फुटेका खुट्टा फाटेका चप्पल कलेठी ओठमा ।
तिन्बिसे उमेर थाप्लामा नाम्लो भैसीको गोठमा।।
गोड्नुछ मकै रोप्नुछ कोदो गहुँनि काट्नुछ ।
ल्याउनुछ घास चिटिक्क घर आगन राख्नुछ ।।
धानको बिऊ राख्नुछ आजै हलगोरु खोजेर ।
बकेर्नो भैसी झार्नुछ दुध अन्नपात् पोसेर ।।
कर्करी खान्छ हात र गोडा दुखाइ ढाडको ।
नातिनी छोरा जाउत भेट्न बाटोछ टाढाको ।।
फोनको घन्टी बझ्छकी भन्दै राखेर गोजीमा ।
सन्तानले फोन गर्छनकि भन्दै आमाको खोजीमा ।।
बझ्दैन फोन अत्यास लाग्दा बेचैनी बढ्दछ ।
एक्लीन्छु जब रगतको चाप एक्कासी घट्दछ ।।
पैताला फुटे हत्केला फुटे निदरी लाग्दैन ।
पाक्दछ खाना सेलाउछ त्यसै खानामन् लाग्दैन ।।
पतिका पाला भएन सुख्ख अहिले उस्तैछ ।
छोराका पाला एक्लिएँ झनै कलेजी दुख्दैछ ।।२०७३ बैशाख १३ (माता औशी- आमाको मुख हेर्ने दिन)