योदेशलाई 'शान्तिको देश' भनिन्छ । तर, यही देशमा 'अशान्ति' ले जनताको आङ सिरिङ-सिरिङ पार्छ । यो बुद्ध जन्मेको थलो, यही थलोमा युद्धले आफ्नो बेग्लै 'अवतार' लिन्छ । जुनवेला जनयुद्ध आफ्नो विशिष्ट वेग र लयमा उत्कर्ष चुम्दै थियो, पत्रकारहरूले सोधे, 'बुद्धको देशमा किन यस्तो हत्या-हिंसा मच्चाएको ?' विद्रोही दलका तत्कालीन प्रवक्ता कृष्णबहादुर महराले प्रत्युत्तरमा भनेका थिए, 'अहिले जन्मेका भए बुद्धले पनि बन्दुक बोक्ने थिए ।' कमरेड महराले कल्पना गरे होलान्, काँधमा 'एके-द्धठ' भिरेका सिद्धार्थ गौतम !
के भिक्षु आनन्द पनि गौतमबुद्धको त्यस्तै आकृति कल्पना गर्छन् ? आजको परिस्थितिले बुद्धलाई के गर्न प्रेरित गर्दो हो ? प्रश्न सुनेर आनन्दले अनुहार उज्यालो बनाए र मुसुक्क हाँसे । बुद्धदर्शनका यी अनुयायीले हिंसा अनिवार्य छ त कसरी भन्थे ! 'बुद्ध अहिले जन्मनुभयो भने अहिलेको समस्या समाधान गर्ने अर्कै उपाय अपनाउनुहुन्थ्यो,' भिक्षुले आफ्ना गुरुको सायद 'उत्तरआधुनिक यात्रा'को कल्पना गरे, 'देशका प्रमुख पार्टीहरूलाई बोलाएर उहाँले बैठक गर्नुहुन्थ्यो । र, भन्नुहुन्थ्यो कि तिमीहरूले देशको राष्ट्रियता, स्वाधीनता, जनताको दुःखसुख र पीरमर्कामा कत्ति ध्यान दिएनौ । तिमीहरूमा दया, करुणा, इमानदारिता, सहानुभूतिको भाव छैन, दलगत स्वार्थ र कुर्सीमुखी भएका छौ । जनताका सुख, शान्ति र मुलुकको समृद्धिका लागि पदीय लोभ र स्वार्थ त्याग । यो अन्योल र समस्यालाई सहमति, सहकार्य र मेलमिलापबाट समाधान गर ।'
शान्ति, मानवता, दया, करुणा, समझदारी आदिबारे बुद्ध-दर्शनले सघाउनेछ, आर्थिक-सामाजिक परिवर्तन र समाजको व्यवस्थापन गर्न माक्र्सको दर्शनले सिकाउनेछ भिक्षा मागेर खाने 'प्राणी' हो भिक्षु । भिक्षु आनन्दकै शब्दमा भिक्षु 'मानसिक र आध्यात्मिक परिवर्तन गर्ने आन्दोलनकारी' हो । जप, तप, ध्यान, योगको माध्यमबाट चित्त परिवर्तन गर्नुपर्छ भनेर गृहस्थी जीवन त्याग्नेहरू हुन् भिक्षुहरू । चित्त शान्त भए नै संसार शान्त हुन्छ भन्थे बुद्ध । आफ्नो मन पवित्र छ भने संसार सुकिलो देखिन्छ भन्छन्, भिक्षुहरू । गीतकार दुर्गालालले 'फूलको आँखामा फूलै संसार...' भनेजस्तो । त्यही आस्था बेकेका काठमाडौं बलम्बुका यी बालखा आठ कक्षा पढ्दापढ्दै भिक्षु भए । र, लगत्तै बौद्ध अध्ययनका लागि श्रीलंका गए ।
श्रीलंकाबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेपछि बौद्ध दर्शन प्रशिक्षणमा देशविदेश घुमेका यी भिक्षु अहिले चित्त-शान्तिका प्रवचन मात्रै दिँदैनन्, समाजमा शान्ति भए नै मान्छेको मन शान्त हुने हो भन्छन् । त्यसैले त उनी समाज परिवर्तनको मुद्दामा होमिए । बुद्धदर्शनमा आस्था राख्ने उनी राजाको निरंकुश शासनको विरोधमा सडकमा मुठ्ठी कसेर निक्लिए । बुद्धको अनुयायी मुक्तिका लागि कुनै पीपलको रूखमुनि ध्यान बस्न जानुपर्ने, उनी गएनन् । एकान्त खोज्दै सहरबाट टाढा कतै जंगलतिर सोझिएन उनको यात्रा । उनी त गहु्रंगो आवाज र दरिला पाइला लिएर जुलुसको अग्रमोर्चामा उभिए । नागरिक स्वतन्त्रता बहाली गर्न नागरिकको बीचमै बोल्नु उपयुक्त देखे उनले । जनताकै आन्दोलनमा एकाकार हुनुमा आनन्द फेलापारे सायद आनन्दले । त्यो वेला 'अशान्ति' जंगलमा फुलिरहेको थियो, सहरमा पनि डुलिरहेको थियो । 'अशान्ति' झुप्रा-छाप्राका फ्याङ्ला गुन्द्रीमा ढसमस्स बसेको थियो । दरबारका मुलायम सिरानीमा पनि 'अशान्ति'ले नै टाउको अड्याएको थियो । र, त यी भिक्षु विहार, गुम्बातिर 'बुद्धम् शरणम् गच्छामी' भन्न छाडेर 'सडकम् आन्दोलनम् गच्छामी' भन्न थाले, मन्त्र जप्न छाडेर नारा घन्काउन थाले ।
हित्त-चित्तका प्रवचन र ध्यान-योगका आसन छोडेर यी भिक्षु फुत्त सडकमा निस्के । ऊवेलाका बालक पुरुषोत्तम नकर्मी आस्था र अध्ययनले बौद्ध भिक्षु बने र फेरि आपmनै रुचि र दार्शनिक व्याख्यासहित राजनीतिक-आन्दोलनको घुम्तीतिर मोडिए । सांसारिक माया-मोह त्यागेर सन्त-जीवन बाँच्नुपर्ने भिक्षुको चित्तमा राजनीतिको मोह जागेको त हैन ? 'भिक्षुको कर्तव्य चित्त बदल्नु मात्रै हैन, समाज-परिवर्तन पनि उसको दायित्त्वभित्रको विषय हो,' आनन्दले प्रतिप्रश्न गरे, 'समाजमा शोषण, हिंसा, बन्द, हड्ताल भइरहँदा भिक्षु कसरी चुपचाप बस्न सक्छ ? भिक्षुको पनि त एउटा नागरिकको हैसियत हुन्छ । समाजमा चारैतिर अशान्ति, अत्याचार भएका वेला भिक्षुको मन शान्त हुने कुरै हुँदैन । मनमा शान्ति र चयन हुन देशमा शान्ति, विकास र स्थिरता हुनुपर्छ, त्यसै भएर म नागरिक आन्दोलनमा लागेको हुँ ।' भिक्षु भएर पनि यी भिक्षु शुद्ध वस्तुवादी रहेछन् ।
लौ, अब भिक्षुले नै राजनीति गर्न थालेपछि नेता-कार्यकर्ताले के गर्ने ? आनन्दले आपmनो आन्दोलन-संलग्नताको बचाउ गरे, 'भिक्षु समाजबाट दान/भिक्षा लिएर बाँच्ने हो । जब भिक्षुलाई दान दिने समाज नै गरिबीको मारमा छ, अभावले अत्तालिएको छ र भोकमरीले सताइएको छ भने भिक्षुको जीवन कसरी शान्त रहन सक्छ ? समाजको आर्थिक, सांस्कृतिक, राजनीतिक र शैक्षिक विकास हुनुपर्छ, स्थिरता र शान्ति कायम हुनुपर्छ, यै भनेर म परिवर्तन र क्रान्तिको पक्षमा उभिएको हुँ ।' भिक्षुले धाराबाहिक भन्दै गए, 'समुन्नत र समृद्ध मुलुक बनाउन थोरै भए पनि योगदान दिनुपर्छ भन्ने ठानेर म आन्दोलनसित जोडिएँ ।' त्यसो भए भिक्षु महोदय राजनीतिमा योजनाबद्ध लाग्नुभएको हो त ? 'राजनीति मेरो अध्ययनको विषय पनि होइन, रुचिको क्षेत्र पनि होइन,' उनले भने, 'तर, हरेक समाजको जुनसुकै तह र तप्का प्रत्यक्ष वा परोक्ष राजनीतिबाट प्रभावित हुन्छ नै । भिक्षु पनि समाजकै अंग हो । राजनीति गर्ने कि नगर्ने भन्ने बेग्लै कुरा हो । तर, हरेक मान्छे राजनीतिक प्राणी हो ।'
यिस्तै तर्कसहित यी 'राजनीतिक प्राणी' 'रातो' पहिरनमा अन्तरिम संसद्मा छिरे । माओवादीको सिफारिसमा संविधानसभामा पनि सभासद् चुनिए । हिंसात्मक आन्दोलनबाट राजनीतिमा स्थापित माओवादीले अहिंसामा आस्था राख्ने बौद्ध भिक्षुलाई सदनमा पठायो । उनी पनि खुरुखुरु गए । यसरी हिँड्दै जाँदा भिक्षु आनन्द क्रमशः राजनीतिक सत्ताको केन्द्रमै पुग्ने त हैनन् ? उनी भन्छन्, 'म एउटा धार्मिक-आध्यात्मिक व्यक्ति हुँ । आगामी दिनमा पनि सांकेतिक, सन्तुलित र मध्यस्थ भूमिकामा रहनेछु, आध्यात्मिक व्यक्ति भएर नै सामाजिक-सांस्कृतिक न्यायका लागि लाग्नेछु, सक्रिय राजनीति गर्दिनँ ।' यसो भनेरै यी बुद्धपथी भिक्षु कुनै वामपन्थी नेताझैं 'जनपक्षीय' मन्तव्य दिन्छन् । मंगलबार पनि होटल याक एन्ड यतीमा भेटिँदा एउटा अन्तरक्रियामा उनी भारतले नेपालको सीमा मिचेको र निर्दोष जनतालाई गाँस-बासहीन बनाएर लखेटेको बारे भारतीय पूर्वराजदूत केबी राजनलाई ख्यापख्याप पार्दै थिए ।
के बौद्ध-दर्शनले भिक्षुलाई राजनीति गर्ने छुट दिन्छ ? बुद्धनीति र राजनीतिबीच के सम्बन्ध छ ? 'राज्य कस्तो हुने, राज्य-सञ्चालन कसरी गर्ने, राज्यपालकहरूमा कुन-कुन गुण हुनुपर्ने भन्ने बुद्धका थुप्रै उपदेशहरू छन्,' आनन्दले स्मृतिमा शास्त्र पल्टाए, 'उहाँका थुप्रै राजनीतिक सूत्र पनि छन् ।' बुद्धले पनि समाजमै रहेर धर्म-अभ्यास गरेका स्मरण गर्दै उनले भने, 'हिजोको धर्म भन्नु अहिलेको राजनीति हो । हिजो धर्मले न्याय, समानता, सत्य, स्वाभिमान आदिबारे वकालत गथ्र्यो, अहिले त्यो काम गर्ने जिम्मा राजनीतिको हो ।' भिक्षुले आफ्नो राजनीतिक-यात्राको पक्षमा गुरु गौतमबुद्धलाई अघि सारे, 'बुद्धले सबै प्राणी समान छन् । कसैलाई पनि विभेद नगर भन्नुभएको छ । त्यसो भन्नु राजनीतिक कुरा नै हो । अहिलेको राजनीतिले जात, लिंग, नश्ल, काम, धन आदि कुनै पनि आधारमा हेलाहोचो हुन दिनुहुँदैन । हिजो त्यो काम धर्मले गथ्र्यो, अहिले राजनीतिले गर्नुपर्छ ।'
धर्मको काम राजनीतिलाई त दिन सकिएला । तर, राजनीति त हिंसामय छ नि माननीय ! तपाईंका गुरु गौतमबुद्ध शान्तिका पर्यायवाची । तर, तपाईं हिंसात्मक जनयुद्ध र मूठभेडपूर्ण जनआन्दोलनको आधारमा स्थापित सदनमा पुग्नुभएको छ । यसले तपाईंले युद्धलाई मान्यता दिएको अर्थ लाग्दैन ? 'युद्ध भनेको राजनीतिक स्थिरताका लागि हुने हो,' उनले भने, 'राजनीतिक घटनाहरूले नै युद्ध निम्त्याउँछ । राज्यको क्रियाकलाप नै अहिंसालाई महत्त्व दिने हुनुपर्छ ।' समाज-विकास, प्रकृति, राजनीति सबैतिर हिंसा अस्तित्वमा देखिन्छ । हिंसा अनिवार्य नै हो त ? 'हिंसा छ, तर त्यो अनिवार्य होइन । हिंसाले केही समय जित्ला, लामो समय टिक्दैन । संसारमा सत्य छ भने त्यो अहिंसा र मेलमिलापमा छ । हिंसा क्षणिक हुन्छ, अहिंसा दिगो ।'
त्यसो भए माओवादी जनयुद्ध बेकार थियो त ? भिक्षु माननीयलाई अचानक यस्तो 'हिंसात्मक' पाराको प्रश्न-तीर हानियो । 'होइन, त्यो समय र परिस्थितिको आवश्यकता थियो । जनयुद्ध यही समाजको विकृति-विसंगतिको उपज हो, त्यो कतै आकाशबाट यहाँ खसेको होइन,' बडो कूटनीतिक जवाफ दिए उनले । जवाफले हिंसाको समर्थन गर्यो कि जनयुद्धको विरोध गर्यो, कुन्नि ? भिक्षुले जनयुद्धको कार्य-कारण सम्बन्धबारे थप व्याख्या गरे । र, (सायद) जनयुद्धको हिंसालाई अस्वीकार गर्न अन्कनाए, 'मुलुकको आर्थिक, राजनीतिक र सामाजिक विभेदले युद्ध जन्मायो । यो एक्काइसौं शताब्दीमा पनि यहाँ अनेक विभेद र विकृति छन् । तिनै अन्याय, अत्याचारले जन्मायो युद्ध, कसैको रहरले होइन ।' के त्यस्ता समस्याको अहिंसात्मक समाधान थिएन ? गान्धीवादी प्रश्नको उत्तरमा भिक्षुले नेताहरू सम्झे, 'राजनीतिमा संलग्न नेताहरूको क्रियाकलाप, दर्शन, व्यवहार अहिंसालाई महत्त्व दिने हुनुपथ्र्यो । र, मात्रै हिंसा र मेलमिलापको वातावरण बन्ने हो ।'
'संसारमा दुःख छ । दुःखको कारण छ । दुःख निरोध हुन्छ । निरोधको उपाय पनि छ ।' बुद्ध-दर्शनको चार आर्य सत्यले यही भन्छ । संसारमा दुःख भएजस्तै नेपालमा समस्या छ । समस्याको कारण, निरोध र निरोधको उपाय पनि होला ? मुलुकलाई समस्यामुक्त बनाउन अष्टागिंक मार्ग नै अपनाउनुपर्ने आग्रह गरे भिक्षुले । अष्टागिंकमध्ये पनि मूलतः हाम्रा नेतामा सम्यक दृष्टि र सम्यक संकल्प हुनुपर्छ भन्ने लाग्दो रहेछ उनलाई । सम्यक दृष्टि समस्या जस्तो हो, त्यस्तै बुझ्नु र देख्नु हो । 'सही प्रज्ञा हुनु र समस्याको सही मूल्यांकन गर्नु पहिलो काम हुनुपर्छ हाम्रा नेताको,' भिक्षुले भने, 'दोस्रो मार्ग सम्यक संकल्प हो, यसले सही एजेन्डा, सही विचार र सही दृष्टिकोणमा इमानदारिताका साथ प्रतिबद्धता जनाउनुपर्छ ।'
हाम्रा नेताहरू बुद्धपथमा हिँडेदेखि देश समृद्ध हुने हो कि ! कि देशको नेतृत्व भिक्षुहरूलाई नै दिऊँ माननीय ? त्रिविको प्राध्यापन पेसा छाडेर सदनतिर आएका ४२ वर्षे यी माननीयले भिक्षुहरूमा नेतृत्वको गुण हुने दाबी गरे, 'तर, नेताहरूमा भिक्षुको गुण छैन, जुन अत्यावश्क छ ।' किन भिक्षु-गुण अत्यावश्यक ? के हाम्रा नेताहरू पनि गेरुवस्त्रमा मन्त्री-क्वार्टर छिर्नुपर्ने ? 'भिक्षुहरूको जस्तो नेताको पनि त्यागी, मध्यस्थ र सन्तुलित जीवनशैली हुनु अनिवार्य छ,' उनले भने, 'भिक्षु-रूप धारण गर्नुपर्छ नै भन्ने होइन, तर स्पष्टवादी र सबै किसिमका अतिवाद त्यागेको चाहिँ हुनैपर्छ ।' (ल, नेता महोदयहरू, भिक्षु बन्ने हिम्मत गर्नुहोला !) आनन्दले जोड दिँदै भने, 'भिक्षु त सामाजिक र आध्यात्मिक नेता नै हो नि ।'
देशमा उदारवादी र इमानदार नेतृत्वको अभाव देखेका छन् भिक्षुले । यस्तोवेला नेपालको चिन्ता गर्दै कार्ल माक्र्स र गौतमबुद्ध एउटै टेबलमा बैठक बसे भने कस्तो निष्कर्ष निस्कन्थ्यो होला ? प्रश्न सुनेर भिक्षु मन्द-मन्द मुस्कुराए, साँच्चै प्रफुल्ल मुद्रा ! र, उनी हँसिलो हुँदै बोले, 'त्यो एकदमै अविस्मरणीय र बिल्कुलै उच्चस्तरको संगम हुने थियो । त्यो छलफल नेपाललाई विश्वमै उत्कृष्ट, समृद्ध, शान्तिपूर्ण र सुविधासम्पन्न भूमि बनाउने निचोडमा पुग्ने थियो । नेपालको अहिलेको आवश्यकता पनि त्यही नै हो ।' भिक्षु झन्झन् हौसिँदै र रमाउँदै बोल्न थाले । कार्ल माक्र्स र गौतमबुद्धको संगमबारे सोच्दा मात्रै आनन्दको चित्त कति आनन्दित ! 'मान्छेको हृदय परिवर्तन गर्ने, मानसिक शान्ति दिलाउने दर्शन बुद्धसँग छ,' दुई दर्शनबीच तुलना गर्दै उनले भने 'समाजको आर्थिक परिवर्तन र भौतिक सुख-सुविधा कसरी जुटाउने भन्ने सिद्धान्त माक्र्ससँग छ । त्यसैले अहिले हाम्रो देशमा ती दुवै दार्शनिकको संयुक्त नेतृत्वको खाँचो छ ।'
भिक्षुले क्रमशः भन्दै गए, 'मानिसलाई भौतिक सुख-सुविधा मात्रै भएर पुग्दैन, मानसिक शान्ति र सन्तुष्टि पनि चाहिन्छ । अनि, चित्त-शान्तिले मात्रै जीवन पूर्ण हुँदैन, भौतिक सुविस्ताको पनि खाँचो हुन्छ । शान्ति, मानवता, दया, करुणा, समझदारी आदिबारे बुद्ध-दर्शनले सघाउनेछ, आर्थिक-सामाजिक परिवर्तन र समाजको व्यवस्थापन गर्न माक्र्सको दर्शनले सिकाउनेछ । दुवै एकै ठाउँमा भए यो नेपाल आर्थिक र भौतिक हिसाबले समृद्ध हुनेछ र आध्यात्मिक हिसाबले पनि उत्कृष्ट तपोभूमि र शान्तिभूमिमा परिणत हुनेछ । बौद्धमार्गीले सजिलै भौतिक सुविधाको उपभोग गर्न पाउनेछन् । माक्र्सवादीले पनि लुम्बिनीमा ध्यान, योग गर्न सक्नेछन् ।' आनन्द फेरि पनि मुस्कुराए, 'मान्छेलाई खानपिन पनि चाहिन्छ, मानसिक शान्ति पनि चाहिन्छ । त्यसैले दुवै दार्शनिकको संगम अहिले नेपाललाई चाहिएको छ ।'के भिक्षु आनन्दको जीवन पनि बुद्ध र माक्र्सको फ्युजन हो ?
साभार : नयाँ पत्रिका
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !