Friday, April 17, 2026

मैले बिर्सेको छैन आमा !

मैले स्कुल पढ्ने बेला  

मेरो लागि कापी कलम जुटाउन

छुम्रुङ्गसम्म चामलका भारी खेपेको 

तिम्रा आङ्गमा कहिल्यै गतिला कपडा नहुँदा 

जोरी पारीले हेपेको 

मैले बिर्सेको छैन आमा ।


स्कुलको बार्षिक उत्सबको दिन

मैले पुरस्कारको भारी बोकेर घर आउँदा 

आमा भन्दै ती पुरस्कार तिमीलाई देखाउँदा

भित्ता तिर फर्केर आँसु खसालेको 

कपाल सुम्सुम्याउदै मलाइ काखमा बसालेको 

मैले बिर्सेको छैन आमा !


स्कुल सक्किएपछी 

आफ्नो बाटो पहिल्याउन म राजधानी पस्दा 

गाउँको एकलासको घरमा तिमी एक्लै बस्दा 

बाबु ! एक्लै हुँदा  डर लाग्छ सम्मपनि नभनी 

मलाई शहर पठाएको 

आफ्ना इच्छा र चाहना मनभित्रै अँठ्याएको 

मैले बिर्सेको छैन आमा ।


आफ्नो ज्यान सक्ने हुँदा हाम्रा लागि मात्रै दु:ख गर्छ्यौ 

सु:खका दिन फिर्नै लाग्दा  फेरी आफै बिरामी पर्छ्यौ 


आफ्नै लागि चाहिँ कहिले जिउछ्यौ आमा?

हाम्रै लागि कति समुन्द्र आँसु पिउछ्यौ आमा?

तिमी के चाहान्छ्यौ गहिरिएर बुझ्नु छ 

जिवनभर बगाएका पसिना र आँशुका टाटा पुछ्नु छ 

मैले बिर्सेको छैन आमा !

म कहिल्ल्यै बिर्सने छैन आमा !

No comments:

Post a Comment

Thank you very much for your valuable Comments !