|
तस्बिर: अनलाइन खबर |
गाममा काम भएन
बिनान बेलुका चुल्हो बलेन
पल्लो घरको धनिरामले भन्यो
शहर जाम
उतै पाइन्छ काम
गाडिभाडाका लागि साहुकोमा धाएर
धनीरामकै पछि लाएर
शहर झरेँ
पाउनुपर्ने भन्दा निक्कै कम तलबमा
मजदुरी गरेँ
बिच्चैमा आयो यो महामारी
सरकारले भन्यो
जहाँ छौ त्यहिँ बस
काम दिने ठेकेदारले भन्यो
अब एक दिन पनि यहाँ नबस
संचय गरेको जम्मा २ किलो चामल थियो
त्यहि पनि ४ छाकमा सकियो
राहत बाँडेका समाचार सुन्दै
२ दिन त भोक भोकै बसियो
न त राहतले मलाइ सम्झियो
न त साहुले मैले पाउने बाँकि पैसा नै दियो
न त सरकारले घर फिर्तीका लागि कुनै ब्यबस्था गरिदियो
मर्नु भन्दा बहुलाउन निको नि हैन?
त्यसैले हिडेरै घर जान गुण्टा कसियो ।
सयौं किलोमिटर पैतालाले नाप्न शुरु गर्ने बेला सम्झेँ
हिजो क्रान्तिकारी कमरेडले
गाँउको ’भुमिगत’ सभामा मुठ्ठि कसेर
“हामी मजदुर, किसान र सर्वहाराको सत्ता ल्याउछौं“ भनेको
र ती भाषणहरुको बिच्च बिच्चमा
कलाकारहरुले गाएको गीत
“हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ“
तुना चुँडिएको चप्पलमा
सिमेण्टीको बोराको तुना हालेर
म पनि निस्केँ ति एक एक पाइला अगाडि बढाउँदै ।
मजदुर, किसानको सत्ताले देख्ला र
थाकेको ज्यानलाई उठबस गराउदै दुइ चार भाटा हान्ला भन्ने डरले
खेतका आलि र मसीना गल्ली छिचोल्दै
र यो सत्ताको आँखा छल्दै
पार गरें नागढुँगा भन्ने गौंडो ।
हातमा सुको पैसो थिएन
साथमा खानाको मेसो थिएन
पसीना र आत्मग्लानीको घोल पिएर
जसरी पनि ज्युदै ’घर’ पुग्ने अठोट लिएर
लखर लखर रित्तो सडकमा भौँतारीदै,
कहिले शान्त हुँदै, कहिले भोकले आत्तीदैँ
मेरो ’लङ मार्च’ अगाडि बढिरह्यो, बढिरह्यो ।
तिर्खा लाग्दा सम्झेँ
घरको छेवैमा पोहोर साल बनाएको कल धारो
भोक लाग्दा सम्झेँ
सानोमा आमाले कर गर्दै खुँवाउदा पनि फालेका भातका हरेक सीता
थकाइ लाग्दा सम्झे
साहुकोमा कमलरी र कमैया बसेका
र थाकेँ पनि भन्न नपाइ रातोदिन काम गरेका माता पिता ।
हिजो अन्यायमा पर्यौं भनेर युद्द लड्न आए तिनलाई सघायौँ
’सामन्तबाद’ ढाल्न
र मजदुर किसानको ’नयाँ ब्यबस्था’ ल्याउने भनियो तिनलाई पत्यायौं ।
खै सामन्तबाद त ढल्यो कि ढलेन ? थाह छैन ।
आज पनि मेरा बा आमा साहुको खेत अधियाँ कमाउछन ।
नयाँ ब्यबस्था आयो कि आएन त्यो पनि थाह छैन
भुमी पुत्र भनिएका हाम्रो गाँस बास कपासको आजसम्म ठेगान छैन ।
केही मनकारीले बाटामा दिएको खाना
अर्का थरी परोकारीले बाटोमा रखिदिएका
जडौरी जुत्ता घिसार्दै घर पुगेँ
घर पुगेर सुस्ताउँदै आफ्नो गुन्टा खोल्दै गर्दा
झल्याँस्स सम्झें
हिड्ने बेलामा सामान पोको पार्दै गर्दा
मलाइ सरकारले दिएको नागरिकता हाल्नै बिर्सेछु ।
फेरि सोचेँ
त्यो कागजको टुक्रो बोक्नु र नबोक्नुले फरक के पार्दो रहेछ र?
भोक लाग्दा त्यसले खान दिने रहेनछ
प्यास लाग्दा पानी दिने रहेनछ
हामी गरी खानेका लागि
नागरिकता हुनु र नहुनुमा केही अन्तर न हुने रहेछ ।
किन कि नागरिकता बोके पनि नबोके पनि
हामी त दोश्रो दर्जाका नागरिक रहेछौं ।
ए हैन हैन हामी त अनागरिक रहेछौं .
२०७० बैसाख (लकडाउन)