Tuesday, July 14, 2015

गजल: तिमि लाग्छौ खास किन ?


कटु बचन बोले पनि तिमि लाग्छ्यौ खास किन हातमा छुरा बोक्छ्यौ तर तिम्रै लाग्छ आस किन ?

धारिलो छ छुरा त्यो आँटिलो छ मन तिम्रो पार्छ्यौ मुटु चिरा तर तिम्रै लाग्छ विश्वास किन ?


थाह छ म ठोक्किएर टुक्रा टुक्रा हुन्छु एकदिन पत्थर तिम्रो दिलमा बस्न मन लाग्छ बास किन?


निर्मल थ्यौ, कोमल थ्यौ, दयाकी थ्यौ खानी तिमि कहाँबाट बन्यौ तिमि क्रुरताको दास किन ?


अरु खोज्छन प्रेम भित्र जीवन जिउने शुत्रहरु

मलाइ तिम्रै हातबाट बन्न मन छ लाश किन ?

Sunday, June 21, 2015

“फेल” र “पास”को खेलमा जारी राखिएको छ जीवन र सृजनशीलताको हत्याको शृंखला

गत चैतमा सम्पन्न एसएलसी परीक्षाको परीक्षाफ़ल शुक्रबार प्रकाशित भयो जसमा जम्मा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइ । नतिजाअनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भए । बाँकी ५२.५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए । भनौं उनीहरुलाई अयोग्य भइस् भनेर परीक्षा नियन्त्रण कार्यालयले ठप्पा लगाइदियो ।

प्रवेशिका परीक्षामा सामेल भएका पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीमध्ये के पास भए भनिएका चानचुन २ लाख मात्र ‘योग्य’ विद्यार्थी थिए ? यदि त्यसो हो भने बहुसंख्यकलाई अयोग्य वा असफल बनाउने हाम्रो शिक्षण प्रणाली अनि ठूलो मात्रामा राज्यले शिक्षामा गरेको लगानी के यो सफल छ ? कि कुरा अर्कै हो ?
सर्वप्रथमत: हामीले बारम्बार सुन्दै आएको एउटा वाक्यांशमाथि ध्यान केन्द्रित गरौं- “नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको छ ।” अहिले प्रवेशिका परीक्षाको नतिजा आउँदा सारा देश तरंगित छ, तर तर त्यसरी तरंगित पार्ने विद्यार्थीहरु नै कि शिक्षित वा अर्धशिक्षित बेरोजगार भएर निस्कन्छन् । आज उफ्रिनेहरु पनि विश्वविद्यालयको पढाइ सकेर सर्टिफिकेट लिइसकेपछि अब के गर्ने भनेर चौबाटोमा छटपटाइरहेका होनहार युवाबारे मौन हुन्छन् । उनीहरुबारे देश केही बोल्दैन, नत लेखकहरु केही लेख्छन् । विश्वविद्यालयले पनि कुन विषय किन पढाइरहेका छौ भन्ने कुरामा अनविज्ञ छ अनि विद्यार्थीहरु पनि किन पढ्दै छु भनेर कहिल्यै सोच्दैनन् ।

प्रवेशिका परीक्षामा ‘डीस्टिंगसन्’ ल्याएर ‘साइन्स’ पढ्नेलाई थाहा दिइँदैन ऊ किन साइन्स पढ्दैछ, मानविकी पढेर के हुन्छ । विश्वविद्यालय पढ्दा म आफैले पनि यस्ता प्रश्नबारे कहिल्यै बुझिनँ नत कमर्स पढेर मैले के गर्ने भनेर मेरो भाइलाई थाहा छ । हामी पढ्यौ, खुब पढ्यौ किनकि हामीलाई परीक्षा पास गर्नु थियो, ‘राम्रो अंक’ ल्याउनु थियो ।

परिवारको चाहना थियो राम्रो अंक ल्याओस्, त्यसकै खातिर पढ्यौं । तर किन पढ्यौं ? न परिवारले यसबारे सोच्यो नत मेरो विश्वविद्यालयले नत मैले नै सोचें । जब ‘डीग्री’ पास गरेर सर्टिफिकेट हातमा आयो अनि बल्ल सोच्न थालें : मैले के पढें र के सिकें ? आखिरीमा मैले जीवन उपयोगी सीप केही सिकेनछु, सिकेछु त केवल कुरा गर्न सिकेछु, परीक्षा पास गर्न मात्र सिकेछु तर आफ्नो जीवन निर्वाह गर्ने सीप त मसँग केही रहेनछ । अनि म बेरोजगार नभएर को हुन्छ ?

‘म’ पात्र प्रतिनिधि भए पनि यो हालत सबैको साझा हो । अनि त्यो चौबाटोमा उसले देख्ने एकमात्र विकल्प खाडी मुलुकबाहेक के हुन सक्छ ? मेरो विचारमा पैसा धेरै तिरेर युरोप, अमेरिका जाने कुरा अपवादजस्तै हो । अनि के हाम्रो जिन्दगीको ऊर्जाशील समयको २०/२२ वर्ष (विद्यालयको ११ वर्ष अनि कलेजको ११ वर्ष) को अनवरत दौड (कहिले पास हुने दौड, कहिले फर्स्ट हुने दौड)को अन्तिम विन्दु आखिर खाडी मुलुक हो ? किन हामी हाम्रा नानीहरुलाई खाडी पुग्ने बाटोमा दौडाइरहेका छौं ? किन राज्य सोच्दैन : एउटा युवालाई स्वदेशमै स्वरोजगार बनाउन हाम्रो शिक्षा प्रणालीले सकेको छैन ?

बुर्जुवा शिक्षा बहिष्कार गर्न लगाउने कम्युनिस्टहरुले पनि वैकल्पिक शिक्षा यस्तो हुन्छ भनेर कहिल्यै देखाउने चेष्टा गरेनन् । न तिनले आफू सत्तामा हुँदा यस्ता प्रश्नको जवाफ दिने प्रयत्न गरे नत हिजो भन्ने गरेको ‘बुर्जुवा शिक्षा’भित्रकै कमजोरीमाथि बहस चलाउन चाहे । तिनलाई सत्तामात्र सर्वेसर्वा भयो तर सत्तामा पुगेपछि शिक्षाका क्षेत्रमा ल्याउने आमूल परिवर्तनका कार्यक्रम तिनका लागि गौण बन्यो । तिनीहरु पनि बेरोजगार उत्पादन गर्ने कारखाना कलेज र क्याम्पसलाई आफ्ना अन्धभक्त ‘विद्यार्थी नेता’ उत्पादन गर्ने वर्कसपको रुपमा विकास गर्नमा तल्लीन रहे र सृजनशीलताको हत्या शृंखलाको मतियार बने ।

अघिल्ला वर्षका अनुभव हामीसँग छन्, एसएलसीको परीक्षाफ़ल प्रकाशित भएसँगै कैयौंले आत्महत्या गरेका छन् र यो प्रक्रिया यसपालि पनि दोहोरिएको छ । तर हामीले कहिल्यै के सोचेनौ भने जीवन सिकाउनुपर्ने शिक्षाले किन किशोरकिशोरीलाई मारिरहेको छ ? राज्यले कहिल्यै के सोच्ने आवश्यकता महसुस गरेन भने किन उसले शिक्षामा गरेको लगानीले यी किशोरकिशोरीलाई फाँसीको फन्दासम्म पुग्ने बाटो देखाइरहेछ ?
वास्तवमा कसैलाई फेल गराउने र कसैलाई पास गराउने अनि श्रेणी छुट्याएर मान्छेको वर्गीकरण गर्ने ‘ग्रेडिङ’ पद्दति नै खराब छ । हाम्रो शिक्षा प्रणालीले पास हुने, अझ राम्रो श्रेणीमा नाम आउने सर्वोत्कृष्ट मान्छे र फेल हुनेहरुलाई नालायक र अक्षम मान्छे हुन भन्न सिकाएको छ । के वर्षौंदेखि पढेको कुरा ३ घण्टामा लेख्न सक्नु मात्रै सफलता वा विफलता तथा उत्कृष्टता र निकृष्टताको कसी बन्न सक्छ ?

हाम्रो शिक्षा प्रणालीले ‘फेल’ भएका भनिएकाहरुभित्रको आत्मसम्मान र फरक क्षमतामाथि निर्मम प्रहार गरेको छ । तिनीहरुभित्रका ‘परीक्षामा लेख्न सक्ने’ बाहेकका लाखौं सम्भावनाको ढोका सधैंका लागि बन्द गरिदिएको छ । ‘पास’ र ‘फेल’को घृणित खेल खेलेर राज्यले ‘फेल’ भनिएकाहरुभित्र जीवनप्रति नकारात्मकताको बीजारोपण गरेको छ र जीवन बेकार छ भन्ने हदसम्मको धारणा जबर्जस्ती विकास गरिदिएको छ ।
एसएलसीमा फेल हुनु कामै नलाग्ने हुनु हो भनेर परिवार, समाज अनि राज्यले चर्को चर्को स्वरमा भनिरहेका छन् । हाम्रो शिक्षा प्रणाली, समाज र राज्यले फेल भएकालाई वास्तवमै मरुँ मरुँ जस्तो बनाइदिएका छन् । जीवन हैन‚ मृत्यु रोज्ने अनि सृजनशीलताको बाटो हैन‚ प्रतिस्पर्धाको हिंस्रक बाटो रोज्ने बनाइदिएका छन् ।

प्रत्येक वर्ष कलिला नानीहरुको हत्या भइरहेको छ तर हामी सबै मौन छौं । किनभने परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक विद्यार्थीको निधारमा लगाइदिने ‘पास’ र ‘फेल’ ठप्पालाई अनुमोदन गरेर हरेक विद्यार्थीभित्रको सृजनशीलताको हामी पनि हत्याको मतियार बनिरहेका छौ ।

adhikarismit@gmail.com
twitter- @rameshsmit

रमेश अधिकारी

अधिकारी सामाजिक अभियन्ता र अध्येता हुन् ।

२१ जुन २०१५ मा www.esamata.com प्रकाशित 

Tuesday, June 2, 2015

पीउन छोडीदिएँ

नशा भित्र कृत्रिम जीवन जिउन छोडिदिएँ
अबदेखि मैले पनि पिउन छोडिदिएँ 

खुसी हुदा दुखः पर्दा बहाना थे पिउने
फाटेको मन मदिराले सिउन छोडिदिएँ 

सोची हेरें दलदलमा फस्दै रैछु आफै
सुन्दर जीवन प्यालामा रित्याउन छोडिदिएँ 

संघर्ष पो जीवन रैछ पिई भाग्नु कयरता
बोत्तल सामू पिडा बिसाउन छोडिदिएँ

लाग्थ्यो साथि बढ्ने गर्छन संगै पिईदिदा
मित्र खोज्न मधुशाला धाउन छोडिदिएँ

Tuesday, August 19, 2014

ए हजुर न्याय कहाँ छ?




मेरो शरीर भोगियो ए हजुर न्याय कहाँ छ?
भोग गर्ने नै जोगियो ए हजुर न्याय कहाँ छ?

म माथि उहि आइलाग्यो जबरजस्ती ग-यो गयो
बिटुलिएँ म, उ चोखियो ए हजुर न्याय कहाँ छ?

आशा गरेँ समाज र राजनिति मेरो साथमा होला
उल्टै उसलाई बोकियो ए हजुर न्याय कहाँ छ?

परिवारको साथ माँगे आवाज ठुलो गरुँ भनी
मेरै मुख छोपियो ए हजुर न्याय कहाँ छ?

पीडित सधै पीडामा पीडकलाई उन्मुक्ति
दण्डाहिनता रोपियो ए हजुर न्याय कहाँ छ ?


Friday, March 7, 2014

तिमी र म (एउटा नर्सको जीवन)

तिमी
बिस्तारमा पल्टेर टिभिका च्यानल फेर्दै हुन्छौ 

म 
मेरो बिरामीको 'बेड शीट' फेर्दै गरेकी हुन्छु 

तिमि 
उता 'इएर फोन' लगाएर 'आइ पड' मा आफुलाई मन पर्ने गीत सुन्दै गर्दा 
म 
यता प्यारालाइसिस भएकी मेरी सानी बिरामीको धड्कन 'स्थेचेकोप' मा सुनिरहेकी हुन्छु
तिमि
महंगा रेस्टुरेन्टमा बसेर 'स्ट्र' फेर्दै 'कोल्ड ड्रिंक्स' पिउदै गर्दा 
'ब्रेन हेमोरेज' भएर १ महिना देखि बेडमा चालहिन भएर सुतेको 
'बुढ्यौली' लागेको मेरो बिरामीको स्लाइन को बोतल फेर्दै गरेकी हुन्छु 

तिमि
साथीहरुसंग  'मल्टी फ्लेक्स' सिनेमा घर मा 'ब्लक बस्टर' सिनेमा हेरिरहदा 
म 
आइ सी यु मा बिरामीको मुटुको चाल देखाइरहेको 'मोनिटर' हेरिरहेकी हुन्छु 

तिमी 
आफ्ना आफन्तको जन्मदिनको उत्सव मनाइरहेको बेला 
म 
मेरो बिरामि, जो २ हप्ता अगाडी मेरो लागि अन्जान थियो र 
२ हप्तामा मेरो परिवारको सदस्य जस्तै नजिक भयो, 
उसको  मृत्युको शोकमा डुबीरहेकी हुन्छु 

तिमी 
आफ्ना मनपरेकाहरुको हात समाएर पार्कतिर सयर गरिरहेको बेला 
म,
मेरा हरेक बिरामीहरुको नाडी छाम्दै 'पल्स' नापिरहेकी हुन्छु 

तिमी 
आफ्नो बार्षिक परिक्षाको 'रुटिन' बिर्सेर फोनमा मलाइ सोधिरहेको बेला 
म 
मेरो वार्डका ३५ वटा बेडमा रहेका प्रत्यक बिरामीको औषधिको तालिका याद गरिराखेकी हुन्छु 

तिमि 
हिन्दि सिरियलको कुनै पात्रको मृत्युमा दुख मनाउ गरिरहेको बेला 
म 
मेरो बिरामी तन्दुरुस्त भएर 'डिस्चार्ज' हुन लागेको खुशीमा मग्न हुन्छु 

तै पनि तिमि मलाइ भन्छौ कि म देखावटी व्यस्तता प्रदर्शन गरिरहेकी छु 
तिम्रो खुशीमा खुशी अनि दुखमा समाहित हुन् जान्दिन 
तिमीलाई समय दिन मान्दिन 

हो म तिम्रो खुशीमा खिशी अनि दुखमा दुखि हुन सक्दिन 
किनकि 
तिम्रो र मेरो खुशी अनि दुखि हुने बहाना अलग छन् 
तिम्रा र मेरा जीवनका चाहना अलग छन् 

मलाइ माफ गर तिमीलाई दिनका लागि म संग समय हुदैन 
तुक्ष कुरामा तिम्रो घुर्क्याइले मेरो मन पनि छुदैन 

तिमि व्यक्तिगत जीवन लाइ सर्वोपरी ठान्छौ र त्यसैमा रमाउछौ  
मैले सार्वजनिक जीवन र समग्र मनावीयतालाइ आफ्नो जीवन बनाउछु 

त्यसैले तिम्ले र मैले हिड्ने बाटो अलग छ 
 तिम्रो र मेरो जीवन दर्शनको पाटो अलग छ