Monday, June 15, 2009

खेल खतरनाक छ, शिखण्डी बाहिर आएका छन् । वास्तविक खेलाडीको खेल हेर्नै अझै बाँकी छ ।

भारतमा ज्ञानीजेल सिंहलाई इन्दिरा गान्धीले राष्ट्रपति बनाइन् । तर, सन् ८४ को दंगामा शिखहरूको आमसंहार भयो, राष्ट्रपति सिंह र प्रधानमन्त्री गान्धीको सम्बन्ध बिगि्रयो । कतिसम्म भने सरकारले राष्ट्रपति कार्यालयको फोन काटिदियो । बाहिर दंगा भइरहेको बेला राष्ट्रपतिले फोनबाट जानकारी लिने मौका पनि पाएनन् । जब कि इन्दिराले भनेको जे पनि मान्छ भनेर गृहमन्त्रीलाई राष्ट्रपति बनाएकी थिइन् । नेपालमा डा. रामवरण यादवलाई पनि गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति बनाउनुभयो । जसले तपाईंलाई राष्ट्रपति बनायो, सम्बन्ध उसैसँग पनि बिग्रन सक्छ भनेर मैले डा. यादवलाई भनेको थिएँ । उहाँ राष्ट्रपति भएको पहिलो भेटमा सायद उहाँले मबाट यस्तो सुझाबको अपेक्षा गर्नुभएको थिएन । - राष्ट्रपतिलाई भेट्ने र सुझाब दिने मेरो कुनै योजना थिएन । तर, उहाँले एकपटक वरिष्ठ पत्रकारहरूलाई रात्रिभोजका लागि बोलाउनुभएको रहेछ । पत्रकारहरूसँग उहाँले भन्नुभएछ, 'कृष्णजी कता हुनुहुन्छ ? म उहाँसँग पनि भेट्न चाहन्छु । एकपटक खबर गरिदिनोस् न है !' पत्रकार मित्रहरूले मलाई खबर ल्याउनुभयो । महामहिम राष्ट्रपतिले मलाई सम्झनुभएछ, ठीकै लाग्यो । तर, मैले उहाँलाई भेट्न खासै चासो देखाइनँ । मेरा लागि भेटौँ भने मैले कतै जागिर खानु थिएन, नियुक्ति लिनु थिएन । उहाँका लागि भेटौँ भने उहाँले पनि राम्रै काम गर्नुभएको थियो । केही गलत गरेको भए पो यो भएन, त्यो भएन भनेर सचेत गराउनु । उहाँ एकजना 'जेन्टलम्यान' राष्ट्रपति हुनुभएको थियो, राम्रै काम गरिरहनुभएको थियो, त्यसैले मैले भेट्न चाहिनँ । - माघको अन्तिम साता राष्ट्रपति कार्यालयबाट मलाई फोन आयो । 'राष्ट्रपतिज्यूले भेट्न खोज्नुभएको छ, तपाईंलाई कहिले फुर्सद होला ?' उताबाट प्रश्न थियो । मेरो पो उहाँसँग काम थिएन, राष्ट्रपतिले नै भेट्न खोज्नुभएको छ भने बेवास्ता गर्नुपर्ने कारण पनि के थियो र ? 'मलाई त जहिले पनि फुर्सद छ,' मैले फोनमै जवाफ दिएँ, 'उताको टाइम मिलाएर फोन गर्नुभए हुन्छ ।' राष्ट्रपति कार्यालयबाट 'टाइम' मिलाएर फोन आयो । म शीतलनिवास गएँ, उहाँकै कार्यकक्षमा भेट भयो । उहाँले सामन्य शिष्टाचारका लागि होइन, एउटा भयंकर योजनाका लागि मलाई भेट्न खोज्नुभएको रहेछ । उहाँले भन्नुभयो, 'तपाईं त नागरिक आन्दोलनका अगुवा, राजाले सत्ता हातमा लिएपछि भदौ ०६२ मा बानेश्वरमा गरेको सभा निकै प्रभावकारी थियो । मलाई अहिले पनि त्यस दिनको झलझली याद आउँछ ।' राष्ट्रपति महोदयले पुराना दिनको याद गर्नुभयो । मलाई निकै खुसी लाग्यो । हामीले त्यस्ता धेरै कार्यक्रम गरेका थियौँ, सुशील कोइराला, माधव नेपाल र झलनाथ खनालजीहरूलाई हुटिङ भए, युवाले डा. पाण्डे -देवेन्द्रराज) र मलगायतका साथीलाई भने ताली दिएका थिए । - राष्ट्रपति भएपछि पनि पुराना दिन राष्ट्रपतिले याद गर्नुभएको रहेछ भनेर एकैछिन मलाई आनन्द लाग्यो । तर, तुरुन्तै उहाँले भनिदिनुभयो, 'यस सरकारविरुद्ध पनि तपाईंहरूले त्यस्तै आन्दोलन सिर्जना गर्नुपर्‍यो ।' म स्तब्ध भएँ, सुरुमा त विश्वासै लागेन । देशका राष्ट्रपति नागरिकलाई भड्काउँदै छन्, 'तपाईंहरूले सरकारविरुद्ध आन्दोलन गर्नुपर्‍यो ।' मैले तपाईंलाई कसैले उक्साएका होलान्, तर तपाईं कुनै दल विशेषको राष्ट्रपति होइन, विदेशीको इसारामा पनि तपाईं चल्नु हुँदैन । तपाईं राष्ट्रिय एकताका प्रतीक बन्नुपर्छ भनेर सुझाब दिएँ । - राष्ट्रपति खतरनाक खेलको हतियार बन्दै हुनुहुन्छ- मलाई प्रस्ट चेतना भयो । तर, अनौपचारिक भेटघाटमा भएको छलफललाई लिएर मैले समाजमा उत्पात मच्चाउन पनि मिलेन । तर, अनिष्ट हुने भो भन्ने थाहा पाएपछि चुप लागेर पनि बस्न सकिनँ । त्यसैले माओवादीका नाममा आएको जनवादीकरण र राष्ट्रपतिको 'कभर' मा हुन लागेको सैनिकीकरणका विरोध भन्दै मैले जिल्ला-जिल्लामा कार्यक्रम गरेँ । पहाडीले के बेमौसको भाषण गर्दै हिँड्यो भनेर धेरैले भने होलान्, तर मैले खतरा आउँदै छ है भनेर घन्टी बजाउन १० जिल्लामा कार्यक्रम गरेको हुँ । - वैशाखको पहिलो साता सेनापति रुक्मांगद कटवालका नाममा प्रधानमन्त्री र राष्ट्रपति आमनेसामने भए । सरकारले सेनापतिसँग स्पष्टीकरण लिएपछि त्यसविरुद्ध राष्ट्रपतिले एककिसिमको अडान लिनुभयो । नागरिक समाजका अगुवाका तर्फबाट हामीले प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्षलाई भेट्यौँ । हामीले राष्ट्रपतिलाई पनि भेट्यौँ । राष्ट्रपतिलाई त अरू धेरैले भेटे । 'तपाईं शक्तिमान् हो, तपाईंले यो गर्नुपर्ने भो, त्यो गर्नुपर्ने भो' भनेर धेरैले अनुनय गरे । तर, हाम्रो भनाइ थियो, 'तपाईं आलांकारिक राष्ट्रपति हो, तपाईंले केही पनि गर्न सक्नुहुन्न, गर्न पाउनुहुन्न ।' - अरूको भेट र सुझाबभन्दा हाम्रो फरक थियो । अरू राष्ट्रपतिले सरकारको निर्णय पुनर्विचार र खारेज गर्न सक्छन् भनेर सुझाब दिँदै थिए । हामीले राष्ट्रपतिले सरकारको निर्णय अनुमोदन गर्न मात्र सक्छन्, पुनर्विचार गर्न सक्दैनन् भन्यौँ । तर, राष्ट्रपतिको 'माइन्ड सेट' अकर्ैै थियो । उहाँ सरकारसँग द्वन्द्व घटाउने होइन, चर्काउने मुडमा हुनुहुन्थ्यो । माघमा भेट्दा नै मैले स्पष्ट सन्देश पाइसकेको थिएँ । उहाँले नागरिक समाजसँगको भेटमा पनि त्यही भनिदिनुभयो । साथीहरू सबै स्तब्ध भए, खगेन्द्र संग्रौलालगायतका साथीहरू त मिडियामा पनि जानुभयो । मैले पनि निराश छु भन्ने प्रतिक्रिया दिएँ । उहाँले बाहिर नभन्नू है भनेर पाँचपटक भन्नुभएको थियो, तर हामी उहाँको आग्रहमा नतमस्तक हुन सकेनौँ । - केही दिनमा सरकारले कटवाललाई बर्खास्त गर्‍यो, त्यही रात राष्ट्रपतिले कटवाललाई पत्र लेखेर काममा यथावत् रहन निर्देशित गर्नुभयो । अर्को दिन प्रधानमन्त्रीले राजीनामा दिनुभयो । २४ घन्टामा घटना यसरी विकसित भए, मान्छे चकित भए । तर, मलाई यो सब पहिले नै थाहा थियो । कटवाल त एउटा बहाना मात्र हुन् । खेल अर्कै हो, राष्ट्रपतिलाई अगाडि ल्याउने योजनाका तहत यो काम भएको हो । - तीन महिना जागिर बाँकी रहेका कटवाललाई हटाएर प्रचण्डले कुनै बहादुरी देखाउनुपर्ने थिएन । तर, माओवादीभित्र पनि निकै ठूलो दबाब थियो । पार्टीभित्रको दबाब त जेनतेन झेल्नुभएको थियो, छिमेकीको दबाब झेलिनसक्नुभयो । अहिले सतहमा देखिन्छ, भारतले कटवाललाई काँध हाल्यो । तर, कटवाललाई होइन, आफ्नो स्वार्थलाई भारतले काँध हालेको हो । गोटीस्वरूप कटवालको जागिर जोगिएको छ, माधव नेपाल प्रधानमन्त्री भएका छन् । - भारत प्रचण्डप्रति यति धेरै रूखो बन्नुका पछाडि निहित कारण छ । कारण के हो भने १२ बुँदे सम्झौतासम्म आइपुग्दा भारत माओवादीप्रति निकै आशावादी थियो । त्यसैले माओवादी चुनाव जितेर सरकारमा आउँदा पनि भारत नकारात्मक थिएन । तर, भारतले सुपुर्दगी सन्धि गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन थाल्यो । त्यही बेला उत्तरतिरबाट चीनले पनि पहिले शान्ति तथा मैत्री सन्धि र पछि सुपुर्दगी सन्धि गर्न दबाब दिन थाल्यो । सन्धिमार्फत चीन र भारत दुवैले नेपाललाई आफ्नो सुरक्षा छातामा राख्ने उद्देश्य राखेका छन् । भारत र चीनले आ-आफ्नो देशविरोधी गतिविधि हुन नदिन र भएमा नियन्त्रण गर्न नेपालमा सुरक्षाफौज राख्न सक्नेसम्मको योजना राखेका छन् । - कुनै पनि प्रधानमन्त्रीका लागि भारत र चीनका यी सर्त मान्न सजिलो छैन । तर, भारतलाई के लाग्यो भने माओवादी चीनप्रति बढी लचिलो छ, त्यसैले उसैको सर्तमा मन्जुर हुन्छ । त्यसैले जसरी पनि प्रचण्डलाई हटाएरै छाड्ने अभियानमा भारत लागेको हो । कटवालको कुरा एउटा निहुँ मात्र हो । त्यही बेलामा कटवालको कुरा उठाउन लगाएर माओवादीभित्र घुसपैठ गरेका मान्छेले भारतलाई सजिलो बनाइदिएका हुन् । तर, कटवालकाण्ड नभएको भए अर्को काण्डबाट पनि भारतले माओवादीलाई सत्ताच्यूत गराएरै छाड्थ्यो । - प्रचण्डले पनि भारतलाई यति साह्रो चिढ्याउन खोजेका होइनन् । भारतसँग सहमतिका लागि उनले अन्तिमसम्म पनि कोसिस गरेकै हुन् । होइन भने अन्तिम समयमा आएर चीनको भ्रमण रद्द किन गर्नुपथ्र्यो ? तर, त्यतिले पनि भारतले चित्त बुझाएन । यति गर्दा पनि भारत सकारात्मक हुँदैन भने सरकार चलाउन सकिँदैन, भारतले दुर्दिन नै देखाइदिन्छ भनेर उनले राजीनामा दिएका हुन् । प्रचण्डले नागरिक सर्वोच्चताका नाममा प्रधानमन्त्रीबाट राजीनामा दिए, त्यसको हामीले स्वागत नै गर्नुपर्छ । तर, अन्तर्वस्तु के हो भने भारत यति नकारात्मक भइसकेको थियो कि अब सरकार चलाउन सकिँदैन भन्ने उनलाई चेत भइसकेको थियो । होइन भने स्वदेशका कुनै ऐरेगैरेको दबाबले उनले राजीनामा दिँदैनथे । प्रचण्ड गए, तर भारतले चाहेजस्तै सुुपुर्दगी सन्धिमा माधव नेपालको सरकारले पनि सही गरिहाल्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीले नै सही गर्दैमा कहाँ हुन्छ र ? अहिले त संसद् छ, संसद्मा छलफल हुनुपर्छ । संसद्मा छलफल हुने हो भने भारतको ठाडो स्वार्थ अनुमोदन हुने सम्भावना छैन । त्यसैले भारत के चाहन्छ भने संसद् पंगु होस्, त्यसैका लागि अहिलेसम्म यी खेल भइरहेका हुन् । - संसद्लाई पंगु बनाउन धेरै खेल भइसके, केही खेल हुन बाँकी छन् । सेनापतिकै विषयमा पनि हेर्नोस् है, सरकारको निर्णय मनासिब नलागे राष्ट्रपतिले सर्वोच्च अदालतसँग राय माग्न सक्थे । म्याद सकिएका आठ जर्नेललाई त काममा र्फकन आदेश दियो अदालतले, म्याद नै नसकिएका कटवाललाई काममा फर्काउन अदालतलाई पनि सजिलो थियो । तर, त्यो प्रयास भएन । त्यस्तै १७-१८ दलले राष्ट्रपतिलाई भेटेर हारगुहार गरे । त्यस्तो बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र लेखेर भन्न सक्थे, 'तपाईंका पक्षमा दलहरूको समर्थन गुमेको देखियो, समर्थन छ भने संसद्मा विश्वासको मत पुष्टि गराएर देखाउनुहोस् ।' आखिर प्रचण्डका विपक्षमा तीन सय ५० सभासद् रहेछन् त, उनको सरकार ढाल्न पर्याप्त संख्या हो यो । तर, संसद्बाट सरकार ढलाउने प्रयास भएन । यसो गर्दा संसद्को सर्वोच्चता कायम हुने भयो, संसद् बलियो हुने भयो । तर, खेल त संसद्लाई पंगु बनाउने न छ, त्यसैले वैधानिक बाटो प्रयोग नै गरिएको छैन, लोकतन्त्रलाई अफापसिद्ध बनाउने खेल भइरहेका छन् । - यति धेरै नेता थिए एमाले र कांग्रेसमा । तर, माधव नेपाललाई नै प्रधानमन्त्री बनाइयो । एउटा त्यस्तो नेता देशको प्रधानमन्त्री भएका छन्, जो दुई-दुई ठाउँबाट चुनाव हारेका हुन् । उनको सट्टा कांग्रेस वा एमालेको अर्को नेता हुँदा तात्त्विक भिन्नता हुन्थ्यो भन्ने होइन । तर, हाम्रो संसद् र संविधानसभाको चुनाव कति अर्थहीन थियो भनेर देखाउने उद्देश्यका साथ माधव नेपाललाई प्रधानमन्त्री बनाइएको छ । संविधानसभा र संसद्प्रति वितृण्णा फैलाउन यो खेल भइरहेको छ । माधव नेपाल पनि एक गोटी हुन् बिचरा, केही महिनामा उनलाई पनि मिल्काएर यसभन्दा पनि तल्लोस्तरको सरकार बनाइनेछ । चारैतिरबाट संसद् र सरकारलाई निकम्मा बनाएपछि सैनिक शासन लगाइनेछ, राष्ट्रपति त्यही खेलमा सहभागी हुनुहुन्छ । उहाँलाई यो सब थाहा छ, तपाईं यो लेखेर राख्नोस्, समय यस्तो आउनेछ, 'राष्ट्रपति डा. यादव र उहाँका नेता गिरिजाप्रसाद कोइरालाबीचको द्वन्द्व सडकमा आउनेछ ।
कृष्ण पहाडी
साभार नयाँ पत्रिका

1 comment:

  1. raMESH JI YO MAHATWO PURNA LEKH BLOGMA RAKHERA RAMRO GARNU BHYO

    ANIL PANDEY

    ReplyDelete

Thank you very much for your valuable Comments !