Saturday, January 30, 2016

सहिद

उ चुपचाप हेरिरहेछ
देश चुस्ने जुकाहरुले आफ्नो प्रतिमामा माला चढाईरहेको 

उ बिबश भएर सुनिरहेछ 
आफ्नो प्रतिमाको 'बेस'मा उभिएर
हिजो हाम्रो राष्ट्रियता छिमेकीको पाउमा चढाएका 
तर 
हालसालै महान राष्ट्रबादी कहलाएकाहरुले 
लोकका अगाडी 
आफ्नो सपना पुरा गर्न लागिपरेको 
भनि बोलिरहेको सफेद झुठ 

मन गाठो पारेर उ महशुस गरिरहेछ मुखमा राष्ट्रभक्तिका अपार सब्द हुनेहरुको 
मनभरी बजिरहेको भ्रस्टचारको धुन..


उ हिजो पनि चुप रह्यो 
जतिबेला उसकै प्रतिमा बनाउदा 
पैसाको चलखेल भएको थियो 

उ आजपनि चुप छ 
जहाँ उसकै आँखा अगाडी 
उसको बलिदानीको  
किनबेच भैरहेछ  
खुलेआम 
दिनको उज्यालोमा 
बीच सडकमा 
उसले देखेका सपनाहरुको
बलात्कार भैरहेछ 

यो सब देखेर, सुनेर र महसुश गरेर पनि उ चुपचाप छ 
सडकको बिचमा एउटा पत्थर बनेर मात्र उभिएको छ

भित्र भित्र छटपटीन्छ 
तर उ बोल्न सक्दैन 
हो उ बोल्न सक्दैन
किनकि उ सहिद हो



No comments:

Post a Comment

Thank you very much for your valuable Comments !