Saturday, December 17, 2011

कथा: म एक्लो छैन


सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म झ्यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । त्यो त्यस्तो आकृति जो मेरो अतितमा प्रिय थियो र अब मात्र कल्पनामा मसंग छ । मन एकाग्र छ । निकै बर्षसम्म आाधिहुरी बोकेर द्वन्दमा फसेको मन आज एकमग्न हुदा ममा अनौठो अनुभूतिको सञ्चार भइरहेको छ । मोटर र कुकुरको भुकाइका आवाज मनको एकाग्रतामा संगीत भरिरहेका छन् । मैले भनेनी चन्द्रमामा कसैकोे आकृति कोर्दै छु । साना साना नशालु आखा, स्पष्ट फराकिलो निधार, हिमचुली झै सेता दन्तलहर हाँस्दाखेरी अस्पष्ट तर आकर्षक खाल्डो पर्ने गालाहरु, चुम्बनको तृप्ति मेटाउने खालका ओठहरु यि सबै बनाउन भ्याउछु म त्यो कल्पनाको आकृतिमा । अब मनमोहक छोटो कपाल भर्न थाल्दछु आकृतिमा । एक पाटो त भर्छु कुम कुम सम्म झारेर तर जब अर्को पाटो भर्ने सुर कस्छु, एउटा कारुणिक आवाजमा मेरो कल्पनाको लहर ठोक्किन्छ र टुट्छ स्मृतिको निरन्तरता ।
अहो ! कति चर्को, कारुणिक र पिडा मिश्रति आवाज ? मेरो ध्यान पुरै खिच्दछ त्यो आवाजले । मेरा कान त्यो आवाज पछ्याउनमा ब्यस्त हुन्छन् अब । यस्तो लाग्छ आवाज मेरो छेउमै आउदैछ र लाग्छ छोप्दैछ मलाई त्यो आवाजले । केहिबेरको रुवाई, अलिबेरपछि हाँसो अनि एकैछिनमा छट्पटाहट, लौन कस्तो अनौठो आवाज ! जब आवाज एउटा अस्तब्यस्त आकृति संगै मेरो कोठाको समिपमै आईपुग्छ, म बल्ल ठम्याउछु आवाज उनै कबिको रहेछ । हो त आवाज त तिनै असन्तुलित कविकै हो । धेरै समयको अन्तरालपछि कवि मेरो कोठाछेउ आएर आफ्ना असंगठित कविता बाचन गर्दैछन् ।
काठमाण्डौ कोठा कोठाभित्र निदाइसकेको छ । कवि भर्खर जागेका छन् । धेरैपटक सुनेको छु ति कविका अकविताहरु मैले । उनका अकविताहरु सधैजसो छेउछाउमा सुतिसकेका मान्छेहरुलाई गरिएका गाली त्यसमा आफ्नै ताली अनि  भुस्याहा कुकुर, आफ्नै अगाडिको पर्खाल र बिजुलीको खम्बा प्रतिको आक्रोशले भरिएका हुन्छन् । तर अचम्म आज उनका अकविताहरुको विषयबस्तुमा आमूल परिबर्तन छ । उनको आजको अनियन्त्रित मन्तब्य आक्रोशले त भरिएको छ तर सदाका झै खम्बा, कुकुर, पर्खाल र निदाइसकेका मेरा टोलबासीप्रति हैन एउता निश्चित ब्यक्तिप्रतिको गुनासो सहितको आक्रोश  ।
दुनियाको नजरमा बहुला तर मेरो बुझाइमा कवि त्यो निर्भिक मान्छे बोल्दै छ, बस् बोल्दै छ । उ भन्छ, "म कसरी निष्ठुरी र लाक्षी हुन सक्तछु , कसैलाई गहिराइमा नबुझि यसो भन्न पाइन्छ ?
पाइन्छ ?
हैन किन कोहि बोल्दैन ?
पाइन्छ भनेको ?
कि जसलाई जे भन्न पनि छुट छ यो दुनियामा ?
कि म अचानो हु जति चोटपनि सहनुपर्ने ?
प्रश्न सिलसिलाबद्ध नभए पनि मार्मिक लागे मलाई । मलाई थाह छैन संसाझै निदाइसकेको काठमाण्डौले सुन्यो कि सुनेन ति मार्मिक प्रश्नहरुको बिश्रृखलित सृंखला । तर मरो मुटमा भने अन्तर गहिराई सम्म पुग्न सफल भए ति । अब म यि प्रश्नहरुका बारेमा गम्दै सोचमग्न छुु ।
ढक्रक्क आवाज !
मेरो ध्यानमग्नता पुन झयाल बाहिरतिर दौडन्छ । लौन मेरा कवि त खम्बामा टाउको ठोक्दै रुदैपो छन् । केहि बेरको रुवाई पछि रक्ताम्य टाउको उठाएर उनि फेरि बोल्छन्-
"के दुनियामा बोलेर मात्रै प्रेम हुन्छ ? अब्यक्त प्रेम, के त्यो सम्भव छैन यो समाजमा ? ओइ समाज किन बोल्दैनस् ? साला सब सुतिसकेछन्, भुस भइसकेछन् "
म चिन्तित भएँ सबै सुतेको थाह पाएर उनले कतै आफ्ना अकविताको बाचन सिलसिला नै टुङ्गयाउलान कि भनेर । वरिपरिका सबै आजित भइसक्दा पनि मैले चाहिन कि उनि चुप लागुन् । यो यस अर्थमा कि सधै अश्लिल शब्दमा तथानाम गाली गलौजका वाक्य ओकल्ने उनका ओठहरुबाट आज उनि भित्र दन्किरहेको ज्वालामूखिको लप्का निस्किइरहेछ । यस्तो लागिरहेछ उनि आज रित्तिन चाहन्छन मनभित्रको पिडा बिसाएर । त्यसैले सबै सुतेका छैनन् भन्ने भेउ दिन कृतिम रुपमा खोकिदिन्छु म । बिचबाटोमा घोप्टी परेका मेरा कवि धङ्गधडाउदै उठ्छन् र मेरो झ्यालपट्टि फर्केर फेरी बोल्छन्-
" तिमी सुन्दैछौ ? "
मलाइ लाग्यो आफ्ना बिलौना सुनिदिने कोहि चाहन्छन उनि । म कोठाबाट कौसीमा निस्कन्छु । उनि हाँस्छन् " ओइ काठमाण्डौ देखिस मलाई पनि सुन्ने कोहि छ । तिमी भन त भाइ म मरो बाध्यतामय भूमरीमा परेको बेला मौन रहन पाउछु कि पाउदिन ? "
जुनको मधुरो प्रकाशमा मुन्टो हल्लाउछु पाउछौ भन्ने संकेत दिन ।
" बास् पाउछु होईन ? अनि कसरी म लाक्षी भए ? "
अब भने ममा प्रतिक्रिया दिने ल्याकत हराउछ । के भनौ, कसरी भनौ । म अन्तरद्धन्दमा फस्छु । म उनका प्रश्नलाई बेवास्ता गर्न पनि त सक्तिन किनकी तिनले मलाई छोएका छन अन्तरमनको गहिराईमा । म त्यो सडकमा (वहुला) कवि होईन आफूलाई देख्छु । देख्छु विचबाटोमा बसेर म चिच्याईरहेको छु, खम्बामा टाउको ठाकिरहेको छु । मलाई लाग्यो मैले पनि होस गुमाईसके अब सायद । उता कबि बोल्दैछन् "कति निकृष्ठ छ यो दुनिया । प्रेम पनि भनेर गर्नुपर्ने । कस्तो देखावटी र भ्रामक समाज यो, प्रेम जस्तो पबित्र चिजमा पनि समयसिमा हुने । भाइ ! भनत प्रेममा पनि यतिबेला भनेको भए हुन्थ्यो अब ढिला भइसक्यो भन्ने हुन्छ ?" उत्तर को अपेक्षा सहित प्रश्नको बाण हान्छन् म माथि उनि । तर बाण उत्तर लिएर र्फकनुको साटो मलाई नै अर्धमूर्छित बनाउदै मुटुमा गडेर बस्छ । आखिर म पनि ठ्याक्कै त्याहि प्रश्न बोकेर निर्जर जीवन ब्यथित गर्दैछु कहि समय यता । लागिरहेछ कतै यि कवि मेरा प्रश्न मलाई नै सोधेर मरो घाउमा नुनचुक छर्दै त छैनन् ?
म कोठामा फर्केर पर्दा बन्द गरी बत्ती निभाउछु । कविले पत्थर मार्छन् मेरा झ्यालउपर । दुईचार पत्थरले पनि केहि नलागे पछि उनको आवाज टाढिदै गयो, सायद उनि हिडे । उनि त हिडे तर मेरो मनमा ज्वारभाटा उठाएर हिडे । जतन गरेर बन्द गरीराखेको अतितको पर्दा उघि्रयो । सम्झन थाले ति दिन । सानु थिई अतितको काहानीकी नायिका । उ नाच्न थाली मेरो स्मृतिमा । छाटो कद, छोटै कपाल, सेतो वर्ण, हरियो कुर्ता सलवार र हसिलो मुहार । लौन अघि मैले चन्द्रमामा बनाएको आकृति जस्तै ! मेरो मुटु चिरिने गरी हाास्न थाली ऊ । एकैछिन नाची, केहिबेर हाासी र आखिरीमा दाहिने हात हल्लाउदै क्षितिज पारी पुगीहाली । म रन्थनिए, छट्पटाए । भित्रभित्रै निश्सासिए म । लामो श्वास तानी ठूलो आवाज निकालेर बोलाउन मन लाग्यो, सानु....!!!!!!!!!  तर सकिन । बाक्यै फुटेन । रातको यो सन्नाटामा त्यति ठूलो आवाजमा बोलाउन त अघिको कवि हुनुपर्दछ ।
बल्ल बुझे मेरा कवि किन पागल भएको नाटक गर्दैछन् । सध्य भएर रातिमा चिच्याउन नमिलेर नै सायद उनि पागल भएको अभिनय गर्दैछन ।  तैपनि चिच्याउन मन लागेर आयो । यसपाली त चिच्याउनै आटेको थिए, फोनको घण्टी बज्यो ।
उठाउन चाहिन काटिदिए । पुन अतितको श्रृंखलालाई जोड्न चाहे, बिफल भए ,सकिन । फेरी घण्टी बज्यो । यसपाली भने उठाए । फोन बाल्यो, खाना खायौ । मनमा शितल भएर आयो । आवाज प्रियाको थियो । यो त प्रिया थिई, त्यो सानु होईन जसले मेरो अब्यक्त प्रेमलाई बुझ्न सकिन जसको बुझाइमा प्रेममा पनि समय सिमा हुन्छ । यो आवाज त प्रियाको थियो जो प्रेमलाई जीवन ठान्छे र कसैको भावनालाई टुक्र्याउनु उसको जीबनलाई बर्बाद पार्नु हो भन्छे ।अब म उसलाई सानुझै म गुमाउन चाहन्नथे अब्यक्त प्रेमको ज्वालामूखि बोकेर । प्रियालाई सानु बन्न दिन्न भन्ने निश्चय गरी मनको सागर उनिसामु छताछुल्ल बनाउने अठोट गरेको छु । अघि एक्लो बहुला कविभित्र आफूलाई पाउने म अहिले सोचिरहेछु म एक्लो छैन ।
समाप्त

रमेश अधिकारी (अधिकारी स्मित)
हेमजा-६, सुइखेत, कास्की
हाल अनामनगर ३२- काठमाडौँ
adhikarismit@gmail.com

Tuesday, December 13, 2011

आजकल मेरो गाउँमा

आजकल मेरो गाउँमा,
डन्डी बियोलाई क्रिकेटले,
रत्यौलिलाई लाउड स्पिकरले,
स्कूल मा खेलिने नाटकहरु लाई हिन्दी सिनेमाले,
"कल को पानी".. भन्ने लोक गित लाई "कोलाबेरी".........भन्ने दक्षिण भारतीय गीतले,
बनभोजको आफै साग, दाल, भाट पकाएरा खाने रमाइलो लाई पिकनिकको क्याटरिंगले,  
दाउरा बाल्ने चुलो लाई ग्याँस चुलोले,
गाउँमा पारिने सुद्द कोदोको रक्सीलाई बहुराष्ट्रिय ब्रान्ड रोयल स्ताग र सिग्नेचर ले,  
पानी रोटीका डल्लालाई मो: मो: का डल्लाले,
ढिडो अनि रोटो पिठोको खाजालाई चाउ चाउ अनि कुकिज्का पकेट हरुले, 
गाउँले भेला हरुलाई एन जी ओ का मिटिंग हरुले,
सुन जस्तै धान फल्ने खेत हरुलाई पल्टिंग गरिएका घदेरिहरुले, 
हामीले खरको छानो हुदै टिन को छानो हालेको स्कुल लाई बोर्डिंग स्कुल ले,
अनि 
ठुला जापानिज रेडियोहरुलाई साना मोबाइल का भाँडा हरुले 
विस्थापन गरिसकेछन................ओ हो त्यो मेरो गाउँ अनि यो मेरो गाउँ 
हामी साँची परिबर्तन भएछौ, आफ्नै बारीको गहुँ बेचेर झोलामा आउने आटा खान थालेछौ,
घरमा कोदोको धिँदो खादा इज्जत जाने हामी महंग रेस्टुरेन्ट मा मिलेट पोरिज मगाउन थालेछौ,
सुलीमा राखेको मकै बेचेर कर्न फ्लेक्स किन्न थालेछौ, 
ओ हो हामी त बिकसित भएछौ 
- रमेश अधिकारी