Tuesday, May 22, 2018

अमेरिका डायरी- १

(नेपालस्थित अमेरिकी दुताबासको सिफारीश र अमेरिकी विदेश मन्त्रालयको ब्यबस्थापनमा २०७४ चैत्र महिनामा ३ हप्ते अमेरीका भ्रमणमा गएको थिएँ । ३ हप्ता सम्म अमेरिका रहदा मैले अनुभूत गरेका केहि कुरा शृंखलाको रुपमा यहाँ लेख्ने प्रयत्न गरेको छु । यी मेरा नितान्त व्यक्तिगत अनुभूति हुन् । सल्लाह सुझाबको लागि adhikarismit@gmail.com मा इमेल गर्न सक्नुहुन्छ)

'आइभीएलपी-२०१८' मा छनौट, एक 'प्लीजेन्ट सरप्राइज'

फागुनको पहिलो साता म नेपालगंजमा थिएँ । द्वन्द प्रभावित दिदीबहिनीसंग 'आफ्नो जीवनभोगाई अरुसामु कसरी राख्ने ताकी त्यसले थप पिडा हैन आफैलाई शक्तिशाली बनाओस' भन्नका खाँतीर 'न्यारेटिभ थेरापी' को कार्यशाला चलिरहेको थियो ।
मेरो जिमेलमा अमेरीकन दुताबासबाट एउटा इमेल आयो । इमेलमा लेखिएको थियो "बधाई छ रमेश अधिकारी ज्यु, तपाइँ IVLP २०१८ का लागि छनौट हुनुभयो" ।
आइभीएलपी (International Visitors Leadership Program) को बिषयमा मैले धेरै सुनेको थिएँ । संसारका धेरै नेताहरु कुनै बेला यहि कार्यक्रम अन्तरगत अमेरिका भ्रमणमा गएका थिए भन्ने मलाई थाहा थियो । नेपालबाट पनि अघिल्लो बर्ष मेरो साथी/ दाइ राम भण्डारी जानुभएको थियो । उसो त नेपालबाट अरुहरु पनि जानु भएको होला तर उहाँसंगको सामिप्याताले यो कार्यक्रमको बिषयमा धेरै कुरा उहाँबाट नै थाहा पाएको हो । उहाले काठमाण्डौ पोष्टमा लेख समेत छाप्नु भएको थियो आफ्नो अनुभव समेटेर । त्यस्तो प्रतिष्ठित कार्यक्रममा चुनिएको खबर अप्रत्याशित रुपमा इमेल मार्फत पाउनु मेरो लागि एउटा 'प्लीजेंट सरप्राइज' थियो । यो खबर कसलाई भनुं कसलाई भनुं भयो र फोन गरें काठमाण्डौ रहेका सबि(मेरो जीवनसाथी) अनि सुरेश (मेरो भाइ) लाइ । कार्यशालामा संगै रहेका सहकर्मीहरु माझ पनि यो कुरा भनें ।
मलाई चुनिएको शिर्षक "स्वयंसेवा र नागरिक कार्य' (Volunteerism and Civic Action) थियो । अमेरीकी सरकारको डिपार्टमेन्ट अफ स्टेट (यानकी विदेश मन्त्रालय) को आमन्त्रणमा ३ हप्ते अमेरीका भ्रमणको लागि छनौट भएको थिएँ म । नेपालमा रहेको अमेरीकी दुताबासबाट सिफारीस भै अमेरीकी विदेश मन्त्रालय अन्तर्गत IVLP केन्द्रिय कार्यालय वाशिंगटन डीसी बाट छानिएको रे ।

सहज भिसा प्रक्रिया सम्मानित व्यवहार
मेरो हातमा परेको अमेरिकाको भिषा 
अमेरीकी दुताबासका कल्चरल अफेयर अफिसका अधिकारीहरुसंगको २, ३ पटकको भेट पछि मेरो पासपोर्ट र फोटो मागियो । मेरो लागि भिषा आबेदन उनीहरुले नै कन्सुलर विभागमा पठाइदिए । अब मैले गर्नुपर्ने जम्माजम्मी काम कन्सुलर विभागमा एक पटक स्वयम् उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने थियो । पहिलो पटक सन् २००९ मा नेदरल्यान्ड जानको लागि भिषा अन्तरबार्ता दिदा जस्तो म किन उतै भाग्दिन भनेर प्रमाणित गराउनु परेन । न त्यति बेलाको जस्तो अत्यन्तै लागुताभाष गराउने खालका प्रश्नहरुको सामना गर्नुपर्यो न त त्यति बेलाको जस्तो झन्झट यसपाला व्यहोर्नै पर्यो ।  सबै प्रक्रिया पुगेपछि ३ दिनमा पासपोर्ट लिन बोलाइयो । अब मेरो हातमा अमेरिकाको भिषा टाँसीएको आफ्नै पासपोर्ट थियो । साथमा काठमान्डौ-दिल्ली-दुबई- वाशिंगटनको दुइतर्फी टिकट, आवस्यक अन्य कागजात र बाटाखर्चबापतको केहि डलर पनि । अमेरिकन दुताबासमा मैले अनुभूत गरेको यो सहज प्रक्रिया सकिएपछि आखिर ३ हप्ते भ्रमणको लागी अमेरिका उड्ने दिन पनि आइहाल्यो । चैत्र ६, २०७४ का दिन म अमेरिका उड्नको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगें 

त्रिभुवन हवाईअड्डाको भिडभाड र दिल्लीको उडान
उसो त उडान दिउसो ४ बजेको थियो । तर हाम्रो एयरपोर्टको अस्तव्यस्तताका कारण १ बजे नै 'चेकइन' को लागि पुग्नु पर्ने बाध्यता थियो । अनपेक्षित रुपमा चेकइन प्रक्रिया आधा घन्टामै सकियो । किन अमेरिका जान लागेको, फर्किने ग्यारेन्टी के, पैसा बोकेको छ कि छैन, खै अफिसको लेटर, बिदाको लेटर खै? आदि इत्यादी प्रश्नहरुको बिनम्र उत्तर अध्यागमनका हाकिमसामु पेश गरेपछि उनको हातबाट पासपोर्टमा 'डिपार्चर' को ठप्पा लगाउदै आधि घन्टामा चेक इन हुनुलाई पनि ठुलै उपलब्धि मानियो । सोचें हाम्रो विमानस्थलमा ब्यबस्थापन चुस्त भएछ, भित्र भित्रै मख्ख पनि परें । तर त्यो खुशी सुरक्षा जाँच देखि अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु प्रतिक्षा गर्ने ठाउ पुग्दा नपुग्दै सास्तीमा परिणत भयो । ओह हो, त्यहाँ त शिवरात्रिको पशुपतिनाथ भन्दा नि बढी भिड ! अघिको खुशी क्षणभरमै खिन्नतामा बदलियो । अब आपत पर्यो उभिने ठाउँ पाउनु कहाँ ? (बस्ने ठाउको त के कुरा गर्नु) करिब ५ मिनटको फरकमा ३ ओटा उडान रहेछन । जम्मा ३ ओटा उडानका यात्री बोडिंगका लागि प्रतिक्षा गर्दा विमानस्थलको त्यो हालत भएको थियो । निशुल्क वाई फाई भनेर लेखिए पनि त्यो कामलाग्दो नभएपछी डाटाबाटै आफ्ना सामाजिक संजालमा स्टाटस पोस्ट गर्दै उभिए केहि बेर । २ ओटा जहाज उडेपछि बल्ल बल्ल बस्ने कुर्सि भेटे । यसो उसो गर्दा गर्दै भिडमा ३ घण्टा हराएछु । अब म उड्ने उडानको बोर्डिंगको घोषणा भयो । पुग्नु पर्ने वाशिंगटन डीसी थियो तर उड्नु पर्ने दिल्ली हुदै दुबई पुगेर त्यहाँबाट डीसीको लागि जहाज पकड्न पर्ने । जहाजमा चढेर ट्याक्सीवे मा निस्केको करिब आधा घन्टामा बल्ल म चढेको चिलगाडीले जमिन छोड्यो ।

दिल्लीमा ३ घण्टा र दुर्व्यवहारको डर
सन् २००९ मा दिल्ली हुदै नेदरल्याण्ड जाने क्रममै म बबुरोमाथी दिल्लीको इन्दिरा
दिल्ली विमानस्थलको एक दृश्य 
गान्धी अन्तर्राष्ट्रिय हवाईअड्डाका सुरक्षाकर्मीले गरेको दुर्ब्यबहार र तिनको 'सोधपुछ' को कारण जहाज छुटेर रातभर एयरपोर्टमै कुर्नुपरेको तितो स्मृतिसंगै दिल्ली झरें । डर थियो नेपाली पासपोर्ट देख्ने बित्तिकै त्यहि दुर्ब्यबहार भोग्नु पर्ने छ । 'फ्लाईट ट्रान्सफर' को डेस्कमा गएर टाई सुट लगाएको कर्मचारीलाई आफ्ना बोर्डिंग पास अनि टिकट देखाए । ५ मिनट जती उसले त्यसलाई हात पनि लगाएन । उ ब्यस्त पनि थिएन । ५ मिनट पछी उसले ठाडो स्वरमा हिन्दीमा भन्यो "कहाँ जाना है?" मैले अंग्रेजीमा उत्तर दिएँ, जाने त अमेरीका हो तर यहाँबाट दुबई । १० मिनट कुर्न भनेकोले म नजिकैको कुर्सीमा बसे । ७ मिनटमै उसले जानु भनेर आफ्नो डेस्कको दाहीनेतर्फ इशारा गर्यो । भित्र लाइनमा बसेर "सेक्युरिटी चेक" गरी ट्रांजीट सम्म पुग्दा मैले २००९ मा भोगेको जस्तो कुनै अपमान यसपाला भोग्नु परेन । काठमाडौं एयरपोर्टमै भेटीएका पोखरेली साथी विश्व गौतम त्यहाको ३ घन्टे बिसाइको साथी बने । नेपालस्थित अमेरिकन दुताबासमा अंग्रेजी भाषा विभागमा जागीरे गौतम पनि कार्यालयको कामले अमेरीका जान हिडेका थिए । पहिले पनि अमेरीका आउजाउ गरेका गौतम मेरा लागी त्यो ३ घण्टा श्रोत व्यक्ति जस्तै बने- अमेरीकामा के गर्न हुन्छ, के गर्न हुदैन? एयरपोर्टमा कसरी प्रस्तुत हुने? आदि इत्यादी बिषयमा आफ्नो अनुभव बाँडे । उनको दुबई उडान बिहानको ३ बजे भएकोले उनीसंग बिदा हुदै म भने आफ्नो चिलगाडीको गर्भमा पसें ।

जहाजमै इन्टरनेट
दिल्ली देखी दुबईसम्मको हवाईयात्रा ४ घन्टाको थियो । जहाजमा दुइ घन्टाको लागी २० एमबि निशुल्क डाटा सहितको इन्टरनेट सेवा छ भन्ने थाहा पाएपछी मोबाइल झिके र त्यो प्रयोग गर्न तर्फ लागीहाले । जीवनमा पहिलो पटक ३५ हजार फिट भन्दा माथी आकाशबाट फेसबुक र ट्वीटरमा लेखे
जहाजभित्रको एक दृश्य 
। परिवारसंग फेसबुक म्यासेन्जरमा च्याट गरें । समाचारका हेडलाइन चाहारे । २ घन्टाको भ्यालीडीटी भएको २० एमबीको डाटा प्याक ५२ मिनटमा सकेर म भुक्का भैहालें । अरु थप इन्टरनेट चलाउन डाटा किन्नु पर्ने रहेछ । दररेट हेर्दा सातो पुत्लो उडेपछी म आकाशमा सम्पर्कबिहिन हुन पुगें । त्यतिबेला महसुश गरें कि उपलब्ध श्रोतलाई किफायती ढंगले उपयोग गर्नुको महत्व के हो? दुबईको ४ घन्टे बिश्राम यता उता गर्दा बितिहल्यो 
। प्राय नेपाली दाजु भाइ भेटिने दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा समय बितेको चाही साच्चिकै पत्तो भएन किनकि उनीहरुसंगको गफ गाफ यसै पनि रमाइलो । अब पालो थियो करिब साढे १५ घन्टा लामो उडान दुबई देखि वाशिंगटन सम्म ।

वाशिंगटन डिसीमा पन्जाबी ट्याक्सी चालक
वाशिंगटन डीसी को अन्तर्राष्ट्रिय एयरपोर्टमा ओर्लेपछि डु पोइन्ट सर्कलको छेवैमा एम्बेसी रो मा रहेको होटलसम्म जानका लागि ट्याक्सी खोज्दै जाँदा एकजना दक्षिण यसीयाली अनुहार परेका चालक लगेज समाउन आइपुगे । आधा घन्टे ट्याक्सी यात्राका क्रममा कुरा हुदै जाँदा थाहा भयो उनि भारतको पन्जाबबाट अमेरिका पुगेका रहेछन । कसरी अमेरिका आइपुग्नुभयो त ? भन्ने मेरो प्रश्नमा उनले अमेरिका आउदाको रामकहानी सुनाए । एकजना दक्षिण भारतीय नागरिकलाई ३५ लाख भारतीय रुपैयाँ बुझाएर गैह्र कानुनी बाटोबाट छिरेका रहेछन । अरु त ठिकै हो मेक्सिकोको जंगलमा उनले पाएको दुख्ख र भोगेका त्रासदी निक्कै मुटु चहर्याउने खालका थिए । "मैले दर्जनौ महिलामाथी दलालहरुले जंगलमा बलात्कार गरेको र कयौं मान्छेहरु हिड्दा हिड्दै मरेको देखेको छु”- उनि त्यो त्रासदीको स्मृतिमा छिरे । उनकै समुहमा आएका श्रीमान श्रीमती मध्ये श्रीमती जंगलमा मरेको र श्रीमानले लाशलाई त्यहि छोडेर हिड्नु परेको दुखद घटना समेत देखेका रहेछन उनले । "रोक्किएर दुखः मनाउ गर्ने टाइम भएपो" पन्जाबी लबजको हिन्दीमा उनले सुनाए । टोलीको अघि अघि दलालहरुको समुहको मान्छे हुन्थ्यो । उसको चालमा चाल मिलाएर हिड्न नसक्ने जतिको अमेरिका छिर्ने सपना मेक्सिकोको जंगलमै तुहिन्थ्यो ।
ट्याक्सी चालक 
अमेरिका छिरेको ५ बर्षसम्म त उनले एक सुका पनि बचाउन सकेनन् रे । दिनको १० घण्टा जोतिदा पनि वकिलको फी तिर्न मुस्किल थियो रे । "५ बर्षपछी कानुनी हैसियत पाए पछी मात्र मान्छेको जुनी पाएको हो मैले", उनले लामो सास फेरे । ट्याक्सीको ब्रेक लाग्यो, मैले उनको फोटो खिच्ने पछी केहि लेखें भने लेखमा उक्त फोटो प्रयोग गर्ने अनुमति मागें । उनले सहर्ष स्वीकार गरे अनि लेखें भने लिंक पठाउन समेत आग्रह गरे । मेरो 'भिजिटिंग कार्ड' लिएर गएका उनले बेलुका फेसबुकमा रिक्वेस्ट पनि पठाए   मिटरमा ६५ डलर चढेको थियो । मैले १० डलर टिप्स सहित ७५ डलर उनको हातमा थमाएँ र ६५ डलरको बिल लिएर छिरें होटल फेयरफ्याक्सको लबीमा । मन्दिप सिंह को त्यो कहालीलाग्दो कहानी मनमा बिझेन मात्र मैले ति मेरा सहपाठीहरु र आफुले चिनेजानेकाहरुलाई सम्झे जो ४० लाख तिरेर उनकै जसरी घरबाट हिडेको ६ महिना वा बर्षदिनमा अमेरिका छिरेका थिए । के उनीहरु पनि मलाई मन्दिप जस्तै त्यो दुखको कहानी सुनाउलान ? के गाउघरका साथि भाइ र आफन्त अनि घरपरिवारलाई सुनाए होलान? कम्तिमा आजसम्म मलाइ चाही सुनाएका छैनन् । यदी सुनाइदिने भए त्यहि बाटोबाट अमेरिका जाने लाइनमा लागेकाहरुलाई कम्तिमा आफ्नो निर्णयमा पुनर्विचार गर्न मद्दत त गर्दो हो ।

होटलको लबी र सिएनएन को लाइभ
होटलको लबीमा 'चेक इन' गर्ने पालो कुर्दै गर्दा भित्तामा रहेको टिभीमा ध्यान गयो । सिएनएनले लाइभ कभरेज गरीरहेको थियो वाशिंगटनको पेन्सिलभेनिया एभिन्युबाट । दृश्यमा हजारौं मान्छेका टाउकाहरु प्रसारीत हुदै थिए, ब्यानरमा लेखिएको थियो "मार्च फर आवर लाइफ" । प्लेकार्डहरुमा अंग्रेजीमा लेखिएको थियो "बन्दुकलाई हैन जीवनलाई माया गर" । कार्यक्रम भैरहेको लोकेशनको बिषयमा रिसेप्सनमा सोधें, होटलबाट १५ मिनटको दुरीमा रैछ हिडेरै जान मिल्ने । मन मच्चीहाल्यो । करिब ४० घण्टाको यात्राको थकान र निन्द्रा समेत बिर्सेर त्यो जनसागर नियाल्न जाने निधो गरें । कोठामा गएर झोला बिसाई, एकसरो नुहाएर म ओर्ले सडकमा । १२ मिनट जति हिडेपछि मानिसहरुको भिडमा छिरें म । भिडले धकेल्दै धकेल्दै पेन्सिलभेनिया एभेन्यु नामको चौडा सडकमा पुर्यायो । यो त्यहि सडक हो जुन अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस देखि अमेरिकी संसद भवनसम्म पुग्थ्यो ।
पेन्सिलभेनिया एभिन्युको मंच 
ओह हो त्यो मानब सागर ! करिब करिब व्हाइट हाउसको उत्तरी नोखदेखि अमेरिकी संसद भवन भएको क्यापिटल हिलसम्मको त्यो चौडा बाटोमा तोरीको गेडापनि नअट्ने भिड थियो । त्यहाँ अमेरीकामा गन फायर अथवा अर्ध स्वचालीत बन्दुकको गोलीबाट बिभिन्न समयमा मारीएका ४०० जनाका परिवारका सदस्य पनि साथै थिए । यो मार्चको आयोजना पार्कल्याण्ड, फ्लोरिडाको एक बिध्यलायामा हालसालै भएको गोलीकाण्डमा बाँचेका बिध्यार्थीहरुले गरेका थिए र उनीहरुलाई साथ् दिन लाखौको संख्यामा सर्वसाधारण उर्लेका थिए सडकमा ।
कार्यक्रम कति ब्यबस्थित र मर्यादित । बक्ता सबै स्कुले बिद्यार्थी । हरेक बक्ता ५ मिनेट भन्दा बढी नबोल्ने । बिचबिचमा विभिन्न शन्देशमुलक सांगीतिक प्रस्तुति । प्रत्यक बक्ताको सबै भन्दा बढी गालि खानेमा नेशनल राइफल एसोसियसन (NRA) र वर्तमान राष्ट्रपति ट्रंप प्रशाशन थिए । ति कलिला युवाहरु भन्दै थिए, "अबको चुनाबमा हामी सबै मतदान गर्ने छौ र बन्दुक प्रेमी हरुलाई नमिठो हार चखाउने छौ ।" 
डिसीको सडकमा उर्लेको मानबसागर (तस्बिर: CBN न्युज)
सन् १७७१ को डिसेम्बर महिनामा गरिएको अमेरिकी संविधानको दोश्रो संसोधनमा "हरेक अमेरिकीलाई हतियार राख्ने अधिकार हुनेछ" भनेर बन्दुक राख्न पाउने कुरालाई संबैधानिक हक बनाइएको रहेछ । सुरुवातमा जनतालाई दमन बिरुद्द लड्ने हक हुने भन्दै बन्दुकले त्यो अधिकार सुरक्षित गर्ने तर्कका साथ यसलाई संबैधानिक हक बनाइयो भनिएता पनि त्यसो गर्नुको पछाडिको नियतको बिषयमा फरक फरक मत पनि देखियो अमेरिकीहरुकै बिचमा । कोहिले भन्थे गोराहरूले आफूभन्दा बलिष्ठ कालाहरुको आक्रमणबाट बच्नका लागि बन्दुकको सहारा लिए त् कोहिले भन्थे नागरिकले आफ्नो सुरक्षा आफै गर्दै परेको बेला राज्यको सुरक्षा समेत गर्नुपर्ने भएकोले जनतालाई हतियारले सुसज्जित पार्न पर्छ भन्ने धारणाले दोश्रो संसोधनमा त्यसो गरिएको हो । कारण जे सुकै होओस, बिरलै संशोधन हुने अमेरिकी संविधानको दोश्रो संसोधनमा हालिएको यो हक हटाउन त्यति सजिलो भने देखिदैन । कारण NRA यति शक्तिशाली छ कि त्यो संबैधानिक व्यवस्था हटाउन चाहने पार्टीको दुइ तिहाइ बहुमत आउन कुनै पनि हालतमा दिदैन । उसो त NRA ले ट्रंपको चुनाबी प्रचारका लागि ३० लाख डलर "चन्दा" समेत दिएको कुरा बाहिर आइसकेको छ । त्यसैले त ट्रंप भन्छन-"स्कुले नानीहरुलाई 'गन फायर'बाट बचाउने हो भने शिक्षकहरुलाई बन्दुक भिराउनु पर्छ" यानकी राइफलको ब्यापार दुगुना ।

क्रमश...
यो पनि पढ्नुहोस् 
अमेरिका डायरी- २ 


No comments:

Post a Comment

Thank you very much for your valuable Comments !