीर्ता लगेर गुन लगाईदेउ ।
अनि आफ्ना सपनाको फ्याक्ट्री मालिकहरुलाई मेरो एउटा सन्देश पु¥याइदेउ
मलाई तिम्रा रेडिमेट सपनाहरुको डम्पिङ्ग साइट बन्न पुग्यो
सक्छौ भने मलाई आफैले सपना देख्न सक्ने बनाईदेउ
अनि त्यो सपनासम्म पुग्ने बाटो देखाईदेउ
म आफै निर्माण गर्नेछु मेरो सपनाको संसार
भो तिमी नगर सपनाको ब्यापार
रमेश अधिकारी ‘स्मित’
२०७०–०१–०१

Sunday, February 3, 2013

बालापनको याद

न चिन्ता थ्यो भविष्यको न जीवनको बोझ कुनै
हर मिनेटमा मस्ती थियो कमि थिएन मोज कुनै
न मतलब दुनियाको न समाजको प्रवाह थ्यो
सबै प्रति भाव उस्तै माया प्रेम अथाह थ्यो

न त घामले पोल्नै सक्थ्यो  न पानीले रुझाउन
आफै चित्त दुख्थ्यो आफै थाल्थे मन बुझाउन
कागजको डुंगा थियो जिन्दगि पार लगाउन
गुडियाको संसार थियो दु:ख पिडा भगाउन

न त् धनि गरिब कोहि न त् कुनै जात थियो
सबै जाति, धर्म, लिङ्ग बर्गको एक साथ् थियो
चराका बचेरा छोपी त्यसै संग बात हुन्थ्यो
न कसैको मन टुट्थ्यो न कसैलाई घात हुन्थ्यो

न अरुको आँशु बेची हाँसो किन्ने जाल थियो
अरु रुँदा उर्लिदीन आँखाभरी छाल थियो
न व्यस्त थ्यो जिन्दगानी फुर्सद फालाफाल थियो
न त जीवन आज जस्तो लथालिंग बेहाल थ्यो

मजा थियो बन पाखामा गाई भैसी चराउनुको
एकतिर बस्तु छोडी अर्कातिर हराउनुको
सुनौला सुन्दर ति दिन फर्काउन मन लाग्यो फेरी
बालापनको संसारमा हराउन मन लाग्यो फेरी 

Tuesday, July 31, 2012

म त्यस्तो देश मा बस्छु


कविता – म त्यस्तो देशमा बस्छु
-रमेश अधिकारी
@rameshsmit  



म त्यस्तो देश मा बस्छु 
जहाँ,
भूकम्पले घरबार गुमाएकालाई चिसोमा कठान्ग्रिएर मर्न लगाइन्छ
काठमाडौँमा महल हुनेहरुलाई सरकारी 'सुबिधाको प्याकेज ल्याइन्छ
जहाँ,
नेता भ्रस्टचारी, व्यापार कालोबजारी र युवा बेरोजगारीले थिचिएका छन                                    
कार्यकर्ता चाकरी, बेकम्मा कर्मचारी अनि जनता ऋणको भारीले किचिएका छन 
जहाँ,
राज्य कमाजोर अनि डाँका, गुन्डा र तस्करहरु शक्तिशाली छन 
देश चलाउनेको मुखमा सबै प्रति समभाव हैन समुदाय लक्षित गाली छन्
जहाँ,
जसले पैसा तिरेर पढनै सक्दैन उसको धेरै पढ्ने सङ्कल्प छ 
स्वास्थ्य र शिक्षा ब्यापारको सबै भन्दा उत्तम विकल्प छ 
जहाँ,
राजनीति जनसेवा हैन स्वजन शेवाको पर्याय बनिएको छ 
एनजीओका प्रोजेक्टलाई मात्र समाजसेवा र स्वयमसेवा भनिएको छ
जहाँ,
मान्छेहरु कालगतिले कम, रोगब्याधी र दुर्घटनामा बढी मारिन्छन 
सीटामलको अभाबमा दुर्गमका जनता मृत्युबरण गर्न बाद्य पारिन्छ्न
जहाँ,
इतिहाँसको बिरताको ब्याख्या गर्दै बर्तमानमा कायर जीवन बाँच्नेहरु पर्याप्त छन 
भोको पेटमा रास्ट्रीयताको आलाप भर्न लगाउने अन्ध राष्ट्रबादीहरू ब्याप्त छन 
जहाँ,
आफुलाई समाजबादी, कम्युनिस्ट अनि जनपक्षीय भन्नेहरु आफैमा पथभ्रस्ट छन 
आफुलाई प्रजातन्त्रको पर्याय भन्ने हरु निरंकुशताको अभ्यास गर्नमा ब्यस्त छन 
अनि,
जहाँ
खाडी जाने १५ सय युवाको लाइन बिमानस्थलमा हरेक दिन छरप्रष्ट छ
अधिकार माग्नेका लागि प्रहार गर्ने राष्ट्रवादको सरकारी अस्त्र छ


त्यस्तो देश मा बस्ने मलाई कसैले भन्छ- 
गर्व गर नेपाली हुनुमा, बिर गोर्खाली हुनुमा 
म कसरी गर्ब गरुँ??
जबकी म आफ्नै आँखा अगाडी 
हरेक क्षेत्रका अगुवा भनिनेहरु भ्रस्ट भएको देख्छु 
भविष्यका आफ्ना सपना छरप्रस्ट भएको देख्छु 
कागजमा स्वास्थ्य शिक्षा नि:शुल्कगरेको देख्छु 
कर्णाली र सुदुर पश्चिममा हैजाले मान्छे मरेको देख्छु 
धनि र हुने खानेका सन्तानले मात्रै पढेको देख्छु 
तीक्ष्ण र जेहेन्दारहरुका सपना डढेको देख्छु 
खाडीका मरभूमिमा नेपाली राष्ट्रियता जलेको देख्छु
अरुहरुको इशारामा आफ्नै देश चलेको देख्छु 
यति भन्दै गर्दा,
तिमि मलाई राष्ट्रघाती वा देशद्रोही भने पनि भन
म मेरो देशलाई घृणा त गर्ने सक्दिन 
तर छाती फुलाएर गर्व गर्न पनि सक्दिन 
किनकि,
प्रकृति र भूगोल मात्र देश हैन
त्यो भूगोलमा बस्ने मान्छे पनि देश हुन् 
एक जना मान्छे पनि आफैमा देश हो 
 म पनि देश हूँ
त्यसैले,
मलाई म आफैं प्रति पनि गर्व छैन