Tuesday, October 30, 2012




तिमिसंग गरेका बाचा मैले कहाँ भुलेको छु र ?
मूल बाटो बिराएर अन्त कहाँ डुलेको छु र ?

तिम्रो दिल मा फुल्न सकिन र त के भयो
अरुको जीवनमा पनि मैले कहाँ फुलेको छु र ?

तिमि र म कुनै बेला साथी भन्दा माथि भएउ
तिम्रो जिन्दगीमा मैले आंधी कहाँ हुलेको छु र ?

समयले कठिन छनौट राखिदियो मेरो सामु 

के रोजे के छोडे भनि मैले कहाँ खुलेको छु र ?

छरप्रस्ट छन अतित हरु टुक्रिएको मुटुभरी
छरिएका यादहरु मैले कहाँ बटुलेको छु र ?

Tuesday, July 31, 2012

म त्यस्तो देश मा बस्छु


कविता – म त्यस्तो देशमा बस्छु
-रमेश अधिकारी
@rameshsmit  



म त्यस्तो देश मा बस्छु 
जहाँ,
भूकम्पले घरबार गुमाएकालाई चिसोमा कठान्ग्रिएर मर्न लगाइन्छ
काठमाडौँमा महल हुनेहरुलाई सरकारी 'सुबिधाको प्याकेज ल्याइन्छ
जहाँ,
नेता भ्रस्टचारी, व्यापार कालोबजारी र युवा बेरोजगारीले थिचिएका छन                                    
कार्यकर्ता चाकरी, बेकम्मा कर्मचारी अनि जनता ऋणको भारीले किचिएका छन 
जहाँ,
राज्य कमाजोर अनि डाँका, गुन्डा र तस्करहरु शक्तिशाली छन 
देश चलाउनेको मुखमा सबै प्रति समभाव हैन समुदाय लक्षित गाली छन्
जहाँ,
जसले पैसा तिरेर पढनै सक्दैन उसको धेरै पढ्ने सङ्कल्प छ 
स्वास्थ्य र शिक्षा ब्यापारको सबै भन्दा उत्तम विकल्प छ 
जहाँ,
राजनीति जनसेवा हैन स्वजन शेवाको पर्याय बनिएको छ 
एनजीओका प्रोजेक्टलाई मात्र समाजसेवा र स्वयमसेवा भनिएको छ
जहाँ,
मान्छेहरु कालगतिले कम, रोगब्याधी र दुर्घटनामा बढी मारिन्छन 
सीटामलको अभाबमा दुर्गमका जनता मृत्युबरण गर्न बाद्य पारिन्छ्न
जहाँ,
इतिहाँसको बिरताको ब्याख्या गर्दै बर्तमानमा कायर जीवन बाँच्नेहरु पर्याप्त छन 
भोको पेटमा रास्ट्रीयताको आलाप भर्न लगाउने अन्ध राष्ट्रबादीहरू ब्याप्त छन 
जहाँ,
आफुलाई समाजबादी, कम्युनिस्ट अनि जनपक्षीय भन्नेहरु आफैमा पथभ्रस्ट छन 
आफुलाई प्रजातन्त्रको पर्याय भन्ने हरु निरंकुशताको अभ्यास गर्नमा ब्यस्त छन 
अनि,
जहाँ
खाडी जाने १५ सय युवाको लाइन बिमानस्थलमा हरेक दिन छरप्रष्ट छ
अधिकार माग्नेका लागि प्रहार गर्ने राष्ट्रवादको सरकारी अस्त्र छ


त्यस्तो देश मा बस्ने मलाई कसैले भन्छ- 
गर्व गर नेपाली हुनुमा, बिर गोर्खाली हुनुमा 
म कसरी गर्ब गरुँ??
जबकी म आफ्नै आँखा अगाडी 
हरेक क्षेत्रका अगुवा भनिनेहरु भ्रस्ट भएको देख्छु 
भविष्यका आफ्ना सपना छरप्रस्ट भएको देख्छु 
कागजमा स्वास्थ्य शिक्षा नि:शुल्कगरेको देख्छु 
कर्णाली र सुदुर पश्चिममा हैजाले मान्छे मरेको देख्छु 
धनि र हुने खानेका सन्तानले मात्रै पढेको देख्छु 
तीक्ष्ण र जेहेन्दारहरुका सपना डढेको देख्छु 
खाडीका मरभूमिमा नेपाली राष्ट्रियता जलेको देख्छु
अरुहरुको इशारामा आफ्नै देश चलेको देख्छु 
यति भन्दै गर्दा,
तिमि मलाई राष्ट्रघाती वा देशद्रोही भने पनि भन
म मेरो देशलाई घृणा त गर्ने सक्दिन 
तर छाती फुलाएर गर्व गर्न पनि सक्दिन 
किनकि,
प्रकृति र भूगोल मात्र देश हैन
त्यो भूगोलमा बस्ने मान्छे पनि देश हुन् 
एक जना मान्छे पनि आफैमा देश हो 
 म पनि देश हूँ
त्यसैले,
मलाई म आफैं प्रति पनि गर्व छैन

Thursday, July 19, 2012

हामी भाग-२


Picture Credit: The Kathmandu Post

हामी २१ औं सताब्दिका नेपाली 
हामी बुद्दका देशका नेपाली 
हामी सगरमाथाको उचाइमा गर्व गर्ने नेपाली 
तर,
हामीलाई हेक्का छैन 
हाम्रो सोचको होचाई सगरमाथाको उचाई भन्दा बिशाल छ 
हामी भित्र भित्रै हुर्केको हिंशा 
बुद्धको अहिंशा भन्दा भयानक छ 

२१ औं सताब्दिका सभ्य भनिने हामी नेपाली 
कुकुरलाई संगै सुताउछौ 
तर दलितलाई आगन सम्म टेक्न दिदैनौ 
बिरालोलाई काखी च्यापेर हिड्ने हामी 
मानवले छोएको खादैनौ 
तर,
तरपनि हामी तथाकथित प्रगतिमा गर्व गर्छौ
सडेगलेका संस्कार र संस्कृतिको रछ्यानमा उभिएर 
हामी गर्व गर्छौ जनावरलाई ओछ्यान अनि 
दलित भनिने शिपधारी मानवलाई रछ्यान भन्ने धर्म माथि 
हामी २१ औं सताब्दिका नेपाली 
असमान धरातलमा उभिएका दुइ थरि नेपाली 
हामी कामीले बनाएका औजारमा बाँच्छौ
तर कामीलाई छुन चाहन्नौ 
दमाईले सिलाएका कपडामा आफ्नो व्यक्तित्व खोज्ने हामी 
दमाई नांगै भएको देख्दैनौ 
उसलाई खाली खुट्टा हिड्न लगाएर 
सार्कीले सिलाएका जुत्तामा ठाटीएर हिड्नमा मख्ख पर्छौ

हामी २१ औं सताब्दिका सचेत भनिने नेपाली 
हामी ढोंगी र पाखण्डको भरमा बाचेका नेपाली 
मन्दिर बनाउने कलिगड़का लागि हामी मन्दिर प्रबेसमा रोक लगाउछौ
धारा बनाउने डकर्मी दाइलाई पानी थाप्न दिदैनौ  
अन्न बालि लगाइदिने हलीदाइको को परिवार भोकमरिले मर्दा 
मन नछुने हामी ५ तारे होटेलको खाना नरुच्ने भएका छौ 

हामी २१ औं सताब्दिका आदिम नेपाली 
श्रमलाई लात्याउछौ, भ्रमलाई पुजा गर्छौ 
श्रमिकलाई अछुत बनाउछौ, शोषकलाई महान बनाउछौ
श्रमलाई कहिल्लेई सम्मान गर्न नजान्ने हामी 
ठगि र कमिशनमा बच्न पल्केका छौ 

२१ औं सताब्दीको बैज्ञानिक युगमा बाचेका भनेर दाबी गर्ने हामी नेपाली 
त्यस्तो अन्धबिस्वासी र पाखण्डी मानसिकतामा उभिएका छौं 
जहाँ 
ढुंगालाई देवता भन्दै दुध खुवाइन्छ र 
मान्छेलाई बोक्शी भन्दै गु-मुत खुवाइन्छ
भनाइमा हामी २१ औं सताब्दिका सचेत नेपाली 
यथार्थमा भित्रभित्रै कुहिएका अचेत नेपाली 

(नोट: भूपी सेरचनको हामी कविता लाई भाग १ मानेकोले यो कविता हामी भाग २ हुन आएको हो)

अधिकारी स्मित (रमेश अधिकारी) २०६९ श्रावन ४ 

Wednesday, June 6, 2012

सपनीमा आयौ




आफ्नो हक लगाउन सपनीमा आयौ फेरी
सुसुप्त मन जगाउन सपनीमा आयौ फेरी

सामान्यकृत भईसकेथ्यो दिनमा भोक रातमा निन्द्रा
 भोक निन्द्रा भगाउन सपनीमा आयौ फेरी

मन खोलेर नत बोल्ने न हाँसोको शितल र्छर्ने
चुपचाप कुरा चपाउन सपनीमा आयौ फेरी

शिथिल थिए तनका चाह मनका कुना शुन्य त्यस्तै
चिसो देह रपाउन सपनीमा सपनीमा आयौ फेरी

स्मृतिमा त्रि्रो तस्वीर धुमिल हुदै थियो क्यारे
दिलमा याद छपाउन सपनीमा आयौ फेरी

व्यस्ततामा अल्मलिदै तिम्लाई भुल्दै थिएँ सायद
मुखमै नाम जपाउन सपनीमा आयौ फेरी

Monday, May 21, 2012

बहिनीलाई जन्मदिनको सुभ–कामना !


निकट भविष्यकि Chartered Accountant बहिनि कृति

करिब ५ बर्ष अगाडी शुरुमा मेरी बिद्यार्थी र पछाडी मनले स्विकरिएकी मेरी बहिनि कृति प्रधान को १७ औं जन्म दिनको अबशर मा सुभकामना दिन मैले लेखेको पत्र..... त्यति बेला कृति भर्खर एस.एल.सी. को परीक्षामा बिशिस्ठ श्रेणीमा उत्तीर्ण भइ सबैको मनमा हर्षको संचार गर्दै थिइन्.... आज उनि चार्टर एकाउन्तेन्तको (Chartered Accountant) लिखित परीक्षा पास गरि इन्टरनशिप (Internship) गर्दै छिन.... केहि समय पछाडी नै उनि एक अब्बल चार्टर एकाउन्तेन्त बन्ने छिन्.... स्कूल देखि नै तीक्ष्ण कृतिको यो सफलताको यात्रामा म त्यतिनै खुशी छु जति उनि आफै छन्.... आज फेरी भन्न मन लागेको छ "कृति तिमीप्रति मलाई गर्व छ, सफलताको यो यात्रा अनबरत अगाडी बढीरहोस"


२०६४ भाद्र १३

प्यारी बहिनी कृति, 
धेरै धेरै बधाइ छ १६ बर्ष पार गरेकोमा

आज तिमी १७ औं बर्षमा प्रबेश गर्दै छौ । मेरो मनमा असंख्य शुभकामना भरिएको छ । म बझ्छु आफ्नी बहिनीको जन्म दिनमा एउटा दाजुका मनभित्रका यि भावहरु स्वभाविक छन् । तर कता कता यस्तो लाग्छ म अलिक बढि भावुक र खुशी छु । खुशी यसकारण कि म हिजोकी कृति जो भर्खर विद्यालयको पढाइमा ब्यस्त थिइ त्यसलाई होइन आजकी कृति जो फलामे गेटमा आफूलाई अत्यन्त सफल र उत्कृष्ठ सावित गरेर आफन्त र सुभचिन्तकहरुलाई खुशीको भकारी टक्राइदिएकी छ, त्यसलाई जन्मदिनको शुभकामना दिदै छु । र भावुक यसकारण कि कसैको जीवनमा बिरलै जुट्ने रगतको भन्दा पनि दरिलो नाता भावनात्मक रपमा स्विकारिएकी बहिनीको जन्मदिनको सुभ–कामनाका खाँतिर सब्दहरु खर्चदै छु ।

सत्य कृति त्यो नतिजा प्रकाशनको दिनमा खुशी हुनेहरुको भीडमा सायद म पनि अग्रपंतिमै थिँए । त्यो सफलतामा मेरो हर्षले तिम्रो जीवनमा कुनै अर्थ राखे पनि नराखे पनि म खुशी हुनत पाएनी होइन ? हो त्यस पल म अत्यन्त खुशी थिँए किनकी मैले देखेका असंख्य सपना मध्य जीवनमा पहिलोपटक एउटा सपना साकार भएको थियो त्यो दिन । त्यो सपना तिमीलाई आधार बनाएर देखेकाले सपनारुपी रथको सारथी तिमी थियौ । यहाँनिर त मैले धन्यवाद दिनु पर्ला सपनाको रथ सफलतापूर्वक यथार्थको स्टेशनसम्म ल्याइपु¥याइदिएकोमा । त्यसो त यो कुरा तिम्रा वास्तविक इश्वर बाबुआमाका हकमा अझ बढि लागू होला । म बुझ्छु अवश्य पनि एउटा सन्तानको सफलतामा असल बाबुआमा भन्दा बढि खुशी हुने संसारमा कोहि पनि हुनै सक्तैन । वास्तबमा त्यो दिन ति दुइ किसानले लगाएको बाली तिमी लहराऊदो र मनमोहक भएर फूलिदिएकी थियौ र सायद ति मिहेनती किसान त्यो फुलेको मनमोहक बालीलाई हेरेर साचेभन्दा बढि प्रतिफलको आशा गर्दै थिए । हो तिमी यतिबेला  मनमोहक र आकर्षक भएर फूलिदिएकी छ्यौ तिम्रा बाबुआमा रुपि किसानका आशा रुपि खेतहरुमा । तर फल लाग्न त अझै बाँकी नै छ । त्यसैले तिमी सचेत हुनुपर्दछ कि कतै ति लहराऊदा फूलहरु असिनाले नझारोस् र कतै यस्तो नहोस् फूलजति हिलोमा झरुन र बालीको नाँउमा एक दाना अन्न पनि घरभित्र नभित्रियोस् । म यो पत्र लम्ब्याउँदै छु यसकारण कि तिमी यो बुझ्न सक्षम होऊ, यो समाजमा धेरै सम्भावना बोकेका तिमीजस्तै फूलहरु झारेर बोट रित्याउने असिनाहरु बहुरप धारण गरेर बसेमा छन् । ति कति प्रष्ट वा स्थूल ९अयलअचभतभ० त कति अस्पष्ट वा सुक्ष्म ९बदकतचबअत० रुपमा यत्रतत्र सर्बत्र छन् । तिनलाई पहिचान गर्न सक्नु नै यतिबेलाको तिम्रो चूनौति हो ।

प्रथमतः त्यो असिना हाम्रो सामाजिक संरचना र यहाँ ब्याप्त असमानता नै हो । यहि सामाजिक संरचनाका कारण पारिजातकी ‘बोनी’ कसरी हिलोमा पोखिई र माटोमा बिलाई त्यसबारे तिमी अनबिज्ञ छैनौ । म तिमीलाई त्यहि अन्तत्वगत्वा अस्थित्वनामेट हुन बाध्य बोनी भएको देख्न चाहन्न । यदि बोनी झै यो बिकृत समाजको कुसंकारमा फँस्नु छ भने अहिल्यै जीवनलाई बिश्राम देऊ त्यो बरु सबैकालागि स्वकार्य हुनेछ । तिमीलाई याद छ बोनी उपन्यासमा पारिजातले बोनीलाई सम्बोधन गरेर लेखेको एउटा वाक्य ? “तिमी आँफूभन्दा माथिकालाई आँफू सरह बनाउन खोजिनौ बरु आँफूपनि उनिहरु भएतिरै उक्लन खोज्यौ”। हो यहि एउटा वाक्य याद गरिरह्यौ र आफ्नो बर्गिय हैसियत अनुशार आफ्नो जीवनशैलीलाई समायोजन गर्न सक्यौ भने, म विश्वस्थ छु तिम्रा बाबुआमा जो परिजात हुन यतिबेला र तिमी जो बिग्रनु पूर्वकी बानी हौ, यि दुबैले उपन्यासको अन्तिम तिरकी बोनी र पारिजातको नियति भोग्नुपर्ने छैन ।

उसो त तिमी आफै बुझकी छ्यौ । “घाँटी हेरी हाड निल्नु” भन्ने नेपाली उखानलाई सारमा बुझकी छ्यौ । तैपनि जीवनको यो सत्र बर्षे उमेरमा बिभिन्न उत्सुकताहरुले मनभित्र अनेक छालहरु ल्याइदिन्छन् र थोरै मात्र चुकियो भने तिनै प्रदुषित छालमा जीवन लहरिन कत्तिबेर हुदैन । यसर्थ म चाहन्छु तिमी समयको छालमा लहरिन होइन समयलाई आफ्नो अनुकूल हिडाउन यत्नशिल हुनेछ्यौ । कम्तीमा तिमी आफ्ना अविभावकको पसिनाको कदर गरी उनिहरुप्रति बफदार हुनेछ्यौ र आफ्नी बहिनीको लागि आदर्श दिदी भई मार्गदर्शक बन्नेछ्यौ । आफ्ना अविभावकले थापेको ‘नाङ्गले पसललाई लात मारेर सुपरमार्केटमा सपिङ्ग गर्न’ जानेछैनौ बोनी झैँ ।

कृति ! आज म काठमाण्डौ भइन, तिम्रो जन्मदिनमा प्रत्यक्ष भेटेर शुभकामना दिने ईच्छा पुरा गर्न सकिन वा भनौ त्यो अवशरबाट बञ्चित भएँ । तर फोनमै सहि मैले त्यो इच्छा पुरा त गरेँनी ? र सायद मैले बाचा पनि गरको छु कि उपहारका साथमा  कुनैदिन म आफै उपस्थित हुनेछु शुभकामनासहित तिम्रा सामुमा । मैले तिमीलाई दिन चाहेको उपहार लेखक मोदनाथ पश्रितको “नारी बन्धन र मुक्ति” नामको किताब हो । भलै यसका लेखक यतिबेला राजनैतिक हिसाबले जुनसुकै कित्तामा किन नहोउन, किताब भने पठनिय र मननयोग्य छ । मरो चाहना छ फुर्सदको समय निकालेर यो पुस्तक तिमी अद्योपन्त पढ्ने छ्यौ र नेपाली समाजको बिकासक्रम र त्यसमा नारीको स्थानका बारेमा सामान्य जानकारी हासील गर्नेछ्यौ । 

अन्त्यमा जीवनमा तिमीले देखेका हरेक सपनाले एकमुष्ट रुपमा यथार्थको रुप धारण गरी तिम्रो सफलताको ढोका ढक्ढक्याउन आईपुगुन र ति यथार्थलाई संगालेर निसंकोच आफ्नो पोल्टामा सजाउन सक, एकपटक फेरि जन्मदिनको असंख्य सुभ–कामना र साथमा उज्वल भविश्यको सदिक्षा पनि ल !!!

                                                            
तिम्रो दाजु
रमेश अधिकारी
बमजष्पबचष्कmष्त२नmबष्।िअयm