Wednesday, April 26, 2017

मेरी आमा


फुटेका खुट्टा फाटेका चप्पल कलेठी ओठमा 
तिन्बिसे उमेर थाप्लामा नाम्लो भैसीको गोठमा
गोड्नुछ मकै रोप्नुछ कोदो गहुँनि काट्नुछ 
ल्याउनुछ घास चिटिक्क घर आगन राख्नुछ 

धानको बिऊ राख्नुछ आजै हलगोरु खोजेर 
बकेर्नो भैसी झार्नुछ दुध अन्नपात् पोसेर 
कर्करी खान्छ हात र गोडा दुखाइ ढाडको 
नातिनी छोरा जाउत भेट्न बाटोछ टाढाको 

फोनको घन्टी बझ्छकी भन्दै राखेर गोजीमा 
सन्तानले फोन गर्छनकि भन्दै आमाको खोजीमा 
बझ्दैन फोन अत्यास लाग्दा बेचैनी बढ्दछ 
एक्लीन्छु जब रगतको चाप एक्कासी घट्दछ 

पैताला फुटे हत्केला फुटे निदरी लाग्दैन 
पाक्दछ खाना सेलाउछ त्यसै खानामन् लाग्दैन 
पतिका पाला भएन सुख्ख अहिले उस्तैछ   
छोराका पाला एक्लिएँ झनै कलेजी दुख्दैछ 

२०७३ बैशाख १३ (माता औशी- आमाको मुख हेर्ने दिन)

Tuesday, March 7, 2017

के म बिर्सन सकुँला?

हुन्छ तिमीले भने जस्तै म बिगतका सबै कुरा बिर्सुला 
तर,
खेतमा हलो जोत्दै गरेको उसलाई उनीहरुले किन पक्रेर लगे?
किन त्यो दिनसम्म 'भोट हाल्नुपर्छ' बाहेक राजनीतिको क, ख रा समेत नजानेको 
उसलाई आतंककारिको बिल्ला भिराएर झुठा 'मुठभेड' मा मारियो 
त्यसको जवाफ पहिला देउ 

हुन्छ तिमिले भनेको जस्तै म पनि अगाडी बढुला 
शान्त र समुन्नत देशको निर्माण गर्न 
तर,
जनताको लागि भन्दै 
गाउँमा ज्ञानको ज्योति छर्दै गरेको उसलाई 
'जासुस' को आरोप लगाई किन रुखमा झुड्यायौ 
उनको छातीमा छुरा रोप्ने र घटीमा रसी कस्ने को थिए 
अनि त्यसो गर्न लगाउने को थिए 
त्यसको जवाफ देउ पहिला 

हुन्छ तिमीले भनेको जस्तै बिगत कोट्याएर तिम्रो 'शान्ति' भंग नगरुला म
तर,
सरकारी कार्यालयमा तारेख धाउन गएको उसलाई पक्रेर बेपत्ता पार्ने 'राज्य'हरुलाई  
मेरो सामु ल्याएर किन त्यस्तो गर्यो भन्ने कुराको चित्त बुझ्दो जवाफ दिन लगाउ 
अनि मलाइ चित्त नबुझे उसलाई कारवाही गर्छु
भन्ने विश्वास दिलाउ पहिला 

हुन्छ तिमीले भनेको जस्तो आर्थिक क्रान्तिमा म पनि सामेल होउला 
तर
राजनीतिक क्रान्तिको नाममा साधारण यात्रामा रहेका उनीहरुलाई 
किन महान यात्रामा सामेल हुन् बाध्य बनायौ बसमा बिस्फोट गराएर ?
त्यसको उपादयता पुष्टि गर पहिला 

यो पनि हुन्छ कि तिमीले भनेको जस्तो 
म पनि मेलमिलाप गरेर गरेर बसौला समाजमा 

तर,
त्यो भन्दा पहिला 
उनीहरुलाई खाना र बस्न नदिएको निहुमा मेरो बुबाको खुट्टा भाच्नेलाई मेरो सामु घुडा टेक्न लगाउ 
उनीहरुलाई बास र खाना दिएको निहुमा आगनमा निकालेर तातो गोलि खुवाउनेलाई कारबाही गर 
जो आज मेरै समाजमा हाम्रै अगाडी छाती फुलाएर हिडेका छन् 
हाम्रो छाती चिरिन्छ हजुर तिनको चुरीफुरी देख्दा

छ हिम्मत र चाहना यत्ति गर्न?
यदि छैन भने
तिम्रो मेलमिलापको बेसुरा आलापले सुनको जलप लगाएर फलामलाई सुन हो भन्नु बाहेक केहि गर्दैन 
सक्छौ मल्हम लगाउ, सक्दैनौ घाउ नकोट्याउ 
तिम्रा हिजोका आश्वासान र आजको बेवास्ताले
तिमि प्रतिको विश्वास ढलेको छ
त्यसैले
कृपा गरेर अब मलाइ नसोध कि म के चाहन्छु
अब त मेरो घाउ मेरो छोरा छोरीलाई दुख्दै छ
ए हजुर !
म त जेनतेन आफ्नै आशु पिएर बाचे
तर मेरा छोराछोरी आफ्नो आशु हैन
तिनका खुन पिउने बन्न नसक्लान भन्न म सक्दिन
तिम्रा बन्द दिमाग र आखा खोल बेलैमा

नत्र तिमि निन्द्राबाट ब्युझदा स्थिति अर्कै हुन सक्छ !

Thursday, November 24, 2016

गजल- मान्छे

देउता बन्ने धुनमा ढुंगा बन्छ मान्छे पिधमा प्वाल परेको डुंगा बन्छ मान्छे
सबै चिज कब्जा गर्छु भन्दा भन्दै आफै धागो चुडिएको चंगा बन्छ मान्छे

राख्छ लक्ष फुलै फुलको शहर बसाउने

तर भिरमा ओइलाएको थुंगा बन्छ मान्छे

गर्दै दाबी शुद्द्ताको नमुना हुँ म

यथार्थमा प्रदुषित गङ्गा बन्छ मान्छे

निस्केको थ्यो दुनियाको द्वन्द मिलाउन

आफै भित्र भयानक दंगा बन्छ मान्छे



Tuesday, June 28, 2016

अबहेलित किसान

बाझो छ खेत बाझो छ बारी उजाड बस्ति छ 
युवा छ अरब बुढो छ नेता उसैको मस्ती छ 
सुन् फल्ने खेतमा घर फल्न थाले बारीमा बन्मारा 
व्यवस्था भयो दलालको गुलाम किसानको ज्यानमारा

दुखले बाली लगायो उसले बगायो पसिना 

भित्र्याउने बेला प्रकृति ठग्छ बर्सिन्छ असिना 
खडेरी कहिले कहिले बाढी कहिले छैन मल 
पहिरोले खेत लान्छ्की भनि चिन्ताछ हरेक पल 

उब्जाउछ अन्न तरकारी फल बेच्नलाई ठाउ छैन 

लागेको खर्च उठाउन पनि बजार भाउ छैन 
दलाल खान्छ कसेर नाफा किसान मर्दैछ 
धान दिवस भन्दै सरकार भने प्रहशन गर्दैछ 

पसिना उसको पाखुरी उसको उब्जाउछ उसैले 

दमित उही गरिब उही हेर्दैन कसैले 
किसान जब बन्दैन यहाँ सम्मानको भागिदार 
देशको डुंगा गरिबी बाट लाग्दैन कसै पार