Thursday, May 31, 2018

अमेरिका डायरी -२



कृष्णजीको सरप्राइज कल र गाडीमा ब्रेकफास्ट
बिहान निन्द्रामै थिएँ, फेसबुकको म्यासेन्जरमा कल आयो । आँखा मिच्दै बिस्ताराबाटै उठाएँ । कल मेरा पुराना साथि (उनि म भन्दा सिनियर जरुर हुन् तर जोसंग पनि तत्काल घुलमिल हुन सक्ने उनको गुणले उनलाई जुन सुकै उमेर समुहकासंग सजिलै साथी बनाइदिन्छ ।) कृष्ण भण्डारीको रहेछ । अमेरिका जाने अन्तिम समयसम्म पनि आफ्नो यात्रा विवरण सुनिश्चित गर्न नसकेको मैले अमेरिकामा हुने कुनै पनि साथीभाई अनि आफन्तलाई आफ्नो यात्रा विवरण भनेको थिइन ।
कृष्ण जी र म 

मेरो योजना एक हप्ताको प्यालेस्टाइन भ्रमण पछी इजराइलबाट सिधै अमेरिका जाने भन्ने थियो । त्यो योजना सफल भएको भए म २ दिन पछाडी मात्रै वाशिंगटन पुगेको हुन्थें । तर प्यालेस्टाइन जान इजराइलले ट्रान्जिट भिषा नदिएकोले मेरो त्यो योजना तुहिएको थियो । त्यसैले अन्तिम घडीमा वाशिंगटनको टिकट काटेको मैले कसैलाई खबर गरेको थिइन । तर कृष्ण जीले भने मेरो फेसबुकको पोस्ट मार्फत म वाशिंगटन आइ कुन होटलमा बसेको छु सम्म पत्ता लगाई छाडेछन । कल उठाउदा थाहा भयो उनि त म बसेको होटलको मूल ढोका नजिकै पुगेर फोन गरेका रैछन । हत्तपत्त एकसरो मुख पखालेर सडकमा ओर्लें । उनि त आफ्नो गाडीमा मलाई कुरेर बसिरहेका ! साथमा सबवेको चिकेन र्याप पनि । कृष्ण जिको गाडीमै बसेर 'ब्रेकफास्ट' गरें मैले त्यो बिहान । आज आयोजकले दिनभर डिसी को 'गाइडेड' टुर गराउने योजना थियो । आयोजकको टुर पछि भेट्ने सर्तसहित कृष्ण जी र म छुट्टियौं । 


वाशिंगटन डीसी- नयाँ देशको नयां राजधानी
कृष्ण जी संग बिदा भएपछि कोठामा गएर राम्ररी मुख धोएँ  हिड्न सजिलो हुने पहिरन लगाएर आयोजकले भनेको समयमा होटलको लबीमा भेटिए पछि शुरु भयो हाम्रो सिटी टुर । २० देश बाट आएका २० जना होनहार अभियन्ता थिए हाम्रो समुहमा । साथमा डिपार्टमेन्ट अफ स्टेट्सका तर्फबाट ३ जना लेइजन अफिसर । अनि आजको टुरको लागि गाइड पनि । 
हामी चढेको बस डु पोइन्ट सर्कललाई देब्रे पारेर अगाडी बढ्यो । बसले गति लिंदा नलिदै गाइडले वाशिंगटन डिसीका बारेमा आफुले जानेका कुराहरु भन्न थालीहाले । 'वाशिंगटन' कोलम्बिया डिस्ट्रिकको एक गाउँ जस्तै थियो । तर जब अमेरिकन क्रान्ति पछाडी जुलाई १६ १७९० मा रेसिडेन्स एक्ट मार्फत पोटोम्याक नदीको छेउमा रहेको यो ठाउलाई नयाँ देश 'संयुक्त राज्य अमेरिका' को राजधानी घोषणा गरियो, यसको रुपरंग नै फेरिने भयो । उसो त वाशिंगटन भन्दा अगाडी न्युयोर्क र फिलाडेल्फिया केहि समयका लागि संयुक्त राज्य अमेरिकाको राजधानी थिए ।
सन् १७९१ मा डिजाइन गरिएको वाशिंगटनको नक्सा 
अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वाशिंगटनको सम्मानमा यो शहरको नामकरण गरियो । राजधानी घोषणा भएपछि अत्यन्त मिहिन ढंगले यो शहरको डिजाइन गरिएको थियो । त्यहि भएर यो शहरमा यथेष्ट पार्क अनि खुल्ला ठाउ, सबैको पहुँच भएका अत्यन्त सुलभ र चौडा सडक अनि चित्ताकर्षक सरकारी कार्यालयहरु देख्न सकिन्छ ।  हाम्रो गाइडका अनुशार वाशिंगटन डीसीका हरेक बाटोहरुको नामाकरण बिभिन्न राज्यहरुको नाममा गरिएको छ ताकी कुनै पनि राज्यले देशको राजधानीमा आफ्नो प्रतिनिधित्व नभएको महशुस गर्नु नपरोस । र यो संघिय राजधानीको क्षेत्र (फेडेरल टेरिटोरी) भएकोले वाशिंगटन डीसी कुनैपनि राज्य अन्तर्गत पर्दैन । हामी बसेको होटलको नजिकै रहेको डुपोइन्ट सर्कल चाही सबैभन्दा ठुलो मध्यको एक सर्कल रैछ जहाँ ९ ओटा बाटाहरु मिसिन्छन अनि त्यो बिचमा एउटा मनमोहक पार्क छ ।
गाडी अगाडी बढ्दै गयो । हाम्रा गाइड भन्दै थिए- 'तपाइँ वाशिंगटनमा गगनचुम्बी भवनहरु देख्नु हुन्न । त्यसको कारण छ । वाशिंगटन डिसीमा रहेको वाशिंगटन स्मारकको उचाई भन्दा अग्लो भवन बनाउन नपाइने नियम नै छ ।' न्युयोर्कको फोटोमा सयौंतला अग्ला भवन देखेको र वाशिंगटन डीसीमा पुड्का घरहरु मात्रै देखेर मेरो मनमा उठेको प्रश्नको जवाफ मैले भेटिहाले । डु पोइन्ट सर्कल छोडेको १२ मिनटमा हाम्रो गाडी रोकियो । हामीलाई बसबाट ओर्लिन भनियो । 

व्हाइट हाउसको आँगनमा उभिंदा  
 अमेरिकन राष्ट्रपति निवास र कार्यालय व्हाइट हाउस
बसबाट ओर्लेपछि दायाँ तर्फ नजर लगाउदा एउटा ठुलो पार्क र त्यसको दक्षिणी पुछारमा व्हाइट हाउस यानकी अमेरिकी राष्ट्रपति निवास देखियो । ६.७ एकडमा फैलिएको पार्कको दक्षिणतिर थियो व्हाइट हाउस । सुरुमा 'प्रेसिडेन्ट पार्क' भनिए पनि सन् १८२४ मा यसलाई लाफयेते स्क्वायर भन्न थालिएको रैछ । तत्कालिन अमेरिकन क्रान्तिको बेला अमेरिकी सेनामा काम गरेका फ्रान्सेली नागरिक मार्क्युयास लाफयत्तेको सम्मानमा त्यसो गरिएको रे । त्यो पार्कको बिचमा उनको पूर्ण कदको प्रतिमा समेत देख्न सकिन्छ । 
यहि स्क्वाएरमा तत्कालीन अमेरिकन समाजमा व्याप्त रंग्भेद्का डोबहरू पनि थिए ।  त्यहाको एउटा भूभागमा लेखिएको थियो 'स्लेभ मार्केट' । यो ठाउमा स्लेभहरुको बजार लाग्थ्यो जहाँ काला जातिका 'दास'हरुको खरिद बिक्रि हुन्थ्यो । तपाइँ हामीलाई सुन्दा पनि अचम्म लाग्छ । सम्झनुस हाम्रो तराइ मधेशमा लाग्ने पशु बजार जस्तै यो त्यस्तो हाट बजार थियो जहाँ पशु हैन फलामको सिक्रीले बाधिएका मानिसहरुको खरिद बिक्रि हुन्थ्यो । अहिले अमेरिकाले गरेको भौतिक र समग्र प्रगति देखेर लोभिने धेरै जना अमेरिकाको त्यो बर्बर इतिहासलाइ भने बिर्सिए झैँ गर्छन । तर अमेरिकन आफै भने आफ्नो त्यो कहालीलाग्दो इतिहास संसारलाई बताउदै छन् राष्ट्रपति बस्ने घरकै आगनमा रहेको पार्कमा कुनै बेला 'स्लेभ मार्केट' थियो भन्ने कुरालाई सम्पूर्ण आगन्तुकहरुलाई देखाएर ।

व्हाइट हाउसको आँगनमा म 
लाफाएते स्क्वायरमा बरालिदै केहि बेर हिडेपछी पुगियो व्हाइट हाउसको मुख्य भवनको समिपमै । हाम्रा गाइड लगातार बोलिरहेकै थिए । यस्तो लाग्थ्यो त्यो ठाउको बिषयमा उनले उपलब्ध सबै जानकारी राखेका छन् । उनले ब्याख्या गर्दै थिए- 'व्हाइट हाउसको समग्र एरियालाई इस्ट विंग र वेस्ट विंग भनेर फैल्याईयो जहाँ अहिले बिभिन्न बिभाग/मन्त्रालयहरु छन्" । व्हाइट हाउसको सामुन्नेमा रहेको बाटोमा उभिएर उनि भन्दै छन- "यहाँ पुर्ब स्वीकृति लिएर प्रदर्शन गर्न पाइन्छ ।" अमेरिकन राष्ट्रपतिको नाकै मुनी प्रदर्शन गर्न पाइने कुराले मलाइ रोमान्चित बनायो । तर बिडम्बना त्यहि साता नेपाल सरकारले काठमाण्डौमा निषेधित क्षेत्रको दयारा बढाएर माइतीघर मण्डला लगाएतमा प्रदर्शन गर्न नपाउने सूचना जारी गरेको थियो ।

होटल विलार्ड र 'लबी' सब्दको इतिहास
व्हाइट हाउसको अघिल्तिर उभिएर केहीबेर तस्बिर खिचेपछि हाम्रो पैदल यात्रा अगाडी बढ्यो । व्हाइट हाउसको उत्तरी नोखलाई दाहिने पारेर हाम्रो डफ्फा अगाडी बढ्दै गर्दा एउटा चोकमा गाइडले हामीलाई रोकिन आग्रह गरे । कुरा प्रष्ट थियो उनि कुनै महत्वपूर्ण जानकारी दिदै थिए त्यो ठाउको बारेमा । सबै जना उनको वरीपरी झुम्मीहाल्यौ । चोकबाट पुर्बतिर एउटा भवनलाई देखाउदै उनि धारा प्रवाह बोल्न थालिहाले । त्यो भवनको ऐतिहासिक महत्व रैछ जहाबाट हामीले वकालत र अभियानको क्रममा प्रयोग गर्ने शब्द 'लबी' को जन्म भएको रहेछ । कुरो के रैछ भने त्यो भवनमा कुनै बेला होटल विलार्ड थियो ।
होटल विलार्डको भवन 
सन् १८६९ देखि १८७७ सम्म अमेरिकाका राष्ट्रपति रहेका युलिसिस ग्रान्ट यो होटलमा ब्रान्डी र सिगार खान नियमित जाने गर्थे रे । उनि नियमित त्यहाँ आउने थाहा पाए पछी सरकारलाई आफ्ना मुद्दामा सहमत गराउन वा प्रभावमा पार्न चाहने मान्छेहरु (बिशेषत: व्यापारीहरु) ठिक्क उनि आउने समयमा विलार्ड होटलको 'लबी' मा गएर कुर्ने गर्ने गर्दा रैछन । उनि आएपछि आफ्ना मुद्दाहरु राख्ने र प्रभाव पार्ने गर्थे । त्यहि होटल विलार्ड को लबी मा बसेर आफ्नो मुद्दामा राष्ट्रपतिलाई प्रभाव पार्ने समुहका कारण आजकाल हामीले वकालत र अभियानका लागि प्रयोग गर्ने शब्द 'लबी' र 'लबिष्ट' प्रचलनमा आएको रहेछ ।  

क्यापिटल हिल र काठमाण्डौको सम्झना 
विलार्ड होटल र शब्द 'लबी' को इतिहास जानीसके पछी हामीलाई पुन: बसमा बस्न भनियो । बस विलार्ड होटललाई देब्रे पारेर अगाडी बढ्यो । दाहिने तिर बिशाल पार्क थियो ।

त्यो पार्क तबसम्म सकिएन जबसम्म हामी चढेको बस अमेरिकी संसद भवन 'क्यापिटल हिल' मा गएर रोकिएन । हाम्रा गाइडको उर्दी आयो- अब झर्नुस, हामी अमेरीकी संसदको प्रांगणमा छौं ।  सबैजना झरेर पहिला त फोटो सेसन चल्यो । त्यसपछि गाइडले संसद भवनको संरचनाको बारेमा बोल्न थाले ।
दुइ सदनात्मक कार्यपालीका भएको अमेरिकाको संसद भवनको बायाँ पट्टि 'हाउस अफ रीप्रिजेंटेटिभ' र दाँयापट्टि 'सिनेट' रहेछ । सिनेट भन्दा दांयापट्टि चाही सर्बोच्च अदालत । संसद भवन र अदालतलाई चिरेर जाने बिचमा फराकिलो बाटो पनि । तर संसद भवन बाट अदालतसम्म जानलाई जमिन मुनीको बाटो । यी सबै विवरण सुनेपछि मैले वरिपरी नजर दौडाएँ ।
संसद भवनबाट पश्चिम तिर हेर्दा ह्वाइट हाउस भन्दा पनि पर रहेको वाशिंगटन स्मारक हुदै लिंकन मेमोरियलसम्म फैलिएको बिसाल खुल्ला ठाउ । त्यो खुल्ला ठाउ देख्दा म काठमाडौं सम्झेर निस्सासिएँ केहि बेर । के काठमाडौं यस्तो कहिल्यै बन्ला? यो प्रश्न मनमा आउदा नआउदै म बेचैन भएँ, कस्तो उकुस मुकुस भएर आयो । सोचें सायद अब काठमाडौंमा यति खुल्ला ठाउहरु कहिल्यै बन्ने छैनन । बरु भएका खुल्ला ठाँउ पनि अतिक्रमणको चपेटामा परेर पिर्का जत्रा चउर मात्रै बाकीं रहने हुनकी भन्ने भयले मन उद्देलित भयो । करिब आधा घण्टा जति क्यपिटोल हिलमा बरालिए पछी हामी फेरी बसमा चढ्यौ ।




मार्टिन लुथर किंग र चर्चा नहुने अमेरिकी इतिहास
बस पोटोम्याक पार्कको बिचमा रहेको मनमोहक पोखरी (त्यसलाई ताल नै भन्दा हुन्छ तर बास्तबिक नाम चाही टिदाल बेसिन भन्दा रैछन) लाई दाहिने पारेर अगाडी बढ्यो । त्यतिबेलासम्म फुलिसक्न पर्ने तर यो साल फुली नसकेका चेरीका नांगा बोटहरु हेर्दै हामी अगाडी बढ्यौ । हाम्रो गाइडका अनुशार पार्कमा मनमोहक देखिने गरी हुर्केका ति चेरीका बोटका बिरुवाहरु जापानले अमेरिकालाई उपहार दिएको थियो । ढकमक्क चेरी फुलेर त्यो बातावरण चित्ताकर्षक हुने बेलामा नै हो रे यहाँ 'चेरी ब्लुजम फेस्टिभल' हुने । उता देब्रे पट्टि चाही पाटोम्याक रिभर र त्यसको पारी पेन्टागन र भर्जिनिया राज्य । 
बाटोमै पर्ने थोमस जेफर्सन र फ्रान्कलिन मेमोरियल बसबाटै अबलोकन गर्दै हामी चाही मार्टिन लुथर किंग मेमोरियलमा गएर रोकियौं । आइ ए पढ्दा मलाई निक्कै नै मन छोएको "आइ हयाब अ ड्रीम" पढेपछि म डाक्टर मार्टिन लुथर किंग जुनियरको अघोषित फ्यान भैसकेको थिएँ । उनको बारेमा थप अध्यन गरेपछि र उनले चलाएको रंगभेद बिरुद्दको अहिंशात्मक आन्दोलनको बारेमा बुझेपछि नै हो मलाई अहिंशाको शक्तिका बिषयमा बोध भएको । उसो त गान्धीको अहिंशालाई पनि थोर बहुत नपढेको कहाँ हो र?तर गान्धीका बिषयमा मेरा आफ्नै केहि 'रिजर्भेसन' हरु छन् । डाक्टर किंगको मेमोरियलमा पुग्दा मैले ति तमाम आदिबासी अमेरिकन हरुलाई सम्झे जसको इतिहास आजको अमेरिकी समाजमा निक्कै कम चर्चाको बिषय बनेको छ अथवा भनौ जबर्जस्ती लुकाइएको छ । उनको प्रतिमा मुनी उभिएर ति 'दास' बनाइएका लाखौँ बास्तबिक अमेरिकनहरुलाई मन मनै श्रद्दान्जली पनि दिएँ । र मनमनै सोचें किन आजको अमेरिकी समाजमा त्यो इतिहास त्यति चर्चाको बिषय बन्दैन जति हुनुपर्ने हो? 

लिंकन र भियतनाम युद्द स्मारक
यो त्यहि ठाउ हो जहा उभिएर मरितीं लुथर किंगले आफ्नो
बहुचर्चित भाषण 'आइ ह्याब अ ड्रीम' दिएका थिए 
मार्टिन लुथर किंगको प्रतिमालाई सलाम गरेर फेरी यात्रा जारी रह्यो । अब रोक्किने पालो थियो लिंकन मेमोरियलमा । पूर्व अमेरिकी राष्ट्रपती अब्राहम लिंकनको सम्मानमा बनाइएको यो मेमोरियलबाट पूर्वमा वाशिंगटन मनुमेन्ट र क्यापिटल हिल प्रष्ट देखिन्थ्यो । लिंकन मेमोरियलमा राति तर्साउछ वा अमेरिकी संसदमा लिंकनको भुत आउछ जस्ता अन्धविश्वासी कुरा पनि सुनियो त्यहि बेला । एउटा भब्य भवन भित्र अब्राहम लिंकनको बिशाल प्रतिमा राखिएको रहेछ जहाँ उनि कुर्सीमा बसेका देखिन्छन 

लिंकनको प्रतिमा रहेको मुख्य भवनको आगनको भुइमा छापिएको एउटा टायलमा अंग्रेजीमा "आइ ह्याब अ ड्रीम" खोपको देखें । हत्त न पत्त गाइडलाइ सोध्न पुगिहाले किन त्यो टायलमा त्यस्तो लेखेको? उनले भने- मार्टिन लुथर किंगले यहि छिडीमा उभिएर तिमीलाई आसाध्यै मन परेको आइ ह्याब अ ड्रीम स्पीच(भाषण) दिएका थिए । छाती धक्क फुलेर आयो । बिभिन्न कोणबाट त्यो टायलको फोटो खिचें । किन किन त्यो टायल मलाई प्रिय लाग्यो । 

अमेरिकाले गर्ब गर्ने यी सबै स्मारक घुमिसकेपछि लिंकन मेमोरियलको उत्तर पूर्वमा रहेको भियतनाम भेटेरान स्मारक पुग्यौं । अमेरिकाले नराम्रोसंग हारेको भियतनाम युद्दमा ज्यान गुमाएका भेट्रान (सैनिक) हरुको स्मृतिमा बनाइएको यो स्मारकको संरचना भने बखान गर्न लायकको छ । सायद अमेरिकीहरुले गर्ब गर्न लायक युद्द नभएर होला यसको संरचना अरु मेमोरियल जस्तो झकिझकाउ र उचो थिएन । स्मारकको उत्तरतर्फको सडकमा हिड्ने जो कोहिले पनि आफ्नो देब्रेतिर भियतनाम युद्द स्मारक छ भनेर खुट्यान सक्दैन । जमिनको सतह भन्दा तल भित्तामा मार्बल र त्यो मार्बलमा युद्दमा ज्यान गुमाउने सैनिकहरुको नाम खोबिएको रैछ ।
भियतनाम भेटेरान मेमोरियल 
मार्बल चाही कस्तो भने कसैको नाम पढ्दै गर्दा आफ्नो आकृती पनि परावर्तन(रीफलेक्ट) हुने । त्यहाँ आउने हरेक आगन्तुकलाई ति सैनिकमा आफुँ देखेको महशुस होओस भनेर त्यस्तो डिजाइन गरेका रे । यदि मारिएका ति सैनिक मध्ये कोहि आफ्नो मान्छे छ र उसको नाम कहाँनिर छ भनेर हेर्न पर्यो भने स्मारक छिर्ने मूल ढोका नजिकै क्याटलग बनाइएको ।

क्याटलगमा चाहीं कसको नाम कति नम्बरको मार्बलमा खोबिएको छ भनेर बिबरण दिएको । यो युद्द स्मारक छिचोलीसक्दा मेरो मनमा भने एउटा प्रश्न खड्कीरह्यो- के अमेरिकाले त्यो युद्दबाट  केहि पाठ सिक्यो ? आजको दिनमा संसारमा मच्चिरहेका युद्धहरुमा अमेरिकाको अग्रणी संलग्नता देख्दा आफैले आफैलाई उत्तर दिएँ- अहं, के सिक्यो होला र खै? त्यो स्मारक घुम्दै गर्दा भियतनाम युद्दमा मारीएका ति अमेरिकी सैनिकहरु सम्झे, तिनका परिवार सम्झे जो सायद आफ्नो इच्छाले मारिनका लागि त्यहाँ गएका थिएनन । साथसाथै अमेरिका संलग्न प्रत्यक युद्दमा बगेका रगतका टाटाहरु टल्किरहेको देखें हरेक मार्बलका परावर्तनहरुमा । ति युद्द्का क्रममा हुने बमबारीमा परी चहर्याईरहेका घाउहरु र डरले चिच्याइरहेका बालबालिकाका आर्तनादहरु गुन्जिए मेरा कानहरुमा । स्मारकको अगाडिको हरियो चौर भरी इराक, अफगानिस्तान अनि सिरियाका उजाड बस्तीहरु देखें । कसैलाई पनि नजिताउने यस्ता युद्धहरु किन छेडीन्छन हँ? अनि संसारमा चलिरहेका ठुला युद्धरुमा अमेरिकी संलग्नता सधैं अग्रणी किन हुन्छ हँ? उसो त युद्दका सरदार अरु 'ठुला' र 'शक्तिशाली' मुलुकहरु पनि छन् । तर अमेरिकी भूमिमा उभ्भीरहदा मलाइ भने अमेरिकी संलाग्नाताकै बिषयमा सोध्न मन लागेको हो । मेरो मनमा खेलिरहेका यी र यस्तै प्रश्नहरुको उत्तर दिन सक्ने हैसियतमा हामीलाई घुमाइरहेका गाइड थिएनन त्यसैले उनलाई सोधिन । भोलिपल्ट अमेरिकी विदेशमन्त्रालयका अधिकारी संग हाम्रो भेटघाट थियो । मनमनै सोचें यी प्रश्नहरु उनीहरुका सामु राख्ने छु यदि उनीहरुले सुन्न चाहे भने ।


भियतनाम वार मेमोरियलको त्यो भ्रमणपछी हामीलाई बसमा राखेर 'अमेरिकी इतिहास संग्रहालय' अगाडी लगेर झारीयो र भनियो- आजको औपचारिक गाइडेड टुर यत्ति नै हो, अब तपाइँहरु आफ्नो पाराले वाशिंगटनमा रहेका अरु महत्वका ठाउँहरु घुम्न सक्नुहुन्छ ।
क्रमश...
यो पनि पढ्नुहोस 

अमेरिका डायरी-१ 

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !