![]() |
Picture Credit: The Kathmandu Post |
हामी २१ औं सताब्दिका नेपाली
हामी बुद्दका देशका नेपाली
हामी सगरमाथाको उचाइमा गर्व गर्ने नेपाली
तर,
हामीलाई हेक्का छैन
हाम्रो सोचको होचाई सगरमाथाको उचाई भन्दा बिशाल छ
हामी भित्र भित्रै हुर्केको हिंशा
बुद्धको अहिंशा भन्दा भयानक छ
२१ औं सताब्दिका सभ्य भनिने हामी नेपाली
कुकुरलाई संगै सुताउछौ
तर दलितलाई आगन सम्म टेक्न दिदैनौ
बिरालोलाई काखी च्यापेर हिड्ने हामी
मानवले छोएको खादैनौ
तर,
तरपनि हामी तथाकथित प्रगतिमा गर्व गर्छौ
सडेगलेका संस्कार र संस्कृतिको रछ्यानमा उभिएर
हामी गर्व गर्छौ जनावरलाई ओछ्यान अनि
दलित भनिने शिपधारी मानवलाई रछ्यान भन्ने धर्म माथि
हामी २१ औं सताब्दिका नेपाली
असमान धरातलमा उभिएका दुइ थरि नेपाली
हामी कामीले बनाएका औजारमा बाँच्छौ
तर कामीलाई छुन चाहन्नौ
दमाईले सिलाएका कपडामा आफ्नो व्यक्तित्व खोज्ने हामी
दमाई नांगै भएको देख्दैनौ
उसलाई खाली खुट्टा हिड्न लगाएर
सार्कीले सिलाएका जुत्तामा ठाटीएर हिड्नमा मख्ख पर्छौ
हामी २१ औं सताब्दिका सचेत भनिने नेपाली
हामी ढोंगी र पाखण्डको भरमा बाचेका नेपाली
मन्दिर बनाउने कलिगड़का लागि हामी मन्दिर प्रबेसमा रोक लगाउछौ
धारा बनाउने डकर्मी दाइलाई पानी थाप्न दिदैनौ
अन्न बालि लगाइदिने हलीदाइको को परिवार भोकमरिले मर्दा
मन नछुने हामी ५ तारे होटेलको खाना नरुच्ने भएका छौ
हामी २१ औं सताब्दिका आदिम नेपाली
श्रमलाई लात्याउछौ, भ्रमलाई पुजा गर्छौ
श्रमिकलाई अछुत बनाउछौ, शोषकलाई महान बनाउछौ
श्रमलाई कहिल्लेई सम्मान गर्न नजान्ने हामी
ठगि र कमिशनमा बच्न पल्केका छौ
२१ औं सताब्दीको बैज्ञानिक युगमा बाचेका भनेर दाबी गर्ने हामी नेपाली
त्यस्तो अन्धबिस्वासी र पाखण्डी मानसिकतामा उभिएका छौं
जहाँ
ढुंगालाई देवता भन्दै दुध खुवाइन्छ र
मान्छेलाई बोक्शी भन्दै गु-मुत खुवाइन्छ
भनाइमा हामी २१ औं सताब्दिका सचेत नेपाली
यथार्थमा भित्रभित्रै कुहिएका अचेत नेपाली
(नोट: भूपी सेरचनको हामी कविता लाई भाग १ मानेकोले यो कविता हामी भाग २ हुन आएको हो)
अधिकारी स्मित (रमेश अधिकारी) २०६९ श्रावन ४