Tuesday, February 12, 2013

मैले गर्ने प्रेम

एउटा गुलाब हातमा थमाई प्रेम गर्दिन म ,
आवरणमा रमाई रमाई प्रेम गर्दिन म ..

महसुस गर्न सके निसब्द नै प्रितसागर,
सब्द जालको पुच्छर समाई प्रेम गर्दिन म ...

आदि देखि अन्त्य सम्म अविरल छ यो,
बर्षमा एक दिवस मनाई प्रेम गर्दिन म...

कोहि पाउदा जित अनि गुमाउदा हार किन,
प्राप्तिलाई लक्ष्य बनाई प्रेम गर्दिन म....

बनाई दियो पुंजीबादले बस्तु पिरतिलाई ,
बजार भाउ झैँ मूल्य सुनाइ प्रेम गर्दी न म ..
 
-रमेश अधिकारी

Sunday, February 3, 2013

बालापनको याद

न चिन्ता थ्यो भविष्यको न जीवनको बोझ कुनै
हर मिनेटमा मस्ती थियो कमि थिएन मोज कुनै
न मतलब दुनियाको न समाजको प्रवाह थ्यो
सबै प्रति भाव उस्तै माया प्रेम अथाह थ्यो

न त घामले पोल्नै सक्थ्यो  न पानीले रुझाउन
आफै चित्त दुख्थ्यो आफै थाल्थे मन बुझाउन
कागजको डुंगा थियो जिन्दगि पार लगाउन
गुडियाको संसार थियो दु:ख पिडा भगाउन

न त् धनि गरिब कोहि न त् कुनै जात थियो
सबै जाति, धर्म, लिङ्ग बर्गको एक साथ् थियो
चराका बचेरा छोपी त्यसै संग बात हुन्थ्यो
न कसैको मन टुट्थ्यो न कसैलाई घात हुन्थ्यो

न अरुको आँशु बेची हाँसो किन्ने जाल थियो
अरु रुँदा उर्लिदीन आँखाभरी छाल थियो
न व्यस्त थ्यो जिन्दगानी फुर्सद फालाफाल थियो
न त जीवन आज जस्तो लथालिंग बेहाल थ्यो

मजा थियो बन पाखामा गाई भैसी चराउनुको
एकतिर बस्तु छोडी अर्कातिर हराउनुको
सुनौला सुन्दर ति दिन फर्काउन मन लाग्यो फेरी
बालापनको संसारमा हराउन मन लाग्यो फेरी