Sunday, February 28, 2010

विवाहमण्डपबाटै खोसिइन् बेहुली


विवाहमण्डपमा जब बेहुलाले बेहुलीको सिन्दुर रंगाउन हात उठाउँछ, एकाएक अर्को व्यक्तिको प्रवेश हुन्छ, जसले बिहे रोक्छ र बेहुलीलाई उठाएर लैजान्छ 
फिल्ममा थुप्रै देखिने यस्तो दृश्य बुधबार कपिलवस्तुमा प्रत्यक्ष देखियो । विवाहमण्डपबाट बेहुलीलाई उनका प्रेमीले उठाएर लगे भने बेहुलीको सिन्दुर रंगाउन ठीक परेका बेहुला रित्तो हात फर्के । कपिलवस्तुको पत्थरदेइया-५ चौवाका रामबहादुर सुनारकी छोरी मञ्जुको रूपन्देहीको रुद्रपुर-८ का कुलबहादुर विकसित बिहे हुन लागेको थियो । जन्तीसहित बेहुली लिन आएको विक परिवारले फिल्मी शैलीमा बेहुली अर्कैले लैजाँदा हेरेकोहेर्‍यै हुनुपर्‍यो । मञ्जुको घरदेखि डेढ किलोमिटर टाढा पत्थरदेइया-४ अमलवानिवासी मधु गौतमसित दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको खुलेको छ । बेहुलाकै पहिरनमा हुर्रिंदै आएका मधुले बेहुली लगेमा जन्ती फर्किन नदिने चेतावनी दिएपछि खाली हात फिर्ता पठाएको मञ्जुका बाबु रामबहादुरले बताए । उनका अनुसार मञ्जुले आफ्नो थर फेरेर घिमिरे लेख्दै आएकी थिइन् 
'उसको अर्कैसित लभ परेको रहेछ, हामीलाई थाहा भएन,' रामबहादुरले भने । उनका अनुसार मञ्जुले कुलबहादुरसित बिहेका लागि सहमति जनाएकी थिइन् । तर, विवाहमण्डमा सिन्दुर लगाउने वेला अर्का बेहुला प्रकट भएपछि सबै चकित परेका थिए । मधुले धम्की दिन थालेपछि केही समय तनाव उत्पन्न भएको थियो 
बेहुला रूपन्देही रुद्रपुरका विकले आफूलाई खालीहात पठाएर इज्जतमाथि दाग लगाइएको आरोप लगाएका छन् । जन्ती खाली हात फर्किएपछि घरमा अशुभ हुने भन्दै बेहुला विक परिवारदेखि टाढा गएका छन् । परम्परागत मान्यताअनुसार बिहेका लागि लगनगाँठो कसेपछि बेहुली नआए अर्कै भए पनि बेहुली भित्र्याउनैपर्छ । यता, मञ्जु र मधुलाई लिखित कागज गराएर बिदा गरिएको छ । बिहेपछि मञ्जुले आफ्नो नाटकका कारण विक परिवारलाई दुःख पर्न गएकोमा आत्मग्लानि महसुस गरेको बताएकी छिन् । यता, मन पराएकी बेहुलीलाई श्रीमतीका रूपमा पाउँदा खुसीको सीमा नै नरहेको मधुको प्रतिक्रिया छ । 'यस्तो बिहे कहिल्यै देखेको थिइनँ,' स्थानीय उमेश पौडेलले भने । 

नयाँ पत्रिका
कपिलवस्तु, १३ फागुन

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !