Sunday, June 21, 2015

“फेल” र “पास”को खेलमा जारी राखिएको छ जीवन र सृजनशीलताको हत्याको शृंखला

गत चैतमा सम्पन्न एसएलसी परीक्षाको परीक्षाफ़ल शुक्रबार प्रकाशित भयो जसमा जम्मा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइ । नतिजाअनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भए । बाँकी ५२.५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए । भनौं उनीहरुलाई अयोग्य भइस् भनेर परीक्षा नियन्त्रण कार्यालयले ठप्पा लगाइदियो ।

प्रवेशिका परीक्षामा सामेल भएका पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीमध्ये के पास भए भनिएका चानचुन २ लाख मात्र ‘योग्य’ विद्यार्थी थिए ? यदि त्यसो हो भने बहुसंख्यकलाई अयोग्य वा असफल बनाउने हाम्रो शिक्षण प्रणाली अनि ठूलो मात्रामा राज्यले शिक्षामा गरेको लगानी के यो सफल छ ? कि कुरा अर्कै हो ?
सर्वप्रथमत: हामीले बारम्बार सुन्दै आएको एउटा वाक्यांशमाथि ध्यान केन्द्रित गरौं- “नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको छ ।” अहिले प्रवेशिका परीक्षाको नतिजा आउँदा सारा देश तरंगित छ, तर तर त्यसरी तरंगित पार्ने विद्यार्थीहरु नै कि शिक्षित वा अर्धशिक्षित बेरोजगार भएर निस्कन्छन् । आज उफ्रिनेहरु पनि विश्वविद्यालयको पढाइ सकेर सर्टिफिकेट लिइसकेपछि अब के गर्ने भनेर चौबाटोमा छटपटाइरहेका होनहार युवाबारे मौन हुन्छन् । उनीहरुबारे देश केही बोल्दैन, नत लेखकहरु केही लेख्छन् । विश्वविद्यालयले पनि कुन विषय किन पढाइरहेका छौ भन्ने कुरामा अनविज्ञ छ अनि विद्यार्थीहरु पनि किन पढ्दै छु भनेर कहिल्यै सोच्दैनन् ।

प्रवेशिका परीक्षामा ‘डीस्टिंगसन्’ ल्याएर ‘साइन्स’ पढ्नेलाई थाहा दिइँदैन ऊ किन साइन्स पढ्दैछ, मानविकी पढेर के हुन्छ । विश्वविद्यालय पढ्दा म आफैले पनि यस्ता प्रश्नबारे कहिल्यै बुझिनँ नत कमर्स पढेर मैले के गर्ने भनेर मेरो भाइलाई थाहा छ । हामी पढ्यौ, खुब पढ्यौ किनकि हामीलाई परीक्षा पास गर्नु थियो, ‘राम्रो अंक’ ल्याउनु थियो ।

परिवारको चाहना थियो राम्रो अंक ल्याओस्, त्यसकै खातिर पढ्यौं । तर किन पढ्यौं ? न परिवारले यसबारे सोच्यो नत मेरो विश्वविद्यालयले नत मैले नै सोचें । जब ‘डीग्री’ पास गरेर सर्टिफिकेट हातमा आयो अनि बल्ल सोच्न थालें : मैले के पढें र के सिकें ? आखिरीमा मैले जीवन उपयोगी सीप केही सिकेनछु, सिकेछु त केवल कुरा गर्न सिकेछु, परीक्षा पास गर्न मात्र सिकेछु तर आफ्नो जीवन निर्वाह गर्ने सीप त मसँग केही रहेनछ । अनि म बेरोजगार नभएर को हुन्छ ?

‘म’ पात्र प्रतिनिधि भए पनि यो हालत सबैको साझा हो । अनि त्यो चौबाटोमा उसले देख्ने एकमात्र विकल्प खाडी मुलुकबाहेक के हुन सक्छ ? मेरो विचारमा पैसा धेरै तिरेर युरोप, अमेरिका जाने कुरा अपवादजस्तै हो । अनि के हाम्रो जिन्दगीको ऊर्जाशील समयको २०/२२ वर्ष (विद्यालयको ११ वर्ष अनि कलेजको ११ वर्ष) को अनवरत दौड (कहिले पास हुने दौड, कहिले फर्स्ट हुने दौड)को अन्तिम विन्दु आखिर खाडी मुलुक हो ? किन हामी हाम्रा नानीहरुलाई खाडी पुग्ने बाटोमा दौडाइरहेका छौं ? किन राज्य सोच्दैन : एउटा युवालाई स्वदेशमै स्वरोजगार बनाउन हाम्रो शिक्षा प्रणालीले सकेको छैन ?

बुर्जुवा शिक्षा बहिष्कार गर्न लगाउने कम्युनिस्टहरुले पनि वैकल्पिक शिक्षा यस्तो हुन्छ भनेर कहिल्यै देखाउने चेष्टा गरेनन् । न तिनले आफू सत्तामा हुँदा यस्ता प्रश्नको जवाफ दिने प्रयत्न गरे नत हिजो भन्ने गरेको ‘बुर्जुवा शिक्षा’भित्रकै कमजोरीमाथि बहस चलाउन चाहे । तिनलाई सत्तामात्र सर्वेसर्वा भयो तर सत्तामा पुगेपछि शिक्षाका क्षेत्रमा ल्याउने आमूल परिवर्तनका कार्यक्रम तिनका लागि गौण बन्यो । तिनीहरु पनि बेरोजगार उत्पादन गर्ने कारखाना कलेज र क्याम्पसलाई आफ्ना अन्धभक्त ‘विद्यार्थी नेता’ उत्पादन गर्ने वर्कसपको रुपमा विकास गर्नमा तल्लीन रहे र सृजनशीलताको हत्या शृंखलाको मतियार बने ।

अघिल्ला वर्षका अनुभव हामीसँग छन्, एसएलसीको परीक्षाफ़ल प्रकाशित भएसँगै कैयौंले आत्महत्या गरेका छन् र यो प्रक्रिया यसपालि पनि दोहोरिएको छ । तर हामीले कहिल्यै के सोचेनौ भने जीवन सिकाउनुपर्ने शिक्षाले किन किशोरकिशोरीलाई मारिरहेको छ ? राज्यले कहिल्यै के सोच्ने आवश्यकता महसुस गरेन भने किन उसले शिक्षामा गरेको लगानीले यी किशोरकिशोरीलाई फाँसीको फन्दासम्म पुग्ने बाटो देखाइरहेछ ?
वास्तवमा कसैलाई फेल गराउने र कसैलाई पास गराउने अनि श्रेणी छुट्याएर मान्छेको वर्गीकरण गर्ने ‘ग्रेडिङ’ पद्दति नै खराब छ । हाम्रो शिक्षा प्रणालीले पास हुने, अझ राम्रो श्रेणीमा नाम आउने सर्वोत्कृष्ट मान्छे र फेल हुनेहरुलाई नालायक र अक्षम मान्छे हुन भन्न सिकाएको छ । के वर्षौंदेखि पढेको कुरा ३ घण्टामा लेख्न सक्नु मात्रै सफलता वा विफलता तथा उत्कृष्टता र निकृष्टताको कसी बन्न सक्छ ?

हाम्रो शिक्षा प्रणालीले ‘फेल’ भएका भनिएकाहरुभित्रको आत्मसम्मान र फरक क्षमतामाथि निर्मम प्रहार गरेको छ । तिनीहरुभित्रका ‘परीक्षामा लेख्न सक्ने’ बाहेकका लाखौं सम्भावनाको ढोका सधैंका लागि बन्द गरिदिएको छ । ‘पास’ र ‘फेल’को घृणित खेल खेलेर राज्यले ‘फेल’ भनिएकाहरुभित्र जीवनप्रति नकारात्मकताको बीजारोपण गरेको छ र जीवन बेकार छ भन्ने हदसम्मको धारणा जबर्जस्ती विकास गरिदिएको छ ।
एसएलसीमा फेल हुनु कामै नलाग्ने हुनु हो भनेर परिवार, समाज अनि राज्यले चर्को चर्को स्वरमा भनिरहेका छन् । हाम्रो शिक्षा प्रणाली, समाज र राज्यले फेल भएकालाई वास्तवमै मरुँ मरुँ जस्तो बनाइदिएका छन् । जीवन हैन‚ मृत्यु रोज्ने अनि सृजनशीलताको बाटो हैन‚ प्रतिस्पर्धाको हिंस्रक बाटो रोज्ने बनाइदिएका छन् ।

प्रत्येक वर्ष कलिला नानीहरुको हत्या भइरहेको छ तर हामी सबै मौन छौं । किनभने परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक विद्यार्थीको निधारमा लगाइदिने ‘पास’ र ‘फेल’ ठप्पालाई अनुमोदन गरेर हरेक विद्यार्थीभित्रको सृजनशीलताको हामी पनि हत्याको मतियार बनिरहेका छौ ।

adhikarismit@gmail.com
twitter- @rameshsmit

रमेश अधिकारी

अधिकारी सामाजिक अभियन्ता र अध्येता हुन् ।

२१ जुन २०१५ मा www.esamata.com प्रकाशित 

Tuesday, June 2, 2015

पीउन छोडीदिएँ

नशा भित्र कृत्रिम जीवन जिउन छोडिदिएँ
अबदेखि मैले पनि पिउन छोडिदिएँ 

खुसी हुदा दुखः पर्दा बहाना थे पिउने
फाटेको मन मदिराले सिउन छोडिदिएँ 

सोची हेरें दलदलमा फस्दै रैछु आफै
सुन्दर जीवन प्यालामा रित्याउन छोडिदिएँ 

संघर्ष पो जीवन रैछ पिई भाग्नु कयरता
बोत्तल सामू पिडा बिसाउन छोडिदिएँ

लाग्थ्यो साथि बढ्ने गर्छन संगै पिईदिदा
मित्र खोज्न मधुशाला धाउन छोडिदिएँ