Thursday, May 31, 2018

अमेरिका डायरी -२



कृष्णजीको सरप्राइज कल र गाडीमा ब्रेकफास्ट
बिहान निन्द्रामै थिएँ, फेसबुकको म्यासेन्जरमा कल आयो । आँखा मिच्दै बिस्ताराबाटै उठाएँ । कल मेरा पुराना साथि (उनि म भन्दा सिनियर जरुर हुन् तर जोसंग पनि तत्काल घुलमिल हुन सक्ने उनको गुणले उनलाई जुन सुकै उमेर समुहकासंग सजिलै साथी बनाइदिन्छ ।) कृष्ण भण्डारीको रहेछ । अमेरिका जाने अन्तिम समयसम्म पनि आफ्नो यात्रा विवरण सुनिश्चित गर्न नसकेको मैले अमेरिकामा हुने कुनै पनि साथीभाई अनि आफन्तलाई आफ्नो यात्रा विवरण भनेको थिइन ।
कृष्ण जी र म 

मेरो योजना एक हप्ताको प्यालेस्टाइन भ्रमण पछी इजराइलबाट सिधै अमेरिका जाने भन्ने थियो । त्यो योजना सफल भएको भए म २ दिन पछाडी मात्रै वाशिंगटन पुगेको हुन्थें । तर प्यालेस्टाइन जान इजराइलले ट्रान्जिट भिषा नदिएकोले मेरो त्यो योजना तुहिएको थियो । त्यसैले अन्तिम घडीमा वाशिंगटनको टिकट काटेको मैले कसैलाई खबर गरेको थिइन । तर कृष्ण जीले भने मेरो फेसबुकको पोस्ट मार्फत म वाशिंगटन आइ कुन होटलमा बसेको छु सम्म पत्ता लगाई छाडेछन । कल उठाउदा थाहा भयो उनि त म बसेको होटलको मूल ढोका नजिकै पुगेर फोन गरेका रैछन । हत्तपत्त एकसरो मुख पखालेर सडकमा ओर्लें । उनि त आफ्नो गाडीमा मलाई कुरेर बसिरहेका ! साथमा सबवेको चिकेन र्याप पनि । कृष्ण जिको गाडीमै बसेर 'ब्रेकफास्ट' गरें मैले त्यो बिहान । आज आयोजकले दिनभर डिसी को 'गाइडेड' टुर गराउने योजना थियो । आयोजकको टुर पछि भेट्ने सर्तसहित कृष्ण जी र म छुट्टियौं । 


वाशिंगटन डीसी- नयाँ देशको नयां राजधानी
कृष्ण जी संग बिदा भएपछि कोठामा गएर राम्ररी मुख धोएँ । हिड्न सजिलो हुने पहिरन लगाएर आयोजकले भनेको समयमा होटलको लबीमा भेटिए पछि शुरु भयो हाम्रो सिटी टुर । २० देश बाट आएका २० जना होनहार अभियन्ता थिए हाम्रो समुहमा । साथमा डिपार्टमेन्ट अफ स्टेट्सका तर्फबाट ३ जना लेइजन अफिसर । अनि आजको टुरको लागि गाइड पनि । 
हामी चढेको बस डु पोइन्ट सर्कललाई देब्रे पारेर अगाडी बढ्यो । बसले गति लिंदा नलिदै गाइडले वाशिंगटन डिसीका बारेमा आफुले जानेका कुराहरु भन्न थालीहाले । 'वाशिंगटन' कोलम्बिया डिस्ट्रिकको एक गाउँ जस्तै थियो । तर जब अमेरिकन क्रान्ति पछाडी जुलाई १६ १७९० मा रेसिडेन्स एक्ट मार्फत पोटोम्याक नदीको छेउमा रहेको यो ठाउलाई नयाँ देश 'संयुक्त राज्य अमेरिका' को राजधानी घोषणा गरियो, यसको रुपरंग नै फेरिने भयो । उसो त वाशिंगटन भन्दा अगाडी न्युयोर्क र फिलाडेल्फिया केहि समयका लागि संयुक्त राज्य अमेरिकाको राजधानी थिए ।
सन् १७९१ मा डिजाइन गरिएको वाशिंगटनको नक्सा 
अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वाशिंगटनको सम्मानमा यो शहरको नामकरण गरियो । राजधानी घोषणा भएपछि अत्यन्त मिहिन ढंगले यो शहरको डिजाइन गरिएको थियो । त्यहि भएर यो शहरमा यथेष्ट पार्क अनि खुल्ला ठाउ, सबैको पहुँच भएका अत्यन्त सुलभ र चौडा सडक अनि चित्ताकर्षक सरकारी कार्यालयहरु देख्न सकिन्छ ।  हाम्रो गाइडका अनुशार वाशिंगटन डीसीका हरेक बाटोहरुको नामाकरण बिभिन्न राज्यहरुको नाममा गरिएको छ ताकी कुनै पनि राज्यले देशको राजधानीमा आफ्नो प्रतिनिधित्व नभएको महशुस गर्नु नपरोस । र यो संघिय राजधानीको क्षेत्र (फेडेरल टेरिटोरी) भएकोले वाशिंगटन डीसी कुनैपनि राज्य अन्तर्गत पर्दैन । हामी बसेको होटलको नजिकै रहेको डुपोइन्ट सर्कल चाही सबैभन्दा ठुलो मध्यको एक सर्कल रैछ जहाँ ९ ओटा बाटाहरु मिसिन्छन अनि त्यो बिचमा एउटा मनमोहक पार्क छ ।
गाडी अगाडी बढ्दै गयो । हाम्रा गाइड भन्दै थिए- 'तपाइँ वाशिंगटनमा गगनचुम्बी भवनहरु देख्नु हुन्न । त्यसको कारण छ । वाशिंगटन डिसीमा रहेको वाशिंगटन स्मारकको उचाई भन्दा अग्लो भवन बनाउन नपाइने नियम नै छ ।' न्युयोर्कको फोटोमा सयौंतला अग्ला भवन देखेको र वाशिंगटन डीसीमा पुड्का घरहरु मात्रै देखेर मेरो मनमा उठेको प्रश्नको जवाफ मैले भेटिहाले । डु पोइन्ट सर्कल छोडेको १२ मिनटमा हाम्रो गाडी रोकियो । हामीलाई बसबाट ओर्लिन भनियो । 

व्हाइट हाउसको आँगनमा उभिंदा  
 अमेरिकन राष्ट्रपति निवास र कार्यालय व्हाइट हाउस
बसबाट ओर्लेपछि दायाँ तर्फ नजर लगाउदा एउटा ठुलो पार्क र त्यसको दक्षिणी पुछारमा व्हाइट हाउस यानकी अमेरिकी राष्ट्रपति निवास देखियो । ६.७ एकडमा फैलिएको पार्कको दक्षिणतिर थियो व्हाइट हाउस । सुरुमा 'प्रेसिडेन्ट पार्क' भनिए पनि सन् १८२४ मा यसलाई लाफयेते स्क्वायर भन्न थालिएको रैछ । तत्कालिन अमेरिकन क्रान्तिको बेला अमेरिकी सेनामा काम गरेका फ्रान्सेली नागरिक मार्क्युयास लाफयत्तेको सम्मानमा त्यसो गरिएको रे । त्यो पार्कको बिचमा उनको पूर्ण कदको प्रतिमा समेत देख्न सकिन्छ । 
यहि स्क्वाएरमा तत्कालीन अमेरिकन समाजमा व्याप्त रंग्भेद्का डोबहरू पनि थिए ।  त्यहाको एउटा भूभागमा लेखिएको थियो 'स्लेभ मार्केट' । यो ठाउमा स्लेभहरुको बजार लाग्थ्यो जहाँ काला जातिका 'दास'हरुको खरिद बिक्रि हुन्थ्यो । तपाइँ हामीलाई सुन्दा पनि अचम्म लाग्छ । सम्झनुस हाम्रो तराइ मधेशमा लाग्ने पशु बजार जस्तै यो त्यस्तो हाट बजार थियो जहाँ पशु हैन फलामको सिक्रीले बाधिएका मानिसहरुको खरिद बिक्रि हुन्थ्यो । अहिले अमेरिकाले गरेको भौतिक र समग्र प्रगति देखेर लोभिने धेरै जना अमेरिकाको त्यो बर्बर इतिहासलाइ भने बिर्सिए झैँ गर्छन । तर अमेरिकन आफै भने आफ्नो त्यो कहालीलाग्दो इतिहास संसारलाई बताउदै छन् राष्ट्रपति बस्ने घरकै आगनमा रहेको पार्कमा कुनै बेला 'स्लेभ मार्केट' थियो भन्ने कुरालाई सम्पूर्ण आगन्तुकहरुलाई देखाएर ।

व्हाइट हाउसको आँगनमा म 
लाफाएते स्क्वायरमा बरालिदै केहि बेर हिडेपछी पुगियो व्हाइट हाउसको मुख्य भवनको समिपमै । हाम्रा गाइड लगातार बोलिरहेकै थिए । यस्तो लाग्थ्यो त्यो ठाउको बिषयमा उनले उपलब्ध सबै जानकारी राखेका छन् । उनले ब्याख्या गर्दै थिए- 'व्हाइट हाउसको समग्र एरियालाई इस्ट विंग र वेस्ट विंग भनेर फैल्याईयो जहाँ अहिले बिभिन्न बिभाग/मन्त्रालयहरु छन्" । व्हाइट हाउसको सामुन्नेमा रहेको बाटोमा उभिएर उनि भन्दै छन- "यहाँ पुर्ब स्वीकृति लिएर प्रदर्शन गर्न पाइन्छ ।" अमेरिकन राष्ट्रपतिको नाकै मुनी प्रदर्शन गर्न पाइने कुराले मलाइ रोमान्चित बनायो । तर बिडम्बना त्यहि साता नेपाल सरकारले काठमाण्डौमा निषेधित क्षेत्रको दयारा बढाएर माइतीघर मण्डला लगाएतमा प्रदर्शन गर्न नपाउने सूचना जारी गरेको थियो ।

होटल विलार्ड र 'लबी' सब्दको इतिहास
व्हाइट हाउसको अघिल्तिर उभिएर केहीबेर तस्बिर खिचेपछि हाम्रो पैदल यात्रा अगाडी बढ्यो । व्हाइट हाउसको उत्तरी नोखलाई दाहिने पारेर हाम्रो डफ्फा अगाडी बढ्दै गर्दा एउटा चोकमा गाइडले हामीलाई रोकिन आग्रह गरे । कुरा प्रष्ट थियो उनि कुनै महत्वपूर्ण जानकारी दिदै थिए त्यो ठाउको बारेमा । सबै जना उनको वरीपरी झुम्मीहाल्यौ । चोकबाट पुर्बतिर एउटा भवनलाई देखाउदै उनि धारा प्रवाह बोल्न थालिहाले । त्यो भवनको ऐतिहासिक महत्व रैछ जहाबाट हामीले वकालत र अभियानको क्रममा प्रयोग गर्ने शब्द 'लबी' को जन्म भएको रहेछ । कुरो के रैछ भने त्यो भवनमा कुनै बेला होटल विलार्ड थियो ।
होटल विलार्डको भवन 
सन् १८६९ देखि १८७७ सम्म अमेरिकाका राष्ट्रपति रहेका युलिसिस ग्रान्ट यो होटलमा ब्रान्डी र सिगार खान नियमित जाने गर्थे रे । उनि नियमित त्यहाँ आउने थाहा पाए पछी सरकारलाई आफ्ना मुद्दामा सहमत गराउन वा प्रभावमा पार्न चाहने मान्छेहरु (बिशेषत: व्यापारीहरु) ठिक्क उनि आउने समयमा विलार्ड होटलको 'लबी' मा गएर कुर्ने गर्ने गर्दा रैछन । उनि आएपछि आफ्ना मुद्दाहरु राख्ने र प्रभाव पार्ने गर्थे । त्यहि होटल विलार्ड को लबी मा बसेर आफ्नो मुद्दामा राष्ट्रपतिलाई प्रभाव पार्ने समुहका कारण आजकाल हामीले वकालत र अभियानका लागि प्रयोग गर्ने शब्द 'लबी' र 'लबिष्ट' प्रचलनमा आएको रहेछ ।  

क्यापिटल हिल र काठमाण्डौको सम्झना 
विलार्ड होटल र शब्द 'लबी' को इतिहास जानीसके पछी हामीलाई पुन: बसमा बस्न भनियो । बस विलार्ड होटललाई देब्रे पारेर अगाडी बढ्यो । दाहिने तिर बिशाल पार्क थियो ।

त्यो पार्क तबसम्म सकिएन जबसम्म हामी चढेको बस अमेरिकी संसद भवन 'क्यापिटल हिल' मा गएर रोकिएन । हाम्रा गाइडको उर्दी आयो- अब झर्नुस, हामी अमेरीकी संसदको प्रांगणमा छौं ।  सबैजना झरेर पहिला त फोटो सेसन चल्यो । त्यसपछि गाइडले संसद भवनको संरचनाको बारेमा बोल्न थाले ।
दुइ सदनात्मक कार्यपालीका भएको अमेरिकाको संसद भवनको बायाँ पट्टि 'हाउस अफ रीप्रिजेंटेटिभ' र दाँयापट्टि 'सिनेट' रहेछ । सिनेट भन्दा दांयापट्टि चाही सर्बोच्च अदालत । संसद भवन र अदालतलाई चिरेर जाने बिचमा फराकिलो बाटो पनि । तर संसद भवन बाट अदालतसम्म जानलाई जमिन मुनीको बाटो । यी सबै विवरण सुनेपछि मैले वरिपरी नजर दौडाएँ ।
संसद भवनबाट पश्चिम तिर हेर्दा ह्वाइट हाउस भन्दा पनि पर रहेको वाशिंगटन स्मारक हुदै लिंकन मेमोरियलसम्म फैलिएको बिसाल खुल्ला ठाउ । त्यो खुल्ला ठाउ देख्दा म काठमाडौं सम्झेर निस्सासिएँ केहि बेर । के काठमाडौं यस्तो कहिल्यै बन्ला? यो प्रश्न मनमा आउदा नआउदै म बेचैन भएँ, कस्तो उकुस मुकुस भएर आयो । सोचें सायद अब काठमाडौंमा यति खुल्ला ठाउहरु कहिल्यै बन्ने छैनन । बरु भएका खुल्ला ठाँउ पनि अतिक्रमणको चपेटामा परेर पिर्का जत्रा चउर मात्रै बाकीं रहने हुनकी भन्ने भयले मन उद्देलित भयो । करिब आधा घण्टा जति क्यपिटोल हिलमा बरालिए पछी हामी फेरी बसमा चढ्यौ ।




मार्टिन लुथर किंग र चर्चा नहुने अमेरिकी इतिहास
बस पोटोम्याक पार्कको बिचमा रहेको मनमोहक पोखरी (त्यसलाई ताल नै भन्दा हुन्छ तर बास्तबिक नाम चाही टिदाल बेसिन भन्दा रैछन) लाई दाहिने पारेर अगाडी बढ्यो । त्यतिबेलासम्म फुलिसक्न पर्ने तर यो साल फुली नसकेका चेरीका नांगा बोटहरु हेर्दै हामी अगाडी बढ्यौ । हाम्रो गाइडका अनुशार पार्कमा मनमोहक देखिने गरी हुर्केका ति चेरीका बोटका बिरुवाहरु जापानले अमेरिकालाई उपहार दिएको थियो । ढकमक्क चेरी फुलेर त्यो बातावरण चित्ताकर्षक हुने बेलामा नै हो रे यहाँ 'चेरी ब्लुजम फेस्टिभल' हुने । उता देब्रे पट्टि चाही पाटोम्याक रिभर र त्यसको पारी पेन्टागन र भर्जिनिया राज्य । 
बाटोमै पर्ने थोमस जेफर्सन र फ्रान्कलिन मेमोरियल बसबाटै अबलोकन गर्दै हामी चाही मार्टिन लुथर किंग मेमोरियलमा गएर रोकियौं । आइ ए पढ्दा मलाई निक्कै नै मन छोएको "आइ हयाब अ ड्रीम" पढेपछि म डाक्टर मार्टिन लुथर किंग जुनियरको अघोषित फ्यान भैसकेको थिएँ । उनको बारेमा थप अध्यन गरेपछि र उनले चलाएको रंगभेद बिरुद्दको अहिंशात्मक आन्दोलनको बारेमा बुझेपछि नै हो मलाई अहिंशाको शक्तिका बिषयमा बोध भएको । उसो त गान्धीको अहिंशालाई पनि थोर बहुत नपढेको कहाँ हो र?तर गान्धीका बिषयमा मेरा आफ्नै केहि 'रिजर्भेसन' हरु छन् । डाक्टर किंगको मेमोरियलमा पुग्दा मैले ति तमाम आदिबासी अमेरिकन हरुलाई सम्झे जसको इतिहास आजको अमेरिकी समाजमा निक्कै कम चर्चाको बिषय बनेको छ अथवा भनौ जबर्जस्ती लुकाइएको छ । उनको प्रतिमा मुनी उभिएर ति 'दास' बनाइएका लाखौँ बास्तबिक अमेरिकनहरुलाई मन मनै श्रद्दान्जली पनि दिएँ । र मनमनै सोचें किन आजको अमेरिकी समाजमा त्यो इतिहास त्यति चर्चाको बिषय बन्दैन जति हुनुपर्ने हो? 

लिंकन र भियतनाम युद्द स्मारक
यो त्यहि ठाउ हो जहा उभिएर मरितीं लुथर किंगले आफ्नो
बहुचर्चित भाषण 'आइ ह्याब अ ड्रीम' दिएका थिए 
मार्टिन लुथर किंगको प्रतिमालाई सलाम गरेर फेरी यात्रा जारी रह्यो । अब रोक्किने पालो थियो लिंकन मेमोरियलमा । पूर्व अमेरिकी राष्ट्रपती अब्राहम लिंकनको सम्मानमा बनाइएको यो मेमोरियलबाट पूर्वमा वाशिंगटन मनुमेन्ट र क्यापिटल हिल प्रष्ट देखिन्थ्यो । लिंकन मेमोरियलमा राति तर्साउछ वा अमेरिकी संसदमा लिंकनको भुत आउछ जस्ता अन्धविश्वासी कुरा पनि सुनियो त्यहि बेला । एउटा भब्य भवन भित्र अब्राहम लिंकनको बिशाल प्रतिमा राखिएको रहेछ जहाँ उनि कुर्सीमा बसेका देखिन्छन ।

लिंकनको प्रतिमा रहेको मुख्य भवनको आगनको भुइमा छापिएको एउटा टायलमा अंग्रेजीमा "आइ ह्याब अ ड्रीम" खोपको देखें । हत्त न पत्त गाइडलाइ सोध्न पुगिहाले किन त्यो टायलमा त्यस्तो लेखेको? उनले भने- मार्टिन लुथर किंगले यहि छिडीमा उभिएर तिमीलाई आसाध्यै मन परेको आइ ह्याब अ ड्रीम स्पीच(भाषण) दिएका थिए । छाती धक्क फुलेर आयो । बिभिन्न कोणबाट त्यो टायलको फोटो खिचें । किन किन त्यो टायल मलाई प्रिय लाग्यो । 

अमेरिकाले गर्ब गर्ने यी सबै स्मारक घुमिसकेपछि लिंकन मेमोरियलको उत्तर पूर्वमा रहेको भियतनाम भेटेरान स्मारक पुग्यौं । अमेरिकाले नराम्रोसंग हारेको भियतनाम युद्दमा ज्यान गुमाएका भेट्रान (सैनिक) हरुको स्मृतिमा बनाइएको यो स्मारकको संरचना भने बखान गर्न लायकको छ । सायद अमेरिकीहरुले गर्ब गर्न लायक युद्द नभएर होला यसको संरचना अरु मेमोरियल जस्तो झकिझकाउ र उचो थिएन । स्मारकको उत्तरतर्फको सडकमा हिड्ने जो कोहिले पनि आफ्नो देब्रेतिर भियतनाम युद्द स्मारक छ भनेर खुट्यान सक्दैन । जमिनको सतह भन्दा तल भित्तामा मार्बल र त्यो मार्बलमा युद्दमा ज्यान गुमाउने सैनिकहरुको नाम खोबिएको रैछ ।
भियतनाम भेटेरान मेमोरियल 
मार्बल चाही कस्तो भने कसैको नाम पढ्दै गर्दा आफ्नो आकृती पनि परावर्तन(रीफलेक्ट) हुने । त्यहाँ आउने हरेक आगन्तुकलाई ति सैनिकमा आफुँ देखेको महशुस होओस भनेर त्यस्तो डिजाइन गरेका रे । यदि मारिएका ति सैनिक मध्ये कोहि आफ्नो मान्छे छ र उसको नाम कहाँनिर छ भनेर हेर्न पर्यो भने स्मारक छिर्ने मूल ढोका नजिकै क्याटलग बनाइएको ।

क्याटलगमा चाहीं कसको नाम कति नम्बरको मार्बलमा खोबिएको छ भनेर बिबरण दिएको । यो युद्द स्मारक छिचोलीसक्दा मेरो मनमा भने एउटा प्रश्न खड्कीरह्यो- के अमेरिकाले त्यो युद्दबाट  केहि पाठ सिक्यो ? आजको दिनमा संसारमा मच्चिरहेका युद्धहरुमा अमेरिकाको अग्रणी संलग्नता देख्दा आफैले आफैलाई उत्तर दिएँ- अहं, के सिक्यो होला र खै? त्यो स्मारक घुम्दै गर्दा भियतनाम युद्दमा मारीएका ति अमेरिकी सैनिकहरु सम्झे, तिनका परिवार सम्झे जो सायद आफ्नो इच्छाले मारिनका लागि त्यहाँ गएका थिएनन । साथसाथै अमेरिका संलग्न प्रत्यक युद्दमा बगेका रगतका टाटाहरु टल्किरहेको देखें हरेक मार्बलका परावर्तनहरुमा । ति युद्द्का क्रममा हुने बमबारीमा परी चहर्याईरहेका घाउहरु र डरले चिच्याइरहेका बालबालिकाका आर्तनादहरु गुन्जिए मेरा कानहरुमा । स्मारकको अगाडिको हरियो चौर भरी इराक, अफगानिस्तान अनि सिरियाका उजाड बस्तीहरु देखें । कसैलाई पनि नजिताउने यस्ता युद्धहरु किन छेडीन्छन हँ? अनि संसारमा चलिरहेका ठुला युद्धरुमा अमेरिकी संलग्नता सधैं अग्रणी किन हुन्छ हँ? उसो त युद्दका सरदार अरु 'ठुला' र 'शक्तिशाली' मुलुकहरु पनि छन् । तर अमेरिकी भूमिमा उभ्भीरहदा मलाइ भने अमेरिकी संलाग्नाताकै बिषयमा सोध्न मन लागेको हो । मेरो मनमा खेलिरहेका यी र यस्तै प्रश्नहरुको उत्तर दिन सक्ने हैसियतमा हामीलाई घुमाइरहेका गाइड थिएनन त्यसैले उनलाई सोधिन । भोलिपल्ट अमेरिकी विदेशमन्त्रालयका अधिकारी संग हाम्रो भेटघाट थियो । मनमनै सोचें यी प्रश्नहरु उनीहरुका सामु राख्ने छु यदि उनीहरुले सुन्न चाहे भने ।


भियतनाम वार मेमोरियलको त्यो भ्रमणपछी हामीलाई बसमा राखेर 'अमेरिकी इतिहास संग्रहालय' अगाडी लगेर झारीयो र भनियो- आजको औपचारिक गाइडेड टुर यत्ति नै हो, अब तपाइँहरु आफ्नो पाराले वाशिंगटनमा रहेका अरु महत्वका ठाउँहरु घुम्न सक्नुहुन्छ ।
क्रमश...
यो पनि पढ्नुहोस 

अमेरिका डायरी-१ 

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !