गत चैतमा सम्पन्न एसएलसी परीक्षाको परीक्षाफ़ल शुक्रबार प्रकाशित भयो जसमा जम्मा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइ । नतिजाअनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भए । बाँकी ५२.५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए । भनौं उनीहरुलाई अयोग्य भइस् भनेर परीक्षा नियन्त्रण कार्यालयले ठप्पा लगाइदियो ।
प्रवेशिका परीक्षामा सामेल भएका पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीमध्ये के पास भए भनिएका चानचुन २ लाख मात्र ‘योग्य’ विद्यार्थी थिए ? यदि त्यसो हो भने बहुसंख्यकलाई अयोग्य वा असफल बनाउने हाम्रो शिक्षण प्रणाली अनि ठूलो मात्रामा राज्यले शिक्षामा गरेको लगानी के यो सफल छ ? कि कुरा अर्कै हो ?
सर्वप्रथमत: हामीले बारम्बार सुन्दै आएको एउटा वाक्यांशमाथि ध्यान केन्द्रित गरौं- “नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको छ ।” अहिले प्रवेशिका परीक्षाको नतिजा आउँदा सारा देश तरंगित छ, तर तर त्यसरी तरंगित पार्ने विद्यार्थीहरु नै कि शिक्षित वा अर्धशिक्षित बेरोजगार भएर निस्कन्छन् । आज उफ्रिनेहरु पनि विश्वविद्यालयको पढाइ सकेर सर्टिफिकेट लिइसकेपछि अब के गर्ने भनेर चौबाटोमा छटपटाइरहेका होनहार युवाबारे मौन हुन्छन् । उनीहरुबारे देश केही बोल्दैन, नत लेखकहरु केही लेख्छन् । विश्वविद्यालयले पनि कुन विषय किन पढाइरहेका छौ भन्ने कुरामा अनविज्ञ छ अनि विद्यार्थीहरु पनि किन पढ्दै छु भनेर कहिल्यै सोच्दैनन् ।
प्रवेशिका परीक्षामा ‘डीस्टिंगसन्’ ल्याएर ‘साइन्स’ पढ्नेलाई थाहा दिइँदैन ऊ किन साइन्स पढ्दैछ, मानविकी पढेर के हुन्छ । विश्वविद्यालय पढ्दा म आफैले पनि यस्ता प्रश्नबारे कहिल्यै बुझिनँ नत कमर्स पढेर मैले के गर्ने भनेर मेरो भाइलाई थाहा छ । हामी पढ्यौ, खुब पढ्यौ किनकि हामीलाई परीक्षा पास गर्नु थियो, ‘राम्रो अंक’ ल्याउनु थियो ।
परिवारको चाहना थियो राम्रो अंक ल्याओस्, त्यसकै खातिर पढ्यौं । तर किन पढ्यौं ? न परिवारले यसबारे सोच्यो नत मेरो विश्वविद्यालयले नत मैले नै सोचें । जब ‘डीग्री’ पास गरेर सर्टिफिकेट हातमा आयो अनि बल्ल सोच्न थालें : मैले के पढें र के सिकें ? आखिरीमा मैले जीवन उपयोगी सीप केही सिकेनछु, सिकेछु त केवल कुरा गर्न सिकेछु, परीक्षा पास गर्न मात्र सिकेछु तर आफ्नो जीवन निर्वाह गर्ने सीप त मसँग केही रहेनछ । अनि म बेरोजगार नभएर को हुन्छ ?
‘म’ पात्र प्रतिनिधि भए पनि यो हालत सबैको साझा हो । अनि त्यो चौबाटोमा उसले देख्ने एकमात्र विकल्प खाडी मुलुकबाहेक के हुन सक्छ ? मेरो विचारमा पैसा धेरै तिरेर युरोप, अमेरिका जाने कुरा अपवादजस्तै हो । अनि के हाम्रो जिन्दगीको ऊर्जाशील समयको २०/२२ वर्ष (विद्यालयको ११ वर्ष अनि कलेजको ११ वर्ष) को अनवरत दौड (कहिले पास हुने दौड, कहिले फर्स्ट हुने दौड)को अन्तिम विन्दु आखिर खाडी मुलुक हो ? किन हामी हाम्रा नानीहरुलाई खाडी पुग्ने बाटोमा दौडाइरहेका छौं ? किन राज्य सोच्दैन : एउटा युवालाई स्वदेशमै स्वरोजगार बनाउन हाम्रो शिक्षा प्रणालीले सकेको छैन ?
बुर्जुवा शिक्षा बहिष्कार गर्न लगाउने कम्युनिस्टहरुले पनि वैकल्पिक शिक्षा यस्तो हुन्छ भनेर कहिल्यै देखाउने चेष्टा गरेनन् । न तिनले आफू सत्तामा हुँदा यस्ता प्रश्नको जवाफ दिने प्रयत्न गरे नत हिजो भन्ने गरेको ‘बुर्जुवा शिक्षा’भित्रकै कमजोरीमाथि बहस चलाउन चाहे । तिनलाई सत्तामात्र सर्वेसर्वा भयो तर सत्तामा पुगेपछि शिक्षाका क्षेत्रमा ल्याउने आमूल परिवर्तनका कार्यक्रम तिनका लागि गौण बन्यो । तिनीहरु पनि बेरोजगार उत्पादन गर्ने कारखाना कलेज र क्याम्पसलाई आफ्ना अन्धभक्त ‘विद्यार्थी नेता’ उत्पादन गर्ने वर्कसपको रुपमा विकास गर्नमा तल्लीन रहे र सृजनशीलताको हत्या शृंखलाको मतियार बने ।
अघिल्ला वर्षका अनुभव हामीसँग छन्, एसएलसीको परीक्षाफ़ल प्रकाशित भएसँगै कैयौंले आत्महत्या गरेका छन् र यो प्रक्रिया यसपालि पनि दोहोरिएको छ । तर हामीले कहिल्यै के सोचेनौ भने जीवन सिकाउनुपर्ने शिक्षाले किन किशोरकिशोरीलाई मारिरहेको छ ? राज्यले कहिल्यै के सोच्ने आवश्यकता महसुस गरेन भने किन उसले शिक्षामा गरेको लगानीले यी किशोरकिशोरीलाई फाँसीको फन्दासम्म पुग्ने बाटो देखाइरहेछ ?
वास्तवमा कसैलाई फेल गराउने र कसैलाई पास गराउने अनि श्रेणी छुट्याएर मान्छेको वर्गीकरण गर्ने ‘ग्रेडिङ’ पद्दति नै खराब छ । हाम्रो शिक्षा प्रणालीले पास हुने, अझ राम्रो श्रेणीमा नाम आउने सर्वोत्कृष्ट मान्छे र फेल हुनेहरुलाई नालायक र अक्षम मान्छे हुन भन्न सिकाएको छ । के वर्षौंदेखि पढेको कुरा ३ घण्टामा लेख्न सक्नु मात्रै सफलता वा विफलता तथा उत्कृष्टता र निकृष्टताको कसी बन्न सक्छ ?
हाम्रो शिक्षा प्रणालीले ‘फेल’ भएका भनिएकाहरुभित्रको आत्मसम्मान र फरक क्षमतामाथि निर्मम प्रहार गरेको छ । तिनीहरुभित्रका ‘परीक्षामा लेख्न सक्ने’ बाहेकका लाखौं सम्भावनाको ढोका सधैंका लागि बन्द गरिदिएको छ । ‘पास’ र ‘फेल’को घृणित खेल खेलेर राज्यले ‘फेल’ भनिएकाहरुभित्र जीवनप्रति नकारात्मकताको बीजारोपण गरेको छ र जीवन बेकार छ भन्ने हदसम्मको धारणा जबर्जस्ती विकास गरिदिएको छ ।
प्रत्येक वर्ष कलिला नानीहरुको हत्या भइरहेको छ तर हामी सबै मौन छौं । किनभने परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक विद्यार्थीको निधारमा लगाइदिने ‘पास’ र ‘फेल’ ठप्पालाई अनुमोदन गरेर हरेक विद्यार्थीभित्रको सृजनशीलताको हामी पनि हत्याको मतियार बनिरहेका छौ ।
adhikarismit@gmail.com
twitter- @rameshsmit
रमेश अधिकारी
अधिकारी सामाजिक अभियन्ता र अध्येता हुन् ।
२१ जुन २०१५ मा www.esamata.com प्रकाशित
No comments:
Post a Comment
Thank you very much for your valuable Comments !